भैरहवाका रोमेश थापा मगर र दमकका कृष्णबहादुर मगर १५ वर्षअघि ब्रुनाईबाट फर्केका थिए। विदेशी भूमिमा सुख भएन, महिनौं दुःख पाए। अनि निन्याउरो अनुहार र भारी मन बोकेर फर्केका यी दुईको पहिलो भेट ब्रुनाईमै भएको थियो।
पश्चिमका रोमेश र पूर्वका कृष्ण पढ्दै कमाइ पनि गर्न पाइने सोचेर ब्रुनाई हानिएका थिए। मेसो मिले त्यहीँबाट अमेरिका वा अस्ट्रेलिया छिर्ने सपनासमेत थियो। तर दुवैको सपनालाई परिस्थितिले पछारिदियो।
उच्चशिक्षाका लागि ब्रुनाई पठाउने कन्सल्टेन्सी कम्पनीले आशा देखाएजस्तो वातावरण थिएन। उनीहरूको आठ महिना खेर गयो।
ब्रुनाईको असफल यात्रापछि उनीहरू नेपाल फर्के। तर विदेश जाने हुटहुटी मरेन। दुवैले एकअर्कालाई कोरिया जान सहयोग गरे। पहिला कृष्ण र अलिपछि रोमेश कोरिया पुगे।
कोरिया बसाइले भने उनीहरूको जीवन बदलियो। उनीहरूले सम्भावनाको नयाँ बाटो भेटे- कोरियाली कस्मेटिक उत्पादनहरू।
कोरियन सिनेमा र संगीतले विश्वभर प्रशंसक पाएको छ। संसारभरका धेरै सेलिब्रेटी अचेल कोरियन स्किन केयर (अनुहार/छालामा लगाउने उत्पादनहरू) प्रति आकर्षित हुँदै छन्। पछिल्लो समय नेपालमा पनि कोरियन खाना र कस्मेटिकप्रतिको आकर्षण दिनकै बढ्दो छ।
यही सम्भावना पहिल्याउँदै कृष्ण र रोमेशले कोरियाली कस्मेटिक सामान नेपाली बजारमा बिक्री गर्ने योजन बनाए।
अनि पाँच वर्षअघि सन् २०१६ मा काठमाडौंको दरबारमार्गमा खोले 'दासोम'।
अन्नपूर्ण होटलको बगलमै रहेको दासोमको पसल पुग्नुभयो भने तपाईंको आँखा सुरूमा यहाँको पारदर्शी सिसामा देखिने आकर्षक कोरियाली मोडलहरूतिर तानिन्छ।
हामी यहाँ पुग्दा साहुजी रोमेश आफ्ना ग्राहकसँग कुराकानीमा व्यस्त थिए। यहाँ आउने जाने ग्राहकको चहलपहलले कोरोना महामारीपछि सामान्य बन्दै गरेको स्थितिको आभास दिइरहेको थियो। रोमेशको अनुहारमा लकडाउनकालीन अन्यौल हटेर उत्साहित व्यवसायीको खुसी पढ्न सकिन्थ्यो।
यस्तै खुसी मिसिएको भावमा उनले भने, 'बिस्तारै ग्राहकआउने क्रम बढेकाले खाली बस्नु परेको छैन।'
नत्र लकडाउनयता यो पसल महिनौं बन्द रह्यो। अब त खुल्ला कि भन्दाभन्दै फेरि बन्द गर्नुपरेको थियो।
दासोमको पसल पोखरा र धरानमासमेत छ। यसका दुई सञ्चालकमध्ये रोमेश काठमाडौंमा छन् भने कृष्ण अझै कोरियामै छन्। फरक देशमा बसेर उनीहरू दासोमलाई अगाडि बढाउने प्रयासमा तल्लीन छन्।
कस्मेटिकभन्दा मेकअपका सामग्री मात्र दिमागमा आउन पनि सक्छ। कोरियाली कस्मेटिकले भने मेकअपमा भन्दा बढी छालाको स्याहारलाई प्राथमिकता दिन्छ। कोरियन स्किन केयरका नामले संसारभर यसको माग बढिरहेको छ।
रोमेशका अनुसार सहरी परिवेशमा विभिन्न कारणले मानिसमा छालासम्बन्धी जटिलता देखिने गर्छ। संवेदनशील छाला भएका मानिसले जुन पायो त्यही कस्मेटिक प्रयोग गर्दा छालासम्बन्धी समस्या देखिने गर्छ। कोरियन स्किन केयर भरपर्दो भएकाले यसले नेपालमा पनि बजार लिइरहेको उनले बताए।
