पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।
राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ 'नविन किराना'।
२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।
पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्।
उनको नाम मिनबहादुर खत्री हो। तर उनलाई प्रायःले नविन भनेर चिन्छन्। उनैले चलाइरहेको पसल हो नविन किराना।
२०५२-०५३ सालताका नविन चितवनका उदयमान भलिबल खेलाडी थिए। गाउँ र जिल्ला स्तरका प्रतियोगितामा उनको प्रस्तुति दमदार मानिन्थ्यो। ६ फिट २ इन्च उचाइ भएका नविन भलिबल खेलका उत्कृष्ट सटर थिए। जिल्लामा मात्रै नभएर नवलपरासी, कास्की, बाग्लुङलगायत जिल्लामा हुने प्रतिष्पर्धामा पनि उनी सहभागी हुन्थे। प्रायः खेलमा पुरस्कार जितेर फर्कन्थे।
खेलमा पाउँदै गरेको सफलताले उनलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेलाडी बन्ने उत्सुकता जागेको थियो। उनी राष्ट्रिय स्तरको खेल खेल्नका लागि सम्बन्धित व्यक्तिको सम्पर्कमा पनि पुगेका थिए।
सबै कुरा ठीकठाक चल्दै थियो २०५३ सालको साउन महिना उनका लागि अभिशाप बनेर आयो। गोठमा भैंसीको स्याहार गर्दैगर्दा उनको ढाडमा समस्या आउन थाल्यो। दुखाई बढ्दै गएपछि उनी भरतपुर अस्पताल पुगे। डाक्टरले मल्हम दिएर पठाए। डाक्टरको सल्लाहअनुसार केही दिन मल्हम लगाएर बसे तर त्यसले काम गरेन। भदौको ९ गते उनी उभिनै नसक्ने अवस्थामा पुगे।
एक वर्षअघि विवाह बन्धनमा बाँधिएकी श्रीमती इवीमाया र हजुरबुबा खड्गबहादुरले उनलाई हतार-हतार गाडामा राखेर राजमार्गसम्म पुर्याए। त्यहाँ एम्बुलेन्स बोलाएर उनलाई काठमाडौंस्थित वीर अस्पताल पुर्याइयो। अस्पताल पुग्दा उनको मेरुदण्डको नसा चुँडिइसकेको थियो। डाक्टरले उनलाई पहिलेको अवस्थामा फर्काउन नसक्ने बताए।
'२४ घन्टामात्रै छिटो पुगेको भए ठीक हुने रहेछ,' उनले भने, 'तर यताको औषधीले ठीक होला भनेर कुर्दाकुर्दै अवस्था बिग्रिसकेछ।'
तैपनि चमत्कार भइहाल्छ कि भन्ने आशा बाँकी नै थियो। श्रीमती र हजुरबुबाले उनलाई निको पार्न सक्दो प्रयास गरे।
'वीर अस्पताल र शिक्षण अस्पतालमा हप्तौं राखेर मेरो उपचार गराइयो। मेरो उपचारका लागि हजुरबुबाले १९ कट्ठा सम्पति बेच्नु भएछ, श्रीमतीले गरगहना सबै बिक्री गरिछन्,' उनले भने, 'तर ती सबै व्यर्थ भए। मेरो अवस्थामा सुधार नआउने निश्चित भएपछि निराश भएर घर फर्कियौं।'
घर फर्कंदा एउटा बुढो घरमात्र ठिंग उभिएको थियो। हजुरबुबाले जोडेको सम्पत्तिको ठूलो हिस्सा गुमेको थियो। श्रीमतीको कान, घाँटी बुच्चै भएका थिए।
बुबा गंगाबहादुरको भने उनी जन्मिएको ४ महिना पछि नै सवारी दुर्घटनामा मृत्यु भएको थियो। तीन वर्षको छँदा आमाले पनि उनलाई छाडिन्। सानै उमेरदेखि हजुरबुबा, हजुरआमाको पालनपोषणमा उनी हुर्किएका थिए।
दुई बिघा जमिनका धनी हजुरबुबाले खेती किसानी गर्थे, नविन सघाउँथे। उनले स्थानीय वीरेन्द्रनगर आदर्श माविमा ७ कक्षासम्म पढे। त्यतिखेरै उनले भलिबल खेल्न सिकेका थिए। अग्ला कदका भएकाले शिक्षक, साथीभाइले उनलाई भलिबल खेल्न थप हौसला दिन्थे। बिस्तारै उनी गाउँस्तरका प्रतियोगिता हुँदै जिल्ला स्तरमा पनि खेल्न थाले। त्यतिखेर नविन खत्रीको खेल देख्ने अधिवक्ता कमलराज पाठक उनलाई त्यतिखेरको राम्रो खेलाडी मान्छन्।
'हो उहाँले राम्रो खेल्नुहुन्थ्यो, राम्रो हुँदाहुँदै उहाँ राष्ट्रिय लेभलमा पुग्न सक्नुभएन,' पाठकले भने, 'मेरो र उहाँको उस्तै–उस्तै उचाइ थियो। मैले महेन्द्र पुलिस क्लबबाट राष्ट्रिय खेल नै खेलें उहाँलाई शरीरले धोका दियो।'
भलिबल खेल्दाखेल्दै सँगै खेल्ने साथीहरूले विदेश जाने योजना बनाएपछि उनले पनि पासपोर्ट बनाएका थिए।
'मेरो लक्ष्य भलिबलको अन्तर्राष्ट्रिय खेलाडी बन्ने नै थियो तर यो हुन नसके विदेश गएर पैसा कमाउने सपना थियो,' उनले सुनाए, 'त्यही योजनाअनुसार हामी ८ जना साथीले पासपोर्ट बनाएका थियौं। तर मेरो न सफल खेलाडी बन्ने लक्ष्य पूरा भयो न विदेश गएर पैसा कमाउने।'
शिक्षण अस्पतालको शैयामा रहँदा अन्य ७ जनाले बेल्जियमको भिसा लगाएर विदा माग्न आएको उनी झल्झल्ती सम्झन्छन्। उनीहरूमध्ये केही अहिले पनि उतै बसेर कमाइरहेका छन्।
मिनबहादुरको शरीर चल्न छाडेको केही वर्षमा हजुरबुबा बिते। उनी झन् एक्ला भए।
जिन्दगीमा अनेकौं हण्डर खाए पनि महत्वाकांक्षा राख्न नछाड्ने नविनलाई त्यही महत्वाकांक्षाले आज पुनः सफल बनाउँदैछ। आफूसँगै श्रीमतीको मेहनत र साथले अहिले उनी करोडौं रुपैयाँ पर्ने सम्पत्तिका मालिक बनेका छन्।
हजुरबुबा बितेपछि उनलाई स्थानीय केही व्यक्तिले जीवनबाट हरेस नखान हौसला दिएका थिए। तिनै मध्येका एक स्थानीय समाजसेवी चण्डिका पौडेलले व्यापार गर्न भनेर उनका लागि ५ हजार रुपैयाँ लगानी गरिदिए। नविनले त्यो पैसाले एउटा दराज, बाकस र केही मिठाइ, बिस्कुट किनेर बिक्री गर्न थाले। एक महिनापछि अर्का समाजसेवी पूर्ण आचार्यले उनलाई १६ हजार रुपैयाँ पर्ने काँटा, तराजु, ढकलगायतका सामान सहयोग गरे।
'उहाँहरूले सक्यौ भने फिर्ता गर्दा हुन्छ नसके भैगयो भनेर मलाई खुल्ला हृदयले सहयोग गर्नुभयो,' उनले भने, 'त्यही सहयोगको बलमा व्यापारलाई बढाउँदै लगें।'
उनी पसलमा खाटमा बसेर सामान बिक्री गर्थे। सानो बुबाका छोराहरूले पनि उनलाई सघाउँथे। सुरुवातमा किनेको दराज र बाकस उनले साँचेर राखेका छन्।
व्यपार राम्रो हुँदै गयो। श्रीमतीले भैंसी पालेर दूध बिक्री गर्न थालिन्। कमाईको पैसा उनीहरूले अरू क्षेत्रमा पनि लगाए। २०६३ सालमा नविनले किराना पसलमा लगानी ५ लाख पुर्याए। त्यो पसलबाट उनले २०७० सालसम्ममा ७० लाख रुपैयाँ कमाए। २०७२ सालमा ६३ लाख रुपैयाँ खर्च गरेर दुई तल्लाको १२ कोठे घर बनाए। छाप्रोमा चलेको पसल अब उनको बडेमानको घरमा सुरू भयो। हजुरबुबाले जिउनी भनेर राखेको चार कट्टा जमिन अहिले उनको नाममा छ।
