प्रेसर कुकर भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ?
भात, दाल, तरकारी पकाउने एउटा भाँडो।
हामीमध्ये धेरैले प्रेसर कुकरमा दैनिक यिनै कुरा पकाउँछौं। गुल्मीका विष्णु पाण्डेले भने कुकरलाई दाल, भात तरकारी पकाउने भाँडोमात्र देखेनन्। त्यसमा कफी उमाल्ने र त्यसैलाई व्यवसाय बनाउने निर्णय गरे।
विष्णुले विदेश काम गर्न जाँदा पहिलो पटक कुकरबाट कफी बनाएको देखेका थिए।
उनले देखेको त्यही कुरा नेपालमा पनि लागू गर्न खोजे। बजारमा पाइने सामान्य प्रेसर कुकरलाई आफूले चाहेजस्तो गरी मोडिफाई गरीदिन उनले एक जना इन्जिनियरलाई भने। पाँच वर्षअघि बुटवलमा कुकर कफी सुरू गरे।
विष्णुले बुटवलमा सुरू गरेको कुकर कफीलाई उनका दुई भाइले काठमाडौं ल्याइपुर्याएका छन्।
सिनामंगल चोकबाट केएमसी अस्पतालतर्फ जाँदा सय मिटरपूर्व बाँयापट्टी पाण्डे तन्दुरी एण्ड खाना घर छ।
अचेल यो होटलको परिचय बदलिएको छ। धेरै ग्राहकले यो होटललाई ‘कुकर कफी पसल’ भन्छन्। होटल अगाडिको बोर्डमा लेखिएको छ, ‘पिउँ हजुर, गुल्मीको मीठो कुकर कफी।’
बुटवलमा विष्णुको कुकर कफीले नाम र दाम कमाउन थालेपछि भाइहरू यादव र प्रकाशलाई पनि काठमाडौंको सिनामंगलको आफ्नो होटलमा कुकर कफी सुरू गर्न मन लाग्यो।
‘सफल होला वा नहोला एक पटक प्रयोग त गरौं भन्ने लाग्यो’ यादवप्रसादले सेतोपाटीसगँ भने।
त्यसपछि गत तिहारलगत्तै सिनामंगलमा पनि सुरू भयो, ‘कुकर कफी’।
कुकर कफी देखेर सुरूसुरूमा ग्राहकहरू के गरेको भनेर अचम्ममा परे। ‘कफी खान खोज्नेहरू पनि महंगो पो होला कि भनेर हिच्किचाउनुभयो,’ यादवप्रसादले भने, ‘पछि कुकर कफी, कपको ५० रूपैयाँमात्र लेखेर टाँसेपछि ग्राहक बढ्न थाले।’
पकाउने तरिका नयाँ र स्वाद पनि मिठो भएपछि कुकर कफी खानेको भीड बढ्दै गयो।
‘कफीको मूल्य सस्तो छ भन्ने थाहा पाएपछि अन्त गएर चिया खाने मान्छे पनि यहाँ दश/बीस रूपैयाँ बढी तिरेर कफी खान थाले,’ प्रकाशले भने।
एक पटक कुकर कफी चाखेकाले साथीलाई सुनाए। ‘माउथ पब्लिसिटी’ बढ्दै गयो।
‘कफी पनि गुल्मीकै प्रयोग गर्छौं,’ यादवले सेतोपाटीसँग भने, ‘यो कफीको हामीले प्रचार गर्ने परेन। बरू पहिलो पटक आउनेले अर्को पटक आउँदा चारजना साथी लिएर आउनुभयो।’
कुकर कफीका पारखी कति छन् भने एक जना ग्राहक कफी पिउन कलंकीबाट सिनामंगल पुग्छन्।
‘कलंकीमा घर भएर जमलमा काम गर्ने मान्छे पनि कफी खानकै लागि सिनामंगल आउनुहुँदो रहेछ। त्यस्ता ग्राहक बन्द गर्ने बेलामा आए पनि फिर्ता पठाउन मनले मान्दैन। दुध सकिए पनि किनेर ल्याएर बनाइदिन्छौं,’ प्रकाशले भने।
नाफा कमाउन भने यो कफी दैनिक बीस-तीस कप बचेर पुग्दैन।
‘आगो चाहिन्छ, अरू खर्च पनि धेरै छ त्यसैले नाफाको लागि कम्तीमा ५० कप बेच्नुपर्छ,’ उनले भने।
कुकर कफी बनाउन अरू कफी बनाएजस्तो सजिलो छैन।
‘सुरूमा कुकरमा कफी मसला तयार पार्नुपर्यो। कुकरको सिठ्ठी लागेपछि जगमा हालिएको कफी, दुध र चिनीलाई कुकरबाट आएको मसलाको बाफमा उमाल्नुपर्यो,’ यादवप्रसादले कफी पकाउने तरिका सुनाए।
कुकर कफीकै कारणले अहिले उनीहरूको होटलको व्यापार बढेको छ। कुकर कफीले होटलको व्यापार पहिलेभन्दा २५ प्रतिशत बढाएको प्रकाशले बताए।
‘चियो याममा सय कप बिक्री हुन्छ,’ प्रकाशले भने, ‘अझ कतै पार्टीहरू परेको बेलामा ४ सयदेखि ५ सय कप पुग्छ।’
ग्राहकहरू कफी अर्डर गर्छन र कफी पकाएको हेरेर पनि बस्छन्।
‘सुरूमा म आफैं छक्क परेको थिएँ, कुकर कफी देखेर। ग्राहक अचम्म पर्नु त स्वभाविक नै भयो,’ यादवले भने।
कुकर कफीको लोकप्रियता बढे पनि कुकर बनाउन भने धेरैले नमान्ने रहेछन्। कफी पकाउन सामान्य कुकरलाई मोडिफाई गर्नुपर्छ।
‘कुकुर पड्कने डर र सामान नपाउने हुँदा कसैले मोडिफाई गर्नै मान्दैनन्। बुटवल र काठमाडौंमा यस्ता कुकर चार वटामात्र छन्,’ प्रकाशले भने, ‘यस्तो कुकर बनाउन हतपत कसैले मान्दैन। धेरै मेहनत चाहिन्छ। कुकर पाइए यसलाई ब्राण्ड बनाउने मन छ।’
(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७५ फागुन २० गते प्रकाशित थियो।)