बुढेसकालको सुखका लागि मान्छेहरू युवावस्थामा मरिमेटेर काम गर्छन्। साठी वर्षपछिको उमेरमा काम छोडेर 'रिटायर्ड लाइफ' बिताउने चलन छ।
तर भरतपुरकी अम्बिका धिताल भने यो चलनको उल्टो बाटो हिँडिरहेकी छन्।
साठी वर्षको उमेरमा उनी व्यवसायीका रूपमा उदाउँदै छिन्। दिनरात नभनी मेहनत गर्दैछिन्।
भरतपुर–१० घरकी अम्बिका केही वर्ष अघिसम्म गृहिणी थिइन्।
परिवारका लागि खाना पकाउने, घरधन्दा गर्नेलगायत काममा उनको दिन बित्थ्यो।
छोराछोरीको स्याहार, परिवारका लागि किनमेलजस्ता काममै रत्तिएकी अम्बिकाले व्यवसाय गर्नेबारे सोच्नसम्म भ्याउन्नथिन्।
श्रीमान जागिरमा व्यस्त हुन्थे। बिस्तारै छोराछोरी हुर्किए। उनीहरू परिवारसहित विदेशतिर बस्न थाले। अनि बल्ल सुरू भयो अम्बिकाको व्यावसायिक यात्रा।
गाउँघरतिर 'मस्यौरी दिदी'को नामले परिचित अम्बिका धितालले करिब तीन वर्ष पहिले मस्यौरा बनाएर व्यवसाय सुरू गरेकी थिइन्।
आफ्नै जमिनमा कर्कलो हुर्काएर तयार पारिएको मस्यौरा उनले घर नजिकैको पसल हुँदै विदेशसम्म पुर्याइसकेकी छन्।
अहिले त उनले 'मान्द्रो नेपाल' नामको ब्राण्ड नै बनाएकी छन्। यो ब्राण्डमा उनले मस्यौराका अलावा गुन्द्रुक, मूलाको चाना, सिन्की, काउली, बन्दा, कर्कलोको डाँठ र कुभिन्डोको सुकुटी, कर्कलोको गावालगायतका नेपाली पहिचानका खाद्यवस्तुहरू उत्पादन गरेर विभिन्न परिमाणका प्याकेटमा बजार पुर्याउँछिन्।
मान्द्रो नेपाललाई उनले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराएकी छन्। उनको यो उद्योगमा करिब एक दर्जन महिलाहरू काम गर्छन्। घरको आँगनमा उनीहरूलाई जम्मा गरेर ती वस्तुहरू उत्पादनको काम गरिन्छ। घरको छतमा ७ वटा सोलार पाता छन्। मानव निर्मित उत्पादनलाई सुकाउने काम ती सोलार पाताले गर्छन्। सुक्खा भइसकेपछि उनी त्यसलाई प्याकिङ गरेर बजारसम्म पुर्याउँछिन्।
त्यसो त यी उत्पादन लिनेहरू 'मस्यौरी दिदी'को घरमै पनि आइपुग्छन्। विशेषतः विदेश जाँदै गरेकाहरू यहाँ पुगेर उनका उत्पादन खरिद गर्छन्।
'कोही आफ्नै लागि त कोही आफन्तका लागि उपहारको रूपमा विभिन्न कुरा लिन घरमै आउनुहुन्छ,' उनले भनिन्, 'हाम्रो उत्पादनको ठूलो हिस्सा त घरबाटै बिक्री हुन्छ।'
यसका अलावा चितवन र काठमाडौंमा मान्द्रो नेपालका उत्पादनको बिक्री केन्द्र छ।
मान्द्रो नेपालले उत्पादन गर्ने सबै वस्तुहरू लोपोन्मुख छन्। पराम्परागत शैलीबाट उस्तै स्वादका परिकार अहिले बजारमा पाउन गाह्रै पर्छ। त्यसैले पनि यो उत्पादन पछिल्ला दिनमा रोजाइ बन्दै गएको छ।
अम्बिकाले उत्पादन गरेका वस्तुहरू निर्यात कम्पनीहरूले आफ्नो ट्रेडमार्क राखेर विभिन्न देश पनि पुर्याउने गरेका छन्। लकडाउन सुरूभएयता भने विदेश जाने क्रम बन्द भएको थियो।