'पहिला कलर मेकअपका सामग्रीको माग बढी थियो। फाउन्डेसन लगाएर हेभी मेकअप गर्ने पनि छन्। तर अचेल नेपालमा पनि स्किन केयरलाई महत्व दिने ग्राहक बढिरहेका छन्,' रोमेशले भने, 'हामीकहाँ कलर मेकअप र स्किन केयरका उत्पादन आधा आधा जस्तै छ।'
उनी कोरियन उत्पादनका माध्यमबाट नेपालमा मेकअपभन्दा पनि छालाको स्याहार महत्वपूर्ण छ भनेर बुझ्ने वातावरण बनिरहेको बताउँछन्।
दासोममा धेरैजसो ग्राहक फेसवास, टोनर, सिरोम, इसेन्स, मोस्चराइजर, सनब्लक, एक्सपोलेसन, मेकअप, डबल क्लिन्जिङ वास, क्लिन्जिङ ओइल, बाम आदि किन्न आउँछन्। यहाँ कोरियाका कजरेक्स, क्लेयर्स, नियोजिन, सोमबाइमी, आइ एम फ्रम, इनिस्फ्री, नेचर रिपब्लिक ब्रान्डका कस्मेटिक बढी बिक्छन्। दासोम कोरियाली ब्रान्ड विस्ट्रेन्डको आधिकारिक बिक्रेता पनि हो।
कोरियामा बसेर अध्ययन र कामसमेत गरेको अनुभव सँगालेकाले रोमेश र कृष्णको दासोमले छोटो समयमै नेपाली बजारमा आफ्नो स्थान जमाउन सफल भइरहेको छ।
रोमेशले कोरियामा एमबिए तहको अध्ययन गरेका हुन्। कृष्ण पढाइ सकेर कोरियामै काम गर्दैछन्। कोरियन कस्मेटिक उत्पादनलाई नजिकबाट बुझ्ने पहुँच उनीहरूको व्यवसाय स्थापित हुने प्रमुख कारण हो।
कृष्णका माध्यमबाट रोमेशलाई कोरियाको नयाँ ट्रेन्ड बुझ्न र नयाँ कस्मेटिक सामान नेपाल झिकाउन सहज भएको छ। रोमेश कोरियन राम्रो बोल्न नजाने पनि मज्जाले पढ्न सक्छन्। उनी आफैं पनि नयाँ अपडेट लिइरहेका हुन्छन्।
उनीहरूको यही विशेषताको प्रभाव व्यवसाय विस्तारमा देखिन्छ। रोमेशका अनुसार दासोममा धादिङ, भैरहवा, पाल्पा, बुटवल, चितवनलगायत ठाउँका अर्डर आउँछ। धरान र पोखराका दासोमबाट पनि नजिकका ठाउँहरूमा उनीहरू आफ्ना सामान बेचिरहेका हुन्छन्।
दासोम खोल्ने रोमेश र कृष्णको योजना एकै पटकमा सफल भएको भने होइन।
कृष्ण र रोमेश केही समयको अन्तरालमा कोरिया गएका थिए। दुवैले उता पढाइ र कामलाई अघि बढाउने प्रयास गरे। तर रोमेशलाई कोरियाली भाषा फलामको चिउरा चपाएजस्तै भएछ। त्यसैले कृष्ण उतै बस्दा पनि रोमेश पढाइ सकाएर नेपाल फर्किए।
'कोरिया हुँदै हामीले ७५/७५ हजार लगानी गरेर कोरियाली कस्मेटिक व्यवसाय सुरू गर्ने प्रयास गरेका थियौं,' रोमेशले भने, 'त्यसबेला लगानी उठाउनै सकेनौं। तर त्यसले हामीलाई नेपालमा कोरियन कस्मेटिकप्रतिको आकर्षण महसुस गरायो। यहाँ बजार बुझ्ने मौका पायौं।'
नेपालमा अरूमार्फत व्यवसाय सञ्चालन गर्ने प्रक्रिया उनीहरू आफ्नै लागि नयाँ थियो।
'मैले नेपालबाट र कृष्णले कोरियाबाट मिलेर काम गर्दा प्रभावकारी हुने सल्लाह भएपछि यही कामलाई निरन्तरता दियौं।'
घाटा भए पनि पहिलोपटकको असफलताको पाठपछि उनीहरूमा कस्मेटिक व्यवसायमा झन्डै ३० लाख लगानी गर्ने हिम्मत आयो।
रोमेशले भने, 'एक जना नेपालमा र अर्को कोरियामा हुनु हाम्रा लागि प्लस प्वाइन्ट भइदियो।'
