कोभिड महामारीले पर्यटन क्षेत्रका श्रमिकको काम चौपट भयो। धेरै पर्यटन मजदुरले अरू पेसा अँगाले। गाउँमा थोरै भर भएकाहरू उतै फर्किए। सोलुखुम्बु नेचाका दुर्गाप्रसाद कट्टेल यिनैमध्ये एक हुन्।
ट्रेकिङ गाइड काम गर्दै आएका दुर्गा रोजिरोटी खोसिएपछि गाउँ फर्केका हुन्। उनीसँग तत्काल अरू कामको विकल्प पनि भएन।
'अरू काम गर्न सीपसँगै अनुभव पनि चाहियो। त्यसमाथि कोरोनामा के काम पाउनु! अनि गाउँ फर्किएँ। घरखेतको काममा परिवारलाई सघाएँ,' २९ वर्षीय कट्टेलले भने।
विगत एक दशकदेखि निरन्तर काम गरिरहेका उनी डेढ वर्षयता बेरोजगार छन्। खेतबारी भएकाले पेट भोको छैन, तर मन हुँडलिन्छ बेलाबेला।
'काम नहुँदा निकै अप्ठ्यारो पर्यो। पहिले बचाएको पैसाले जेनतेन खर्च टरिरहेको छ,' दुर्गाले भने।
परिवारमा आमाबुबा, श्रीमती, दुई बहिनी र छोरा छन्। बुबा शिक्षक भएकाले त्यताबाट परिवार खर्च धान्न केही सहज भएको छ। तर लामो समय काम ठप्प हुँदा अप्ठ्यारोमा परेका पर्यटन मजदुरलाई कतैबाट उचित राहत व्यवस्था नभएकामा उनले दुःख व्यक्त गरे।
'हाम्रा लागि ऋणको कुरा त आयो तर चर्को ब्याज तिर्नुपर्ने। क्रेडिट कार्डको व्यवस्था पनि भयो। तर दुई-तीन सयको सामान किन्न पनि सुपरमार्केट धाउनुपर्ने हुँदा झन् अप्ठ्यारो थपियो,' उनले गुनासो पोखे।
दुर्गा नेपालका सबैजसो रूटमा पर्यटक घुमाउँथे। सिजनमा दैनिक दुईदेखि तीन हजारसम्म कमाउँथे। पर्यटक खुसी पार्न सके 'टिप्स' राम्रो पाइन्थ्यो।
'कसैले धेरै दिन्छन्, कसैले थोरै। जति मेहनत गरेर खुसी बनाउन सक्यो, त्यति टिप्स पाइन्छ,' उनले सुनाए।
दशक अवधिमा हजारौं पर्यटक घुमाइसकेका दुर्गाले सबभन्दा बढी एक लाख ७० हजार रूपैयाँ टिप्स पाएका रहेछन्। उनी स्विट्जरल्यान्डका एक पर्यटक लिएर घोरेपानी-पुनहिलको पाँच दिने यात्रामा गएका थिए। ती पर्यटक जंगलमा चराचुरूंगी हेर्न मन पराउँथे। दुर्गाले थप दुई दिन खर्चिएर घुमाएकाले टिप्स पाएको उनी बताउँछन्।
पर्यटक घुमाउने काम रमाइलोसँगै दुःख पनि छ। हिमाल, पहाड, खोलानाला छिचोल्दा अनेक दुःख-कष्ट झेल्नुपर्छ। उनी भन्छन्, 'जुनसुकै काम गर्न गाह्रो छ। ट्रेकिङ गाइड थप जिम्मेवार हुनुपर्छ। भूगोल, रहनसहन र परिवेशसँग रमाउन आएका पाहुनाको जिम्मेवारी लिएर हिँड्नुपर्छ। उनीहरूको चित्त बुझाउनुपर्छ।'
कतै जाँदा पर्यटकले गल्ती गरे गाइडले गाली खानुपर्छ। यात्रामा आइपरेका समस्या सामना गर्ने आँट बोकेर हिँड्नुपर्छ। हिमाली यात्रामा कति पर्यटकलाई माथिबाट बोकेर फेदमा झार्नुपर्छ।
दुर्गासँग यस्ता अनुभव थुप्रै छन्।
एकपटक जर्मनीका एकै परिवारका चार पर्यटक थिए, एक जना वृद्धा थिइन्। मुक्तिनाथ यात्रामा ती वृद्धालाई लेक लाग्यो। भरिया नभएकाले अक्सिजन थिएन। विकराल ठाउँमा औषधि-उपचार कता हो कता!