अन्तर्राष्ट्रिय उडान सुरू भएलगत्तै पुनः विदेश पठाउने तयारीमा उनी छन्।
'झण्झटिलो प्रकृयाका कारण आफ्नै ब्राण्डलाई निर्यात गरी अन्य देश पठाउन सकिएको छैन,' धिताल भन्छिन्, 'केही महिनाअघि निर्यातको प्रक्रियाबारे तालिम पनि लिएको छु। विस्तारै आफैंले निर्यात गर्ने सोच छ।'
यद्यपी विदेश जाने नेपालीले आफ्नो उत्पादन धेरैतिर फैलाएको उनले बताइन्।
'धेरैले तपाईंको सामान स्तरीय छन् भनेर तारिफ गर्नुहुन्छ', उनी भन्छिन्, 'एक पटक किनेकाहरू पटक-पटक आउने गर्नुहुन्छ।'
उनले यी सामानहरू बनाउने काम औपचारिक रूपमा सिकिनन्। सानैदेखि हजुरआमाले गरेका काम देखेकी उनलाई मस्यौरा बनाउन गाह्रो भएन।
अन्यको बारेमा पनि राम्रै ज्ञान थियो उनलाई। यसलाई व्यावसायिक बनाउन र बजारको व्यवस्थापन गर्न भने केही दिनको तालिम लिइन्।
६७ वर्षीय श्रीमान् ध्रुव धिताल उनको व्यवसायका सहयात्री हुन्। ध्रुव श्रीमती अम्बिकासँगै बिहान २ बजे नै उठेर काममा खट्छन्।
कर्कलोलाई टुक्रा बनाउने काम उनकै हो। १६ वर्ष सिँचाइ कार्यालयमा काम गरेर केही वर्ष विदेशसमेत बसेका उनी श्रीमतीले सुरू गरेको कामप्रति सन्तुष्ट छन्।
'मान्छेहरू रिटायर्ड लाइफ आनन्दले बिताउने भन्छन् तर मलाई त सकिन्जेल काम गर्नुपर्छ भन्ने लाग्छ,' ध्रुव भन्छन्, 'शरीरलाई निरोगी राख्न पनि काम गर्नुपर्छ भनेर म सकेको मेहनत गरिरहेको छु।'
अम्बिकाले मस्यौरा बनाउन सुरू गर्दैगर्दा कतिपयले 'यो नहुने मेसो हो' भन्नेर निरूत्साहित बनाएको अहिले सम्झन्छिन्।
'बिस्तारै उहाँहरू पनि राम्रै गरेकी रहिछ भन्न थाल्नु भएको छ,' उनले भनिन्, 'धेरैले सिको पनि गर्न थालेका छन्।'
कुनै पनि काम सानो–ठूलो नहुने बताउने उनी मेहनतले सबै कामलाई ठूलो बनाउने विश्वास गर्छिन्।
घरमै रहेको मेसिनले मास पिसेर मस्यौरा बनाउन थालेकी अम्बिका वर्षमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छिन्।
लागत र आफ्नो तलब कटाएर १४ देखि २० प्रतिशतसम्म बचत हुने गरेको उनले बताइन्।
मस्यौरा बेचेर आएको कमाइबाट उनले उद्योगमा सोलार तथा अन्य आवश्यकीय सामान राखेकी छन्। अहिले लगानी ७ लाख रुपैयाँ छ। कहिलेकाहीँ त एक दिनमै ५० हजार रुपैयाँको सामान बिक्री हुन्छ।
'अहिलेलाई हामी श्रीमान–श्रीमतीलाई पुग्ने आम्दानी छ,' उनले भनिन्, 'यसलाई विस्तार गर्दै जाने लक्ष्य राखेका छौं।'
चाहना भयो भने यो उमेरमा पनि गर्न सकिन्छ भनेर देखाउने प्रयासमात्र गरेको धिताल दम्पत्ति बताउँछन्।
अष्ट्रेलियामा रहेका छोरा-बुहारीले पिआरका लागि आवेदन दिन उनीहरूलाई आग्रह गरेका थिए।
'तर हामीलाई पिआर लिएर उता बस्नुभन्दा सकिन्जेल यहीँ केही गरौं भन्ने लाग्यो,' अम्बिकाले सुनाइन्।
