काठमाडौंको ठमेलमा सपिङ सेन्टरसहितको बुटिक होटल खुल्ने भएको छ। उद्यमी तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको लगानीमा उक्त होटल खुल्ने भएको हो।
दस आना जग्गामा फैलिएको यो होटलको नाम ठमेल ट्रेड सेन्टर एन्ड बुटिक होटल राखिएको छ। जमिनको १६ मिटर गहिराइसम्म पिलर राखेर निर्माण गरिएकाले यो भवन भूकम्प प्रतिरोधी भएको मल्लले बताए।
दुई वर्षदेखि निर्माणाधीन होटल अब करिब छ महिनामा पूरा हुने मल्ल बताउँछन्।
'भवन पूरा भइसक्यो। भित्रि इन्टेरियर डिजाइन बाँकी छ,' उनले भने, ' अब छ महिनामा सबै काम पूरा हुन्छ।'
मल्लका अनुसार ०७६ असारदेखि होटल बनाउन सुरू गरिएको थियो। त्यसको चार-पाँच महिनापछि कोभिडले गर्दा होटलको काम रोकियो। विस्तारै परिस्थिति सहज भएपछि होटल निर्माणले निरन्तरता पाएको हो।
होटल बेसमेन्टसहित नौ तलाको हुनेछ। बेसमेन्टदेखि पहिलो तलासम्म सपिङ मल र बाँकी छ तलामा होटल रहने गरी डिजाइन गरिएको छ।
सपिङ मलका लागि १८ र होटलका लागि ४२ वटा कोठा छन्। माथि टपमा भने रेस्टुरेन्ट र बार राखिने उनले जानकारी दिए।
'सपिङ गर्न आउने ग्राहकले माथि टपमा बसेर काठमाडौंको दृश्य हेर्दै खाजा तथा खाना खान सक्छन्,' उनले भने।
राति ठमेल घुम्ने ग्राहकले बाहिरबाटै मलमा राखिएका सामान देख्न सकून् भन्ने उद्देश्यले पारदर्शी सिसा प्रयोग गरिएको मल्लले बताए। होटल भने झ्यालै-झ्याल भएको डिजाइनमा बन्नेछ।
होटल सानो भए पनि यहाँ पाँचतारे होटलको सुविधा पाइने दावी मल्ल गर्छन्।
'ठूला पार्किङ, स्वीमिङ पुल नहोला तर अन्य सुविधामा कुनै फरक पर्दैन,' उनले भने, 'खानाको गुणस्तर, सरसफाइदेखि सबै पाँचतारे स्तरकै हुन्छ।'
त्यसो त मल्ल होटल चल्नेमा पनि विश्वस्त छन्।
उनी भन्छन्, 'ठूला होटलमा बस्ने ग्राहक पनि एकपटक ठमेल आउँछन् नै। नचल्ने भन्ने त कुरै छैन।'
मलका १८ मध्ये चार वटा कोठा बुक भइसकेको पनि उनले जानकारी दिए। ती व्यापारीबाट हस्तकलाका सामग्री राख्ने, कफी सप राख्ने योजना आएको उनले बताए।
स्वदेशी तथा विदेशी दुवै होटलका लक्षित ग्राहक हुन्। स्वदेशी ग्राहकका लागि केही विशेष सुविधा राख्ने मल्लको योजना छ।
विदेशतिर सपिङ मलसहितका होटल धेरै भएकाले सोही किसिमले डिजाइन गरिएको उनको भनाइ छ।
यो किसिमको व्यवसाय चलाउन सहज हुने पनि उनी बताउँछन्।
'होटल सधैं चल्छ भन्ने हुँदैन। सपिङ मलबाट व्यवसाय टिकाउन सकिन्छ,' उनले यसको फाइदाबारे बताए।
बैंकिङ, इन्स्योरेन्स, इञ्जिनियरिङ कलेज, इँटा, टायल उद्योगदेखि इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरेका मल्लको पर्यटन क्षेत्रमा लगानी पहिलो अनुभव हो।
उनी भन्छन्, 'पर्यटनमा लगानी गर्ने पहिलेदेखिको योजना थियो। बल्ल पूरा हुने भयो।'
मल्लले ठमेलमा तीन वर्षअघि पुराना घर किनेका थिए। त्यसैलाई भत्काएर होटल बनाउन लागेका हुन्। होटलको लागत अनुमान तीसदेखि चालीस करोड रूपैयाँ छ। होटलको लगानीमा उनलाई थप दुई साथीले सघाएका छन्।
'जग्गामा ऋण छैन। होटल बनाउन बैंकबाट १५ करोड झिकेका छौं,' उनले भने।
कोभिडका कारण समयमै होटल सञ्चालन गर्न नपाउँदा लागत बढेको छ।
'निर्माणकै क्रममा बीचमा डन्डीको मूल्य बढ्यो। बैंक ब्याज सबै जोड्ने हो हामीले सोचेभन्दा १२ देखि १५ प्रतिशतले वृद्धि भएको छ,' उनले भने।
बैंकबाट लिएको ऋण १५ वर्षमा भित्रमा तिरिसक्नुपर्छ। कोभिडका कारण समस्या भएकाले अवधि दुई वर्ष थपिदिन आग्रह उनले गरेका छन्।
कोरोनापछि शिथिल भएको पर्यटन व्यवसाय उकास्न सरकारले सहयोग गर्नुपर्ने मल्ल बताउँछन्। त्यस्तै काठमाडौंलाई विद्युतीकरण गर्नमा जोड दिनुपर्ने उनको भनाइ छ।
'काठमाडौं सफा राख्नुपर्छ। वातावरण प्रदूषण हुने कुनै पनि वस्तु यस क्षेत्रमा चल्न दिन हुँदैन,' उनले भने, 'हामीले नेपाललाई अझै प्रचारप्रचार गर्नुपर्छ। अहिले पनि नेपाल कोभिडको रातो सूचीमा छ, त्यसलाई हरियोमा झार्नुपर्छ।'
ठमेलको यो बुटिक होटलसँगै मल्ल जर्सिङपौवामा एग्रो होटल खोल्ने योजनामा छन्।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी