लकडाउन बेला काम नभएपछि घर फर्किएका सौराहास्थित होटल मोनालिसाका अधिकांश कर्मचारी अहिले काममा फर्किएका छन्। फर्कन बाँकी केही कर्मचारी मंसिर पहिलो साताभित्रै हाजिर हुँदैछन्।
नेकपा एमालेले दसौं महाधिवेशनको बन्दसत्र गर्न लागेको होटल सेभेन स्टारको आडैमा छ होटल मोनालिसा। महाधिवेशनका लागि आउने पाहुनालाई स्तरीय सेवा दिन सकियोस् भनेर सबै कर्मचारीलाई काममा बोलाएको सञ्चालक केशव खनालले बताए।
‘४२ जनाले काम गर्दै आएकोमा लकडाउनपछि एकतिहाइ कर्मचारी मात्र राख्न बाध्य भयौं। दसैंयता पर्यटकको चहलपहल बढ्दै गएपछि आवश्यकताअनुसार कर्मचारी थप्दै लगेका थियौं,’ खनालले भने, ‘अहिले ३६ जना कर्मचारीले काम गरिरहेकामा केही दिनमा बाँकी ६ जना पनि फर्कंदैछन्।’
खनालले होटलको पुरानो बुकिङ रद्द गरेर अधिकांश कोठा महाधिवेशनमा सहभागी हुनेका लागि छुट्टयाएको बताए। ४७ वटा कोठा रहेको यस होटलमा १ सय ५० जनासम्म बस्न मिल्छ।
‘पाहुनालाई असहज नहोस् भनेर हामीले अहिलेदेखि नै तयारी गरिरहेका छौं,’ उनले भने, ‘आवश्यक पर्ने सामानहरू स्टक राख्न थालेका छौं।’
सौराहामा करिब सवा सय होटल र सयभन्दा बढी रेस्टुरेन्ट छन्। पर्यटकको चहलपहल सुरू भएपछि अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। नेकपा एमालेको महाधिवेशनलाई लक्ष्य गरेर होटल सञ्चालकले आफ्ना कर्मचारी फिर्ता बोलाएका छन्। कतिपयले होटल मर्मतसम्भार गर्न र सजाउन थालेका छन्।
लकडाउनअघि यहाँका रेस्टुरेन्टमा मात्रै एक हजारभन्दा बढी कामदार थिए। कोरोना महामारीका कारण करिब ८ सय जना विस्थापित भए। बाँकीलाई सञ्चालकले रेस्टुरेन्ट कुर्न राखेका थिए।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा 'दिपक' ले पर्यटक बढ्न थालेपछि अधिकांश कर्मचारी फिर्ता भएको बताए।
‘महाधिवेशनको समयमा अझ व्यस्त हुने भएकाले कर्मचारी थप्नेदेखि आवश्यक तयारी गर्ने क्रम चलिरहेको छ,’ उनले भने, ‘हामी सौराहाका व्यवसायी महाधिवेशनमा आउने पाहुनालाई सन्तुष्ट बनाएर पठाउन चाहन्छौं, ताकि उहाँहरूका कारण सौराहाको पर्यटनमा थप प्रगति होस्।’
नेकपा एमालेले महाधिवेशन आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्टाउन क्षेत्रीय होटल संघ सौराहासँग सम्झौता गरिसकेको छ। उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ।
यहाँका होटल व्यवसायीहरूको आकलनमा महाधिवेशन अवधि मंसिर १० देखि १२ सम्म एमालेसम्बद्ध करिब ७ हजार जना सौराहामा रहने छन्। सौराहाका होटलको क्षमता भने करिब ६ हजार ५ सय जनालाई राख्न सक्ने छ।
महाधिवेशनका लागि आउने कतिपय एमाले कार्यकर्ताले सौराहामा कोठा नपाएपछि रत्ननगर र भरतपुरका होटलमा पनि कोठा बुक गरेका छन्। सौराहामा अहिले दैनिक करिब एक हजार पर्यटक पुग्ने गरेका छन्।
यसरी सबै होटल तथा रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन भएपछि महाधिवेशनको समय अवधिभित्र सौराहामा ५ करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको खतिवडाले बताए। त्यसमध्ये १ करोड ६० लाख रूपैयाँभन्दा बढी कोठा खर्च मात्र एमालेले सौराहामा बुझाउँदैछ।
‘त्यो समय खाना, मासु, तरकारी, खाजा, मदिरा, पेय पदार्थ लगायतको बिक्री बढ्छ, सबै व्यवसायीले त्यसका लागि तयारी गरिरहनुभएको छ,’ उनले भने।