अम्बिकामा नेपाली पहिचानका खाद्यवस्तु उत्पादन गर्ने सोच भने विदेशबाटै आएको थियो।
छोरा-बुहारी अष्ट्रेलिया र छोरी-ज्वाइँ बेलायत भएका कारण उनीहरू यी दुवै देश पुगेका थिए।
घुम्ने क्रममा त्यहाँका सपिङ मलमा उनीहरूले छिमेकी भारत, चीन र बंगलादेशलगायत देशका पहिचान झल्कने धेरै खानेकुरा देखे। किनेर खाए पनि। तर नेपालको पहिचान दिने कुनै पनि सामान त्यहाँ देख्न पाएनन्।
'यो सपिङ मलमा नेपाली खाना पनि बिक्रीका लागि राख्ने व्यवस्था मिलाउन पाए कति राम्रो हुन्थ्यो,' अम्बिकाको मनमा लाग्यो।
नेपाल फर्किएलगत्तै नेपालको पहिचान दिने खाना के-के हुन सक्छन् भन्ने विषयमा पतिपत्नीले सोच्न थाले। पहिचान दिने मात्र भएर भएन आफूले बनाउन सक्ने पनि हुनुपर्यो!
पहिले नै अम्बिकाले बुटिक खोल्ने उद्देश्यले ४ लाख रुपैयाँ खर्च गरेर तालिम लिएकी थिइन्। बुटिक व्यवसायको सुरूआत मात्रै गर्दै थिइन् त्यसमा त्यत्ति मन गएन।
त्यसपछिमात्रै उनीको मनमा आएको थियो- मस्यौरा, गुन्द्रुक बनाउने विचार।
अम्बिकालाई मस्यौरा र गुन्द्रुक बनाउने कुरा त बाँया हातको खेल थियो।
अम्बिकाले उत्पादन सुरू गरिन्।
अहिले गुन्द्रुक बनाउन साग उत्पादनको जिम्मा महिलाहरूको कृषि समूहलाई दिएकी छन्। उनीहरूले उत्पादन भएको साग ल्याएर दिन्छन्, त्यसैलाई गुन्द्रुक बनाएर बिक्री गर्ने गर्छिन् उनी। काउली, बन्दा पनि यसैगरी खरिद गरेर सुकुटी बनाइन्छ। तरकारी उत्पादनको बेसिजनमा यी वस्तुहरूले तरकारीको काम गर्छन्। कुभिण्डो भने उनी घरमै फलाउँछिन्।
स्थानीय सरस्वती हुमागाईं सुरूआतमा व्यवसायिक रूपमा अम्बिकाको उद्योग चल्लाजस्तो आफूलाई नलागेको बताउँछिन्। अहिले भने यो व्यवसाय राम्रो भइरहेको देखेर उनलाई रमाइलो लाग्छ।
'उहाँले त गज्जब गर्नुभएको छ,' सरस्वतीले भनिन्, 'उहाँले सुरूआत गरेको व्यवसायबाट धेरैले सिको गरेका छन्। उहाँ धेरै महिलाको प्रेरणाको स्रोत बन्नुभएको छ।'
अम्बिका अहिले चितवन उद्योग संघमा पनि आवद्ध भएकी छन्। उद्योग संघको महिला मञ्चको सदस्यका रूपमा जिल्लाका अन्य महिलालाई व्यवसायमा लाग्न प्रेरणा दिन्छिन् उनी। व्यवसाय गर्न चाहनेको संख्या बढिरहेको भए पनि सरकारले प्रोत्साहन नगरेको उनको अनुभव छ।
कृषिजन्य उत्पादनको बजारको जिम्मा सरकारले नै लिइदियो भने यस क्षेत्रमा लाग्ने संख्या बढ्छजस्तो उनलाई लाग्छ।
'सबै मान्छेले काम गरे भने देशलाई पनि फाइदा हुन्छ,' उनी भन्छिन्, 'हाम्रो उत्पादन विदेश पुर्याउन सहज बनाइयो भने देशको व्यापार घाटा घट्छ। यस विषयमा ध्यान दिए हुने थियो।'
(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७७ असोज ८ गते प्रकाशित थियो)