व्यापारिक घराना गोल्यान समूहको पाँचतारे होटल 'हायात प्लेस' तिहारअघि सञ्चालनमा आउने भएको छ। अहिले होटलमा खाना, उपकरण लगायत अन्य परीक्षण भइरहेको समूहका निर्देशक अक्षय गोल्यानले बताए।
साढे दस रोपनी क्षेत्रफलमा काठमाडौंको सोल्टि मोडमा निर्माणाधीन होटल २०७६ साल पुसभित्रै सञ्चालनमा ल्याउने समूहको योजना थियो। तर विश्वव्यापी रूपमा फैलिएको कोराना महामारीले उक्त योजना सफल हुन सकेन।
होटल सञ्चालन अवधि डेढ वर्ष पर धकेलिएको अक्षयले बताए।
'गत पुसमै होटल सञ्चालनमा ल्याउने योजना थियो, तर कोभिड–१९ का कारण ल्याउन सकिएन,' उनले भने।
अक्षयका अनुसार कोरोनाले सामान आउन नसकेपछि निर्माण काम रोकिएको थियो।
'चीन र इट्लीबाट केही सामान आउनु पर्ने थियो। चीनमै पहिला कोरोना देखिएपछि सामान आउन सकेन, काम रोकियो,' उनले भने, 'कामदारको पनि बीचमा अभाव नै भयो।'
फिटिङ गर्ने कामदार सबै भारत (घर) गएकाले समयमै होटल निर्माण गर्न नसकिएको उनले बताए।
योजनाअनुसार होटल सञ्चालनमा नआउँदा निर्माण लागत बढेको उनी बताउँछन्। समूहलाई डेढ वर्षको अवधिमा ८० करोड घाटा भएको अक्षयले जानकारी दिए।
सन् २०१६ मा होटल निर्माण काम सुरू गरिएको हो। निर्माण चार वर्षमा सकिँदा तीन अर्ब २० करोड रूपैयाँ लागत अनुमान थियो। अहिले कोरोनाका कारण होटलको लागत चार अर्ब पुगेको छ।
'उद्योगी भएपछि घाटा–नाफा बेहोर्नै पर्यो। तर यो कोरोनाले हामीले सीमाभन्दा बढी घाटा बेहोरेका छौं। मौद्रिक नीतिले ब्याजमा केही राहत दिएको छ,' उनले भने।
कोरोना महामारीले दुई/तीन वर्ष होटल घाटामै चल्ने तर पछि पर्यटन व्यवसाय फस्टाउनेमा उनी विश्वस्त छन्।
'अहिले हामीलाई मान्छे कहीँ घुम्नै जाँदैनन् भन्ने लागेको छ। तर मानिसलाई उकुसमुकुस भइसकेको छ,' उनले भने, 'पछि त पर्यटन व्यवसाय फस्टाउँछ नै।'
यो परिस्थितिमा मान्छेले लामो यात्रा नगर्ने हुनाले एसियाका पर्यटन व्यवसाय फस्टाउने उनले देखेका छन्।
'नेपालमा आठदेखि नौ महिना राम्रो मौसम हुन्छ। गर्मी महिना भने पनि जुन-जुलाइमा त्यति गर्मी हुँदैन। र जाडोमा पनि युरोपतिरको जस्तो जाडो हुँदैन। मान्छे युरोप र अमेरिका जाँदैनन्, घुम्ने भनेको एसियामै हो,' उनले भने, 'कोरोनाले अब होटल चल्दैन भन्ने लाग्दैन।'
कस्तो बन्दैछ होटल हायात प्लेस?
हायात ब्रान्डमा बनिरहेको यो होटल अन्तर्राष्ट्रिय चेनको पाँचतारे स्तरको हो।
यसको भवन १४ तले बन्दैछ। होटलका लागि एक सय ५३ कोठा हुने छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्नेगरी कोठाहरूको इन्टेरियर डिजाइन गरिएको समूहको भनाइ छ।
पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट छ। होटलमा क्यासिनोबाहेक सबै स्तरीय सुविधा हुने पनि समूहको दावी छ। समूहले होटलमा क्यासिनो राख्ने योजना भने बनाएको छैन। पछि विदेशी आएपछि यसबारे सोच्न सकिने पनि समूहले जनाएको छ।
यहाँ स्विमिङ पुल, स्पा, जिम, ब्यांकेट हल, सात सय क्षमताका मिटिङ रूम हुनेछन्।
समूहका अनुसार होटलको भौतिक संरचना बनाउन सक्ने भए पनि व्यवस्थापन तथा सञ्चालनको अनुभव तथा विज्ञता नभएकाले व्यवस्थापनको काम हायात प्लेसलाई दिएको हो।
हायात प्लेस हायात ब्रान्डको नेपालमा दोस्रो होटल हुने छ। यसअघि हायात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ। हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन् तर यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड एउटै हो।
होटलले एक सय बढीलाई रोजगारी दिएको निर्देशक अक्षयले बताए।
अहिले देशभर पाँचतारे होटलको संख्या १५ वटा छन्। तीमध्ये दुइटा बन्द अवस्थामा छन्।
सबै तस्बिरहरूः हायात प्लेसको प्रतिकात्मक डिजाइन