हरेक काममा अवसरसँगै चुनौती पनि हुन्छ भनेझैं यो काम गर्दाका झमेला पनि कम्ता नभएको रोमेश बताउँछन्।
उनीहरूका सामान कोरियाबाट नेपाल कार्गोमार्फत् भित्रिन्छ। यसक्रममा भन्सारसम्बन्धी झमेलादेखि बैंकका कागजात बनाउने प्रक्रियाले दुःख दिने उनले बताए। कोरियन सामान नेपाल ल्याउँदा नगद ल्याउनु पर्ने रहेछ। बाँकी नपाइने र थोरै किन्न समेत नपाइने भएकोले लगानी बढी हुने नै भयो। सबै खालका ग्राहकलाई समेट्न विविध खालका सामान राख्नु पर्ने हुन्छ। त्यसरी ल्याएका सामान सबै एकैपटक नबिक्ने हुँदा लागत फस्ने उनले सुनाए।
उनले भने, 'झन् महामारीपछि त हरेक सामानको मोल बढेको छ।'
फिक्स्ड प्राइसमा बेचिने दामोसमा पाइने कोरियाली सामानहरू एक हजारदेखि चार हजार पाँच सय रूपैयाँ भित्रका छन्। कतिपय नियमित चल्ने खुद्रा सामग्री भने हजारभन्दा कम पर्ने पनि छन्।
यो व्यवसाय सुरू गर्नुअघिसम्म रोमेशलाई कस्मेटिक प्रयोग गर्ने ग्राहक युवा समूहका महिला बढी होलान् भन्ने लाग्थ्यो। तर यहाँ आउने ग्राहकमा युवा पुस्तासँगै वयस्क उमेरका र पुरुषको संख्या पनि उल्लेख्य छ।
रोमेशजस्तै उनकी श्रीमती मनु ठाडा मगरलाई त झनै सुरूसुरूमा कस्मेटिक व्यवसायमा पुरुषको संलग्नताले नै अचम्ममा पारेको रहेछ।
'महिलाजत्तिकै संख्यामा पसलमा पुरुष ग्राहक कस्मेटिक सामान खोज्दै आउँदा म त ट्वाँ पर्थेँ,' रोमेशलाई बेलाबेला पसलमा साथ दिन आउने मनुले भनिन्।
रोमेश आफ्नो परिवारकै पहिलो व्यापारी हुन्। उनका आमाबुबा दुवै शिक्षण पेसामा छन्। नातेदारहरू सेना वा प्रहरीतिर बढी छन्। रोमेश भने केही समय गैरसरकारी संस्थामा काम गरेर विदेशतिर गएका हुन्। ब्रुनाईबाट निराश भएर फर्केपछि उनले घरबाट कृषि व्यवसाय गर्न पाँच लाख नगद समेत मागेका थिए। तर बजारमा हुर्केका उनको कृषि व्यवसाय गर्ने कुरालाई अभिभावकले पत्याएनन्।
रोमेशले भने, 'अरूले नगरेको काम सुरू गर्दा हुने केही अलमल र अन्यौल मलाई पनि भयो। तर आफ्नै काम गर्ने सोचले यहाँसम्म आइपुगियो।'
लकडाउन हुन्थेन भने रोमेश र कृष्णमा यो व्यवसायलाई अझै आक्रामक ढंगले बिस्तार गर्न सकिने आत्मविश्वास पलाइसकेको थियो।
'परिस्थिति अनुकूल बनेपछि हामी यो व्यवसायलाई अझै आक्रामक ढंगले अघि बढाउने सोचिरहेका छौं,' रोमेशले भने।
कोरियाली भाषामा दासोमको अर्थ गहिरो माया भन्ने हुन्छ। ब्रुनाईको तीतो भोगाइको पृष्ठभूमि बोकेका ३८ वर्षीय रोमेश र कृष्णबीच पनि पछिल्लो डेढ दशकमा गहिरो माया गाँसिइसकेको छ।
निराशाको घडीमा एकअर्कालाई साथ र हौसला दिएका उनीहरुले दासोम नाम बुझेर राखे वा अन्जानमा तर यो नाम उनीहरूको व्यवसायको परिचयमा मात्र सीमित छैन। दासोम रोमेश र कृष्णको मित्रताको भावलाई पनि बोक्ने शब्द बनिसकेको छ।
(दासोमको वेबसाइट लिंक, फेसबुक लिंक र सम्पर्क नम्बरः ०१-४२२५२३९)