किराना सामानको खुद्रा बिक्रेता उनले २ वर्षदेखि होलसेल व्यवसाय सुरू गरे। अहिले यो घरका कोठामात्रै होइन प्यासेज पनि गोदाम बनेका छन्। आफ्नो घरले नपुगेर छिमेकीका २ घरमा पनि गोदाम बनाएका छन्। उनको पसलबाट अहिले ८१ वटा किराना पसलले सामान खरिद गरेर बिक्री गर्छन्। खरिद, बिक्री र सहयोग गर्नका लागि केही कर्मचारी राखेका छन्। काका यमबहादुर खत्री, काकाका छोराहरु हरी र दीपक पनि यो व्यवसायमा खटेका छन्। नविन किरानाको लगानी अहिले एक करोड रुपैयाँभन्दा माथि पुगेको छ। उनको पसलमा मासिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। महिनामा करिब एक लाख रुपैयाँ आम्दानी लिन्छन्।
नविन पसल सुरू गर्दाबाट अहिलेसम्म खाटैमा छन्। खाटैमा पल्टिएर पसलका लागि आवश्यक सामानबारे बुझ्छन्, त्यहीँबाट फोन गरेर आवश्यक सामान अर्डर गर्छन्। पसलको हरेक बिल उनी आफैं तयार गर्छन्, पैसा बुझ्ने, बुझाउने, जम्मा गर्नेसम्मका सबै काम उनी आफैं गर्छन्।
'मेरो विषयमा धेरै तनाव लिएको, धेरै दुःख पाएका कारण होला श्रीमती बिरामी भइराख्छिन् तैपनि सकेको सहयोग गर्दै आएकी छन्,' उनी भन्छन्, 'मेरो दिमाग र उनको हौसलाका कारण फेरि यो अवस्थामा आइपुगेका छौं।'
नविनलाई लाग्छ यत्तिको सहयोगी श्रीमती नभइदिएको भए उनी उहिल्यै डिप्रेसनको सिकार भइसक्थे।
अहिले उनको बैंकमा २५ लाख रुपैयाँ ऋण छ। ५० लाख रुपैयाँको सामान उधारो गएको छ। तैपनी यसले उनको उत्साहमा कमी आएको छैन।
'त्यो अवस्थाको परिवार यो अवस्थामा आइपुगेको छ। ऋण, उधारो भन्ने कुरा त भइहाल्छ,' उनी भन्छन्, 'जतिञ्जेल बाँचिन्छ खुसी भएर बाँच्ने हो। इलम गर्ने मान्छे कहिल्यै दुःखी हुनुपर्दैन।'
गाउँघरतिर केही सामाजिक काम हुन लाग्दा उनी सहयोग गर्न अग्रसर हुन्छन्। अपाङ्गता भएकाहरुलाई सहयोग गरौं–गरौं लाग्छ।
उनलाई कोठाबाट बाहिर निस्कन चार जना सहयोगीको आवश्यकता पर्छ। उठ्न नसक्ने, दिसा, पिसाब त्यहीँ गर्ने भएकाले उनलाई खाटैसहित बाहिर ल्याउनुपर्छ। बेला-बेलामा पसलको अगाडि खाटमा पल्टिएर निगरानी गर्छन् उनी।
नविन काम मात्रै होइन घुमघाम पनि गर्छन्। घुम्न जाँदा पनि खाटैमा जान्छन्। बेला-बेलामा ट्याक्टरमा खाट राखेर उनी नारायणगढ, सौराहालगायतका ठाउँ पुग्ने गरेका छन्। वरपर कतै भलिबल प्रतियोगिता भएको थाहा पाए भने पनि उनी खाटै बोकेर पुग्छन्। उनलाई आफूलाई मन परेको यो खेल हेर्दा असाध्यै रमाइलो लाग्छ। तर भलिबल खेल र खेलाडीलाई राज्यले प्रोत्साहन गर्न नसकेकोमा भने उनलाई खिन्न लाग्छ।
स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा भने उनी एम्बुलेन्स बोलाउँछन्।
विवाह गरेको केही महिनामै मीनबहादुर अशक्त बनेकाले खत्री दम्पतीका सन्तान छैनन्। उनीहरूलाई अब धेरै वर्ष दुःख गर्न पनि मन छैन। नविनको योजना एक करोड रुपैयाँ बैंक व्यालेन्स बनाउने र आफूलाई हिँडडुल गर्न उपयुक्त हुने एक करोड रुपैयाँ बराबरको गाडी किनेर चढ्ने इच्छा छ।
'आँखा, कान, दिमागले काम गर्दासम्म यसै बस्न मन लाग्दो रहेनछ,' उनी भन्छन्, 'अबको आकांक्षा भनेको यिनै कुरा हुन् हेरौं कत्तिको सफल भइन्छ।'
(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७८ जेठ ३० गते प्रकाशित थियो)