अहिले दैनिक ३ हजार क्वीन्टलसम्म मासु खपत हुने गरेको सौराहामा महाधिवेशनको समयमा १७ हजार क्वीन्टलसम्म खपत हुने अनुमान व्यवसायीको छ। अन्डा, तरकारीको खपत पनि ६ गुना बढ्ने अनुमान रहेको रेस्टुरेन्ट व्यवसायीहरूले बताए।
‘एमाले महाधिवेशनका लागि भनेर बियर र विदेशी मदिरा पनि मगाएको छु,’ एक रेस्टुरेन्ट व्यवसायीले भने, ‘महाधिवेशनमा भोट भइहाल्ला, चुनावमा बिक्ने भनेको रक्सी र मासु नै त हो।’
उनले लामो समयदेखि सुख्खा लागेको व्यवसायमा नयाँ आशा पलाएको बताए।
सौराहामा मदिरा तथा पेय पदार्थ बिक्री गर्दै आएको सन्तोष प्रोभिजनल स्टोर्सका सञ्चालक सन्तोष पुरीले सामान्य अवस्थामा सवा लाख रूपैयाँसम्मको मदिरा बिक्री गर्ने गरेका थिए। शुक्रबार र शनिबार पर्यटक बढी आउने भएकाले करिब ३ लाख रूपैयाँसम्मको मदिरा बिक्री हुन्थ्यो।
‘महाधिवेशनमा एकैचोटि धेरै मान्छे आउने भएकाले कारोबार बढ्ने देखिन्छ। त्यहीअनुसार मदिरा स्टक गर्दैछु,’ पुरीले भने।
उनले सौराहामा वार्षिक ४ करोड रूपैयाँसम्मको मदिरा तथा पेय पदार्थ बिक्री गर्दै आएका छन्। करिब ५० प्रतिशत बियर र बाँकी एटएटफोरएट, वल्ड दरबार, सिग्नेचर बिक्री हुने गरेको उनले बताए।
‘जाडो सिजन लागेकाले अब खुकुरी रमको माग बढ्न थालेको छ,’ उनले भने, ‘महाधिवेशन बेला बियर, रम, एटएटफोरएट, वल्ड दरबार र सिग्नेचर बढी बिक्री हुने अनुमान छ।’
जाडो सुरू भएकाले कोक, फ्यान्टा, स्प्राइटजस्ता पेय पदार्थको बिक्री खासै नहुने उनी बताउँछन्।
सौराहामा करिब आधा दर्जन सप्लायर्स तथा डिलरले मदिरा बिक्री गर्छन्। दर्जनभन्दा बढी खुद्रा बिक्रेता छन्। महाधिवेशन क्रममा सौराहामा एक करोड रूपैयाँभन्दा बढीको मदिरा बिक्री हुने अनुमान व्यापारीहरूको छ।
सौराहाका व्यवसायी पूर्ण रिजालले लामो समय व्यापार बन्द हुँदा घाटामा गएका व्यवसायी एमालेले महाधिवेशन यहाँ गर्न लागेका कारण खुसी भएको बताए।
‘मेरै पनि लामो समयदेखि स्टक रहेका मदिराहरू महाधिवेशनमा खपत होलान्, कोहीले त्यो तीन दिनमा मनग्य व्यापार पनि गर्लान् तर यसलाई एउटा पार्टीको महाधिवेशनका रूपमा मात्र बुझ्न भएन, यहाँ आउने पाहुनामार्फत् सकारात्मक सन्देश प्रवाह गर्ने तरिकाले हामी लाग्नुपर्छ,’ उनले भने, ‘सौराहालाई लामो समयसम्म फाइदा हुँदैछ।’
होटल जंगल क्राउनका प्रबन्धक सन्तोष गिरीले सौराहामा यति ठूलो बुकिङ यसअघि कहिल्यै नभएको बताए।
‘कोरोना महामारीअघि नयाँ वर्षको समयमा होटलहरू भरिभराउ हुने गरेका भए पनि त्यो एक दिनलाई मात्र हुन्थ्यो। शुक्रबार, शनिबार पर्यटकको चहलपहल बढ्थ्यो तर महाधिवेशनका कारण करिब एक सातासम्म सौराहा भरिँदैछ,’ उनले भने, ‘यस्तो यहाँ कहिल्यै भएको थिएन, हामी उत्साहित छौं। बन्द हुँदा लागेको घाटामा थोरै भए पनि मह्लम लाग्दैछ।’
उनले मंसिर ९ पछि केही समयका लागि सबै कोठा बुकिङ भइसकेका कारण कोठा चाहियो भनेर आउनेलाई फर्काउनुपरेको बताए।
पार्क सफारी रिसोर्ट सौराहाका सञ्चालक महेश खनालले एमाले महाधिवेशन अवधिका लागि होटलमा नयाँ बुकिङ बन्द गरेको बताए। राष्ट्रिय स्तरको पार्टी महाधिवेशन हुँदै गरेको र उक्त पार्टीका हजारौं कार्यकर्तालाई सौराहाले स्वागत गर्नुपर्ने भएकाले त्यसैमा केन्द्रित भएको उनको भनाइ छ।
‘यो हाम्रो लागि राम्रो कुरा हो। यो महाधिवेशनको चहलपहलले अब कोभिडको डर छैन, पर्यटन क्षेत्र सबैका लागि खुल्यो भन्ने सन्देश जानेछ,’ खनालले भने, ‘मान्छेहरूको घुम्ने क्रम त्यसपछि झन् बढेर जान्छ भन्ने हाम्रो अपेक्षा छ।’