'ठूलो समूह हुँदा अक्सिजन व्यवस्था हुन्थ्यो। सानो समूहमा गाह्रो अवस्था आफैं सामना गर्ने भन्ने कम्पनीको नियम थियो,' उनले भने।
राति १२ बजे दुर्गाले ती वृद्धालाई पिँठ्युमा बोकेर फेदी झारे। फेदी पुग्दा बिहान पाँच बजेको थियो। पर्यटक त्यसरी गम्भीर बिरामी हुँदा कतिपय अवस्थामा हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइन्छ। तर राति हेलिकप्टर नजाने भएकाले आफैं बोक्नुपरेको उनी बताउँछन्।
बिहान ती वृद्धालाई हेलिकप्टरमा काठमाडौं पठाएर उनी फेरि माथि फर्किए। बाँकी तीन जनालाई गन्तव्यमा पुर्याए।
'त्यो दिन दिउँसो तीन बजेसम्म मुक्तिनाथ पुग्ने योजना थियो। सकिएन। फेरि एक जना बिरामी भयो भनेर अरू नजाने भन्ने हुँदैन। मैले भोलिपल्ट उनीहरूलाई पुर्याएँ,' दुर्गाले सम्झिए।
प्रतिकूल मौसमका कारण कहिलेकाहीँ हिँड्दाहिँड्दै आफैं बिरामी परिन्छ।
'यो पेसा सोचेजस्तो सजिलो छैन। सुरूमै धेरै संघर्ष गर्नुपर्छ। भाषादेखि भूगोलसम्म थाहा पाउनुपर्छ। उचाइमा आउने अप्ठ्याराबारे जान्नुपर्छ,' उनले भने।
दुर्गाले नै आफू ट्रेकिङ गाइड होउँला भनेर सोचेका थिएनन्। गाउँको स्कुलबाट एसएलसी दिएर थप पढ्न काठमाडौं आएका थिए। गुजारा चलाउन होटलमा वेटर काम गरे। पढाइ पनि अघि बढाए। केही समयपछि उनलाई आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच आयो। बौद्ध, पिपलबोटमा तरकारी व्यवसाय थाल्ने भए।
उनी सम्झिन्छन्, 'बोल्नेको पीठो बिक्छ भन्थे, धेरै बोल्यो भने फसिँदो रहेछ भन्ने अनुभव त्यही बेला पाएँ।'
उनको योजना त्यहाँ कालिमाटीभन्दा सस्तोमा तरकारी बेच्ने थियो। दुर्गाका अनुसार त्यहाँ एउटा समिति पनि गठन भयो। बौद्ध क्षेत्रमा तरकारी बेच्ने ठेलागाडालाई उनीहरूले कालीमाटीभन्दा सस्तोमा तरकारी दिने सुनाए। ७४ वटा ठेलागाडा दैनिक तरकारी लिन तीन बजे सबेरै कालीमाटी पुग्थे। सस्तोमा नजिकै पाइने भएपछि उनीहरू तयार भए।
'आफूसँग टन्न पैसा भएर होइन, घर र चिनजानका साथीबाट पैसा जोहो गरेर किसानबाट सात लाखको तरकारी लिएँ। त्यही दिन महानगरले ठेलागाडा समातिदियो, दुई दिनसम्म दिएन,' उनले एघार वर्षअघिको आफ्नो दुःख सम्झिए, 'सबै तरकारी कुहियो। मेरो सात लाख डुब्यो।'
उनलाई ऋण कसरी तिर्ने भन्ने चिन्ताले छटपटाहट हुन थाल्यो। उनले चिनेका एक जना 'शेर्पा दाइ' थिए। उनैले पर्यटकको भारी बोक्दा राम्रो कमाइ हुने आइडिया दिए। कमाइको आशमा दुर्गा भारी बोक्न पहिलोपटक लुक्ला पुगे।
ऋण चाँडै तिर्न सकिएला भन्ने लागेको थियो उनलाई। तर सुरूसुरूमा भारी पाउनै मुश्किल भयो।
'नाम्लो बोकेर बाटो कुरेर बस्नुपर्थ्यो। काठमाडौंबाट गएका गाइडलाई भारीका लागि हारगुहार गर्दा पनि पाइन्थेन,' उनले भने, 'नयाँ मान्छेलाई गाह्रो थियो।'
एकपटक उनले १८/१९ दिनसम्म काम पाएका थिएनन्। अनि कुक हुँ भनेर पदयात्रा टोलीसँग आधार शिविर पुगे। त्यहाँ पुगेपछि गाइडले खाना बनाउन अह्राए। बनाउन त आउँथेन! त्यसपछि उनले वास्तविकता बताए। गाइडलाई खाना बनाउन भने सघाए।
अनि उनले भारी बोक्ने काम पाए। त्यही बेला बाटामा एक पर्यटक बिरामी परे। भारी थपियो। दुर्गालाई पैसा चाहिएको थियो, उनी बोक्न तयार भए।
'बाटोमा मेरो डोको हिउँमा खसेर निकै तल पुग्यो। त्यो भारी नबटुले पैसा पाइन्थेन। अप्ठ्यारोमा परेर क्याम्पमा फर्किँदा निकै ढिलो थियो। खुब गाली पनि खाइयो,' उनले सम्झिए।
उनले दुई वर्ष निरन्तर पर्यटकका भारी बोके। सन् २०१३ देखि गाइड काम गर्न थालेका हुन्।
'भाषा पहिले पनि बुझिन्थ्यो, फर्काउन मात्रै आउँथेन। हिँड्दाहिँड्दै जानियो। पछि गाइड तालिम लिएँ र सन् २०१५ मा लाइसेन्स पनि निकालेँ,' उनी सुनाउँछन्।
विस्तारै उनलाई यो पेसामा बानी पर्दै गयो। अनि यसमै रत्तिए।
अहिले काम बन्द भए पनि उनलाई झट्ट अर्को पेसामा फड्किहाल्ने मन छैन। सहज भएपछि यसमै लाग्ने योजना बुनेर बसेका छन्।
'खासमा यो काममा दुःख छ तर आम्दानी पनि छ,' उनी भन्छन्, 'पैसा हुने, घुम्न पनि पाइने। फजुल खर्च गर्यो भने पैसा बचाउन सकिँदैन, नभए राम्रै बच्छ।'
अवस्था सामान्य भएपछि यो क्षेत्रमा काम गर्नेहरूलाई राम्रो अवसर भएको उनी बताउँछन्। तर अरूको पनि जिम्मेवारी बोकेर गर्नुपर्ने पेसा भएकाले सिकेर, राम्रोसँग बुझेर मात्र लाग्नुपर्ने उनको सुझाव छ।