कोरोना महामारीले होटल व्यवसाय थिलथिलो भएको छ। तर केही उद्यमी-व्यवसायी नयाँ होटल खोल्न तम्सिएका छन्।
यस्तै होटल व्यवसायी हुन् विनायक शाह।
उनी अहिले कृषि पर्यटनमा आधारित होटल खोल्न लागि परेका छन्।
'अहिलेका होटलले मात्रै नहुने रहेछ। नयाँ तरिकाले खोल्नुपर्छ भन्ने सोचेर कृषि पर्यटनमा आधारित होटल खोल्न लागेको हुँ,' होटल व्यवसायी तथा होटल संघ (हान) का वरिष्ठ उपाध्यक्ष समेत रहेका शाहले सेतोपाटीसँग भने।
१६ वर्षसम्म वाणिज्य मन्त्रालयमा काम गरेका शाह जागिर छाडेर २०५० सालबाट होटल क्षेत्रमा लागेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर उनको एकल लगानीमा ६२ कोठाको 'एयरपोर्ट' होटल सञ्चालित छ। अन्य मुख्य सहरमा भने साझेदारीमा होटलमा लगानी गरेका छन्।
कोरोना महामारीका कारण अहिले एयरपोर्ट होटल क्वारेन्टाइन होटलका रूपमा चलिरहेको छ। तर दैनिक दुइटा कोठा जान पनि मुश्किल परेको शाह बताउँछन्।
'मान्छे छैनन्। नचलाए सरसामान बिग्रिन्छन्,' उनले भने, 'थोरै कर्मचारी राखेर चलाइरहेका छौं।'
जब कोरोनाले संसारभर असर गर्यो, तब विदेशीलाई लक्षित होटल मात्र हुँदा घाटामा जाने रहेछ भन्ने शाहलाई अनुभव भयो। अनि यही महामारीले नयाँ प्रकृतिको होटल खोल्न जुराइदिएको उनी बताउँछन्।
'अहिले भएका होटल चलेका छैनन्। काम पनि छैन। यो फुर्सदलाई कसरी सदुपयोग गर्ने भनेर यतातिर लागेको हुँ,' उनले भने।
बर्खापछि होटलको काम सुरू गर्ने पनि उनले बताए।
कृषि पर्यटनमा आधारित होटलमा आवास सुविधासहित तरकारी, फलफूल र बालीनाली पनि हुनेछ। पर्यटकहरूले यहीँ उब्जेका कृषिजन्य वस्तु उपभोग गर्न पाउनेछन्।
शाहको योजना अनुसार यहाँ कटेजहरू बन्नेछन्। यसको वरिपरि फूलहरू रोपिनेछ भने पकेट–पकेट बनाएर तरकारी खेती र कुनाकाप्चातिर फलफूलका बोट रोपिनेछ। त्यस्तै गाई तथा कखुरा पालन गर्ने पनि तयारी छ।
हाल काम सुरू नभइसकेकाले उनले जग्गामा अचार खाने स्थानीय जातको तिल लगाएका छन्। शाहका अनुसार उक्त ठाउँमा बादर धेरै आउँछ। अन्य बालिनाली जोगाउन गाह्रो हुने तर तिल बाँदरले नखाने थाहा पाएपछि उनले यसको खेती रोजेका हुन्।
'तिललाई बाँदरले केही गर्दैन रे। जनस्वास्थ्यमा काम गर्ने साथीहरूलाई सोध्दा पनि बजारमा तिलको तेलको माग धेरै छ भने। अनि यही बाली रोजेँ,' उनले भने।
शाहले होटल सञ्चालनका लागि बिएम एग्रो टुरिजम कम्पनी पनि दर्ता गरेका छन्। होटलको नाम पनि बिएम एग्रो टुरिजम रहने छ।
