घरै बसेर गरिने कामबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। यसको उदाहरण हुन् ४७ वर्षीया रेखा शर्मा चौधरी।
बुढानीलकण्ठ–१, नारायणथान मन्दिरबाट केही मिटर परको घरमा 'रिक फुड उद्योग' को बोर्ड देख्न सकिन्छ। त्यहाँ ठूला र महँगा मेसिन छैनन्, अचार बनाउने सरसामानले भरिएको छ।
रेखाले अचार बनाउन छुट्टै ठाउँ भाडा लिएकी होइनन्, यो उनकै घर हो। उनी अकबरे, अकबरे-तामा, मिक्स (गाजर, मुला, इस्कुस, खुर्सानी, लसुन, अदुवा), मुला, मुला-अकबरे, गुन्द्रुक-भटमास, लप्सी, टिमुर, अमला, आँप, करेला लगायत विभिन्न स्वादका अचार बनाउँछिन्। अनि तोरी, रायोको गुन्द्रुक, मस्यौराका साथै अमला र लप्सीको क्यान्डी पनि यहीँ बन्छ।
आफ्नै घरमा थालेको यो काममा उनले पाँच जना सहयोगी कर्मचारी राखेकी छन्।
'पहिले १५ जना थिए। लकडाउनमा घर गएका, आएकै छैनन्,' उनले भनिन्, 'अब थप्छु।'
अरू व्यवसाय भए त कोरोनाका कारण चलाउन हम्मे पर्थ्यो होला। तर दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने भएकाले असर नपरेको रेखा बताउँछिन्।
उनले बनाएका अचार बेच्न बजार-बजार धाउनु पर्दैन। स्वदेशी बजारमा राम्रो व्यापार छँदैछ, विदेश पनि पुग्छ। लकडाउनमा समेत निर्यात रोकिएन। रेखाले एजेन्टमार्फत अस्ट्रेलिया, जापान, अमेरिका, हङकङ लगायत देशमा अचार र मस्यौरा पठाउँदै आएकी छन्।
'धेरैजसो चिनेजानेका ग्राहक घरमै किन्न आउँछन्। सुपरमार्केटहरू, भाटभटेनी लगायत ठूला स्टोरमा पनि पुग्छ,' उनले भनिन्।
रेखाका अनुसार यही उद्योगबाट वार्षिक ५० देखि ६० लाख रूपैयाँको कारोबार हुन्छ। त्यसको तीस प्रतिशत उनलाई नाफा बस्छ। १६ वर्षदेखि उनले यही कमाइबाट घर खर्च चलाएकी छन्, छोराछोरी पढाएकी छन्।
२०३० सालमा दाङमा जन्मेकी रेखा तीन दाजुभाइ र तीन दिदीबहिनी भएको ठूलो परिवारकी जेठी सन्तान हुन्। परिवारको आय र खाने स्रोत खेतीपाती। एसएलसी दिएपछि आफैंले मनपराएका केटासँग बिहे गरेर उनी बर्दिया पुगिन्। श्रीमान दाल-चामल किनबेचको काम गर्थे।
त्यो बेला उनको उमेर १८ वर्ष मात्र थियो।
'अन्तर्जातीय बिहे गरेकाले सुरूमा घर र माइती दुवैतिर चिसो सहन पर्यो,' उनी सुनाउँछिन्, 'जसोतसो १२ वर्ष बिते, सम्बन्धको चिसो न्यानो हुँदै गयो।'
तीन छोरी भइसकेपछि एकदिन रेखाको जीवन काठमाडौंतिर मोडियो।
'गाउँमा नजिकै राम्रो स्कुल थिएन। मेरा दाजुभाइ काठमाडौं बस्ने। मैले छोरीहरूलाई काठमाडौंमै पढाउने विचार गरेँ,' रेखाले सुनाइन्।
२०५९ साल फागुनतिर उनी तीन छोरी लिएर पहिलोपटक काठमाडौं आइन्। भाइलाई आफ्ना दुःख बिसाइन्। भाइले यहीँ केही काम गर्ने सल्लाह दिए। त्यही बेला उनको गाउँकै चिनजानका एक जनाले बुढानिलकण्ठमा रहेको मिठाइ पसल बेच्न लागेका रहेछन्। रेखाका भाइले त्यही पसल किनेर चलाउन सुझाए। उनीसँग लगानी थिएन, आँट झिकिन्।
