यसपालि दसैंमा आन्तरिक उत्पादनले नै खसी–बोकाको माग धान्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक सर्वेक्षणले देखाएको छ। विगतमा दसैंका लागि भारतबाट समेत आयात हुँदै आएको थियो।
मन्त्रालय मातहतको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार दसैं बेला काठमाडौंमा दैनिक ४० देखि ५० हजार खसी–बोका खपत हुन्छ। अन्य स्थानमा एक हजारदेखि १२ सय खपत हुन्छ। उक्त माग गाउँगाउँबाट संकलन गरेर ल्याइएका स्थानीय उत्पादनले नै पूरा हुने उनले बताए।
‘पशु उत्पादन र व्यवसाय गर्ने निकायहरूसँग हामीले छलफल गरिसकेका छौं, यसपालि आन्तरिक उत्पादनले नै बजारमा खसी–बोकाको कमी हुने छैन,’ ढकालले भने।
यहाँ वार्षिक ५४ लाख खसी-बोका उत्पादन हुने विभागको तथ्यांक छ। त्यसमध्ये १२-१३ लाख खसी-बोका देशका विभिन्न ठूला बजारमा बेच्न लगिन्छ भने ४० देखि ४२ लाख स्थानीयस्तरमै खपत हुन्छन्।
पहिले खसी-बोका आयात गर्दा पशु स्वास्थ्य प्रमाणपत्र अनिवार्य थिएन। अहिले कडाइ गरिएकाले भारतबाट हुने आयात घटेको छ भने स्थानीय स्तरबाटै बढी उत्पादन हुन थालेको उनले बताए।
दसैंका लागि बाख्रापालक व्यवसायी महासंघबाट ५१ हजार र कृषक समूहबाट ६० हजार खसी-बोका उपलब्ध हुने उनले जानकारी दिए। दसैंलाई भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि दुई हजार खसी-बोका भित्र्याउँदैछ।
बाख्रापालक व्यवसायी महासंघका अध्यक्ष प्रेमसागर पौडेलले यसपालि भारतबाट आयात गर्न आवश्यक नभएको बताए।
‘देशभरि हाम्रो सञ्जाल छ, मासुको कमी हुँदैन,’ उनले भने, ‘आन्तरिक उत्पादन पर्याप्त हुँदाहुँदै पनि व्यवसायीहरू आयात गर्नै सहज मान्छन्।’
उनले अगाडि भने, 'स्थानीय किसानसँग किन्दा गाउँगाउँमा गएर संकलन गर्नुपर्छ, आयात गर्ने हो भने एक फोनकलमै आइपुग्छ।' गाउँमा रहेका उत्पादन बजार ल्याउन संकलन केन्द्र र ढुवानी मुख्य समस्या रहेको उनले बताए।
राष्ट्रिय मासु व्यवसायी संघले फूलपातीदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभरका लागि खसी-बोका, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य पनि निर्धारण गरेको छ।
चाडपर्वको मौका छोपेर आफूखुसी मूल्य लिने प्रवृत्ति निरूत्साहित गर्न सबैतिर समान मूल्य निर्धारण गरिएको संघले जनाएको छ।
संघले निर्धारण गरेको मूल्यअनुसार आन्द्राभुँडी भएको खसीको मासु प्रतिकिलो हजार रूपैयाँ, बोसो राखिएकाको एक हजार दुई सय रूपैयाँ र ह्याकुलासहित ग्राहकले रोजेअनुसारको मूल्य एक हजार तीन सय रूपैयाँ छ।
त्यस्तै, कुखुराको मासु प्रतिकिलो तीन सय तथा राँगा र बंगुरको मासु पाँच-पाँच सय रूपैयाँ प्रतिकिलो तोकिएको छ।
‘हामीले सबै मासु पसललाई निर्धारित मूल्यसूची टाँस्न निर्देशन दिइसकेका छौं। तोकिएको मूल्यमा बिक्री नभए संघबाट कारबाही हुनेछ,’ संघका अध्यक्ष रमेश खड्गीले भने।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यही असोज ६ गते मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो। विभागले मूल्यमा एकरूपता ल्याउन पनि व्यवसायीहरूलाई भनेको थियो।
यस वर्ष च्यांग्राको मूल्य भने पहिलेभन्दा दोब्बर बढ्ने भएको छ। चीनबाट च्यांग्रा नआउनु र आन्तरिक उत्पादन कम हुनुले मूल्य बढ्ने व्यवसायीहरूले बताएका छन्।
मासु व्यवसायी संघका अनुसार गत वर्ष जिउँदो च्यांग्रा प्रतिकिलो सात सयदेखि आठ सय रूपैयाँ र मासु दुई हजार रूपैयाँसम्ममा बिक्री भएको थियो। यस वर्ष जिउँदो च्यांग्रा नै किलोको १२ सयदेखि १५ सय पुग्ने अनुमान छ।
पशु सेवा विभागले खसी-बोकाको स्वास्थ्य परीक्षण गर्न प्राविधिक टोली खटाएको छ। विभागले काठमाडौं उपत्यकामा ल्याइने खसी-बोकाको सिङमा नीलो र रातो रङ लगाएको हुन्छ। नीलो रङ लगाइएका खसी स्वस्थ हुन् भने रातो रङ लगाइएका अस्वस्थ हुन्।
रातो रङ लगाइएका खसी-बोका उपचार गर्न सम्बन्धित व्यवसायीसँग आग्रह गरिएको विभागका प्रवक्ता ढकालले जानकारी दिए।
विभागको प्राविधिक टोलीले राजधानीको कलंकी, बल्खु, थानकोट, बालाजु, टुकुचा र लगनखेलको खसी बजारमा स्वास्थ्य परीक्षण सुरू गरेको छ। कलंकीबाट अन्य ठाउँमा लगिने खसी-बोकाको स्वास्थ्यमा विशेष ध्यान दिइएको उनले बताए।