तिहारपछि तुरून्तै कटेज बनाउने, तरकारी-फलफूल लगाउने काम सुरू हुने उनले बताए। अहिले प्रिफ्याब हाउसको डिजाइन बनाइरहेका छन्। त्यसलाई लगेर जोड्न एक महिना पनि नलाग्ने भन्दै उनले आगामी वैशाखमा होटल सञ्चालन हुने बताए।
यो होटलका लक्षित ग्राहक विदेशीभन्दा पनि स्वदेशी हुन्। एकाध दिन सहरी घन्चमन्चबाट टाढा प्रकृतिसँग रमाउन चाहने परिवारका लागि यो उपयुक्त गन्तव्य हुन सक्ने उनी बताउँछन्।
'यता पारिवारिक होटल-रेस्टुरेन्ट नै छैनन्। सबै उमेर समूहलाई लक्षित गरी बनाइएका हुन्छन्। उनीहरूको होहल्लाले परिवार शान्त रूपमा रमाउनै सकेका हुँदैनन्,' उनले भने।
उनले अगाडि थपे, 'मुख्य प्राथमिकता परिवारलाई हो। हेर्दै जाऊँ, कत्तिको सफल भइन्छ। नभए त व्यवसाय हो, चलाउनै पर्यो। साथीभाइ आउनेलाई पनि दिन्छौं। तर हामी फार्मको नियम बनाउँछौं। मदिरापान गरेर होहल्ला गर्दा स्थानीयलाई समस्या पर्छ।'
काभ्रेमा शाहले छनौट गरेको ठाउँमा कृषि पर्यटन होटल खोल्दा स्थानीयलाई समेत फाइदा हुने देखेका छन्। उनका होटलमा बढी ग्राहक आए त्यहाँका स्थानीयले नै होमस्टे चलाउन सक्ने उनी बताउँछन्।
'म पाँच परिवारका लागि पाँच वटा कटेज बनाउँछु। त्यो भन्दाबढी ग्राहक आए भने स्थानीयका होमस्टेमा बस्न सक्छन्,' उनले भने, 'फार्ममा उपलब्ध नभएका तरकारी पनि हामी स्थानीयसँग नै किन्छौं।'
होटल बन्न लागेको ठाउँ दोलालघाट र सुकुटेको बीचमा भएकाले ग्राहक पाउन मुश्किल नहुने उनको विश्वास छ। भने, 'सुकुटेमा ठाउँ नै पाइँदैन। त्यहाँको प्रचारले गर्दा पनि ग्राहक पाउन गाह्रो हुँदैन। व्यवसाय राम्रो चल्दै गयो भने सय रोपनीमा यसलाई विस्तार गर्छौं।'
अहिले यो होटलका लागि जग्गा समेत गरेर करिब पाँच करोड लगानी अनुमान गरेका छन् उनले।
यहाँ पहिलो चरणमा केही मिटरको दुरीमा पाँच वटा कटेज बन्नेछन्। हरेक कटेजमा एउटा भान्सा, दुइटा बेड रूम र एउटा लिभिङ रूम हुनेछ। आफैं पकाएर खान चाहने ग्राहकका लागि भान्सा व्यवस्था गरिएको शाहले जानकारी दिए। नभए होटलको आफ्नै रेस्टुरेन्ट पनि हुनेछ।
शाहले होटल खोलेर नाफा कमाउने भन्दा पनि स्थानीय खाना प्रवर्द्धन गर्न खोजिएको बताए। यसबाहेक ग्राहकका लागि इन्द्रावतीमा र्याफ्टिङ, हाइकिङ, स्थानीय नाचगान लगायत कार्यक्रम राखिनेछन्।
कोरोना महामारी तुरून्तै नहट्ने र मान्छेहरू घुम्न जाने भएकाले होटल चल्छ भन्नेमा आफू ढुक्क रहेको उनले बताए।
'अहिले नै मान्छे निसास्सिएका छन्। शान्त प्रकृतिसँग रमाउन पाइने ठाउँ भयो भने मान्छे जान्छन्,' उनले भने।