एक-दुई महिनापछि तिर्ने भाखामा मिठाइ पसलेलाई पाँच हजार बैना दिइन्, 'मसँग त पाँच पैसा पनि थिएन, भाइले पाँच हजार दिएको थियो।'
पसल बैना गरेर उनी बर्दिया फर्किन्। श्रीमानलाई सबै कुरा सुनाइन्। श्रीमतीलाई साथ दिनु त कता हो कता, उनको पूरा कुरै नसुनी श्रीमान कराउन थालेछन्।
'काठमाडौंमा कसरी काम गर्न सकिन्छ? कहीँ जान पर्दैन, यहीँ बस्दा हुन्छ' श्रीमानका भनाइ सुनाउँछिन् रेखा।
सानैदेखि हक्की रेखा यो सुनेर हच्किनन्। बरू जसरी भए पनि एक्लै गरिखान्छु भन्ने आँट आयो। केटाकेटी उमेरदेखि दुःख भोगेकी रेखालाई छुट्टै संसार बसाउन मन थियो। उनको एक मात्रै उद्देश्य थियो- छोराछोरीलाई आफूलाई जस्तो दुःख नहोस्।
चैत महिना थियो, उनी घर नफर्किने गरी काठमाडौं आइन्। एउटा कोठा भाडा लिइन् र मिठाइ पसल चलाउन थालिन्, 'पकाउन कर्मचारीहरू थिए। आर्थिक पाटो म हेर्थेँ।'
लगत्तै वैशाखमा नारायणथान मन्दिरमा मेला लाग्ने रहेछ। मिठाइ पसल एकदमै राम्रो चल्यो। उनले त्यही महिना पसलको सबै ऋण तिरिन्। व्यापारमा जम्दै गएकी रेखाले काठमाडौंमा बस्ने आड पाइसकेकी थिइन्। उतिबेला फोनको चलन धेरै नभएकाले घरमा खासै कुरा हुन्थेन। दुई वर्षपछि बल्ल उनका श्रीमान काठमाडौं आए।
श्रीमान सँगै आए भनेर रेखा निकै खुसी भइन्। तर श्रीमानले उल्टै घरै जाऊँ भनेर कर गर्न थाले। रेखाको सपनाले बल्लतल्ल पखेटा हाल्दै थियो। उनले नजाने अड्डी कसिन्।
त्यो बेलासम्म रेखाले मिठाइ पसलबाटै घर खर्च चलाएर, छोराछोरी पढाएर केही बचत गर्न थालिसकेकी थिइन्। दाजुभाइ र श्रीमानसँग सहयोग लिएर पछि बुढानिलकण्ठमै एकतले घर बनाइन्। यसबीच उनका एक छोरा पनि जन्मे।
सबै काम राम्रो भइरहँदा उनको ज्यानलाई भने सजिलो भएन। मिठाइ पकाउने कर्मचारी सधैं काममा आउँथेनन्। त्यस्तो बेला आफैं पकाउने, बेच्ने, भाँडा माझ्ने गर्थिन्। सानो बच्चा ढाडमा बोकेर काम गर्दा उनको शरीर गल्दै गयो।
'राति १२/१ बजेसम्म काम हुन्थ्यो। कहिले सुत्न नपाइ उज्यालो भइसक्थ्यो,' उनले सुनाइन्।
कामको चापले विस्तारै उनलाई मधुमेह, प्रेसर लगायत समस्या देखिन थाल्यो। ज्यान रहे न धन! बस्न बास छँदैछ, गाँस अरू कामबाट जुटाउँछु भन्ने सोचेर उनले १३ वर्षपछि मिठाइ पसल बेचिदिइन्। अनि त्यहीँ छेउछाउ गिफ्ट पसल राखिन्। दुई वर्षपछि उनी किसान संघले दिएको नास्पातिको जाम बनाउने तालिममा सहभागी भइन्।
घरै बसेर सहजै जाम बनाउन सकिने भएपछि रेखाले यही काम गर्ने सोचिन्। उद्योग दर्ता गर्न कहाँ जाने, थाहा थिएन। उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुगिन्। विभागका कर्मचारीले उनलाई घरेलुमा गर्नुपर्ने भने।
'बरू यहाँ अचार बनाउने तालिम हुन लागेको छ। लिनुभयो भने राम्रै हुन्छ,' ती कर्मचारीले रेखालाई सुझाए।
'उद्योग दर्ता गर्न घरेलु जानुपर्ने रहेछ, भाग्यले डोर्याएर होला खाद्य विभाग पुगेछु,' उनले खुसी हुँदै भनिन्।
२०७४, चैतमा उनले खाद्य विभागमा अचार बनाउने दस दिने तालिम लिइन्। क्यान्डी, बिस्कुट, पनिर, टमाटरको सस, जुस बनाउन पनि सिकिन्। छोटो तालिमले व्यवसाय चलाउन सकिँदैन भनेर बागबजारमा थप ४५ दिन अचारको विशेष कोर्ष गरिन्। त्यसपछि उनको उद्योग दर्ता भयो- रिक फुड उद्योग।
उनले लप्सीको क्यान्डी, नास्पातिको जाम, मिक्स अचार, मस्यौरा र गुन्द्रुक बनाइन्। बनाउन जति सजिलो बेच्न भए पो! आफ्नै साथीहरूलाई चाख्न दिइन्। उनको मेहनत देखेर कसैले किने, कसैले बजार घुमेर बेच्न सुझाए। रेखाले भाटभटेनी लगायत अरू सुपरमार्केटमा लगेर दिइन्। बिक्रीका आधारमा पैसा दिने भएकाले उनीहरूले लिए।
'थोरै बिक्थ्यो, धेरैजसो फिर्ता आउँथ्यो,' उनी सुरूआती अनुभव सुनाउँछिन्, 'कतिपटक बिग्रेर फालेँ पनि।'
अचारको बाहिर लेबलमा उनले आफ्नो फोन नम्बर राखेकी थिइन्। घरायसी स्वाद पाइने अचार किन्न केहीले फोन गर्न थाले। उनले पनि स-सानादेखि ठूल्ठूला पसलसम्म आफ्नो उत्पादनको प्रचार गर्न थालिन्। उनलाई विभिन्न स्वादका अचारको माग आउन थाल्यो। मागअनुसार सबै बनाइन्। विस्तारै अचार बेच्दै लगानी बढाउँदै लगिन्।
उनी मह पनि बेच्छिन्। डेढ वर्षअघि दस लाख रूपैयाँ बैंकबाट सहुलियत कर्जामा ऋण लिएर मौरीपालन सुरू गरेकी थिइन्। घरनजिकै भाडामा लिएको जग्गामा ८० घार मौरी छन्। यसबाहेक रेखाले चुरा, माला बनाउने तालिम लिएकी छन्। ती सामान पनि बनाएर बेच्न भ्याउँछिन्। अनि एक जनाको एक हजारदेखि १५ सयसम्म शुल्क लिएर आफूले जानेको सीपको तालिम पनि दिन्छिन्।
'पैसा तिर्न नसक्नेलाई शुल्क लिन्नँ। काठमाडौं बाहिरका थुप्रै जिल्लामा दिइसकेँ,' उनले भनिन्, 'आँप बिकेन, अचार बनाउने तालिम दिन पर्यो भनेर लकडाउनमा पनि केही जिल्लाका किसानलाई जुमबाटै सिकाएँ।'
उनको अधिकांश समय अचार र मौरीमा बित्छ। आफूले तालिम दिएका महिलालाई गुन्द्रुक, मस्यौरा बनाउन लगाएकी छन्। उनीहरूबाटै किनेर बेच्छिन्। भन्छिन्, 'यसो गर्दा उनीहरूले पनि दुई-चार पैसा कमाएका छन्, मलाई पनि सहज भएको छ।'
आगामी दिनमा मौरीपालन विस्तार गर्ने योजना छ उनको। यसका लागि पाँच जनाको समूह पनि बनाइसकिन्।
रेखा केही समयअघि मात्र चेम्बर अफ कमर्सबाट उत्कृष्ट उद्यमी महिला सम्मानित भएकी छन्। यतिका वर्षको मेहनतले आज उनलाई सफल उद्यमी बनाएको छ। दुई छोरीको बिहे गर्दिसकेकी रेखाका एक छोरी र छोरा पढ्दै छन्। सन्तानले उनलाई 'अब काम गर्नुपर्दैन' भन्छन्। काम गरेर खाने बानी परेको उनको मन कहाँ मानोस्!
'काम नगरी बसेँ भने अझै दुई जनालाई कसले पढाउँछ, घर खर्च कसले हेर्छ,' उनी उल्टै सम्झाउँछिन्, 'अझै तिमीहरू बच्चै छौ, मुखले भनेजस्तो व्यवहारमा सजिलो हुन्न।'
पहिलेको घर भाडा दिएर नजिकै अर्को घर किनेर बसेकी रेखा थप्छिन्, 'यो घरमा मेरो मात्रै लगानी छ। आफूमा एउटा मात्रै सीप हुने हो भने कसैको भर पर्नु पर्दैन।'