युनाइटेड सिमेन्ट कम्पनीले आगामी वर्षदेखि दैनिक एक हजार पाँच सय टन सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ। बजारमा आफ्नो सिमेन्टको माग बढेकाले उत्पादन बढाउने योजना बनाएको कम्पनीका बजार प्रमुख सुवास खतिवडाले बताए।
'उत्पादन जति भयो त्यहीअनुसार बजार हिस्सा बढ्ने भएकाले उत्पादन बढाउने योजनामा छौं,' उनले भने।
खतिवडाका अनुसार कम्पनीले चुनढुंगा खानी विस्तार गरेर सोहीअनुरूप सिमेन्ट उत्पादन प्लान्ट थप्ने पनि योजना बनाएको छ।
२०७२ सालमा धादिङ धुनेबेसी नगरपालिका–९ मा प्लान्ट जडान गरेर सिमेन्ट उत्पादन सुरू गरेको कम्पनीले हाल दैनिक बढीमा एक हजार दुई सय टन उत्पादन गर्दै आएको छ।
घराना व्यवसायी केएल दुगर ग्रुपको छ अर्ब रूपैयाँ एकल लगानीमा यो उद्योग स्थापना भएको हो। केएल दुगर खाद्यान्न उत्पादनमा परिचित समूह हो। यसले धारा तोरी तेल, ज्ञान चक्की आँटा लगायतका वस्तु उत्पादन गर्दै आएको छ।
सुरूआती चरणमा दैनिक ६ सय टन सिमेन्ट उत्पादन गरेको कम्पनीले हालसम्म आइपुग्दा दोब्बर उत्पादन गरिरहेको छ। आगामी वर्षदेखि दैनिक तीन सय टन बढाएर एक हजार पाँच सय टन सिमेन्ट उत्पादन गर्ने योजना उद्योगको हो।
खतिवडाका अनुसार कम्पनीको चुनढुंगा खानी ललितपुरको लेलेमा छ। सिमेन्ट माग नभएको र आफूलाई बढी भएको समयमा कम्पनीले अन्य सिमेन्ट उत्पादक उद्योलाई क्लिंकर बेच्ने गरेको छ।
कम्पनीले रोटरी क्लिन प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ। सिमेन्ट निक्लेपछि साइलो (सिमेन्ट राख्ने गोदाम) मा राखेर बजार माग अनुसार बोरामा प्याक गरेर पठाइने उनले बताए।
कम्पनीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ।
सुरूमा ओपिसी मात्रै उत्पादन गरेको कम्पनीले दुई वर्षअघिबाट पिपिसी उत्पादन गर्न थालेको हो। ओपिसी युनाइटेड ब्रान्डमा उपलब्ध छ भने पिपिसी राजधानी ब्रान्डमा पाइन्छ। राजधानी काठमाडौंबाट नजिक युनाइटेडको मात्रै प्लान्ट रहेकाले राजधानी नाम राखिएको उनले जानकारी दिए।
नाम जस्तै ओपिसी र पिपिसीको विशेषता पनि फरक हुन्छ।
ओपिसी निर्माणमा छिटो सेट हुने सिमेन्ट हो। जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ।
पिपिसी ओपिसीभन्दा मसिनो हुन्छ। यो ओपिसीभन्दा तुलनात्मक रूपमा सस्तो पनि हुन्छ। तर सस्तो हुनुको मतलब कमसल हुनु भने होइन। पिपिसी हतार नगरी निर्माण सम्पन्न गर्ने, लामो समय पानी राख्न सकिने (क्युरिङ) निर्माणमा प्रयोग गर्न सकिन्छ। पिपिसीको पनि ढलान गरी निर्माण बन्न सक्छ।
तर पर्खाल वा गारोको मसला, प्लास्टर, भुइँ ढलान आदिमा लामो समय पानी राख्न सकिन्छ। त्यसैले यस्ता ठाउँमा पिपिसीको उपयोगिता धेरै हुन्छ।
हाल बजारमा ओपिसी प्रतिबोरा सात सय ५० देखि सात सय ७० रूपैयाँ छ भने पिपिसी ६ सय २० देखि ६ सय ४० रूपैयाँ छ। यो ५० किलोको बोरामा पाइन्छ। बजारमा पिपिसीको भन्दा ओपिसीको माग बढी छ। युनाइटेडले पनि कुल उत्पादनको ८० प्रतिशत ओपिसी नै उत्पादन गरिरहेको छ।
कम्पनीको ८० प्रतिशत उत्पादन काठमाडौंमा बिक्री हुन्छ। यसबाहेक धादिङ, नुवाकोट, चितवन, पोखरा, दोलखा, सिन्धुली लगायत बागमती प्रदेशभर बिक्री हुने खतिवडा बताउँछन्।
युनाइटेडले करिब चार सय पचास डिलरमार्फत् आफ्नो सिमेन्ट बेचिरहेको छ। उनका अनुसार कम्पनीको वार्षिक कारोबार ३ अर्बको छ। त्यस्तै कम्पनीमा प्रत्यक्ष रूपमा दुई सयले रोजगारी पाएका छन्।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले धेरै उद्योगमा असर पारेको छ।
यसबारे खतिवडा भन्छन्, 'असरै नगरेको त होइन, तर अरू उद्योगजस्तो सिमेन्टलाई समस्या परेन। कोभिडमा हामीले उत्पादनै गरेनौं। अन्य खर्च भने यथावत नै रह्यो। तर बन्द सुरू भएको दुई महिनापछि नै उत्पादन गरेर बजारमा पठाउन थालेका थियौं।'
युनाइटेड ओपिसी सिमेन्ट ५३ र ४३ ग्रेडको उत्पादन हुँदै आएको छ। घर बनाउन लगायत सडक, हाइड्रो आयोजनाहरूमा युनाइटेड सिमेन्ट प्रयोग हुने उनले बताए।
पछिल्ला केही वर्षमा धेरै सिमेन्ट उद्योग आए पनि माग भने नबढेको उनको अनुभव छ। सिमेन्ट कम्पनीमै करिब दस वर्षको काम अनुभव भएका उनले भने, 'यही क्रममा उद्योग बढ्ने हो र बजार सिर्जना नहुने हो भने साना क्षमताका पलायन हुन्छन्।'
स्वदेशी लगानीसँगै सिमेन्टमा विदेशी लगानी पनि भित्रिएको छ। होङ्सी र हुवासिन सिमेन्टमा विदेशी लगानीमा सञ्चालित हुन्। होङ्सी उत्पादन बढाउने तयारीमा छ भने हुवासिन आफ्नो उत्पादन बजारमा पठाउने तयारीमा छ। ठूला लगानीका उद्योग आउँदा साना लगानीका उद्योगलाई कस्तो असर पार्छ?
खतिवडा भन्छन्, 'ठूला उद्योग आउँदा प्रतिस्पर्धा धेरै हुन्छ, सिमेन्टको मूल्य घट्छ।'
सबै वस्तुको मूल्य बढ्दै गएकामा अहिले सिमेन्ट भाउ भने घटेको उनले बताए। चार/पाँच वर्षअघिसम्म सिमेन्ट प्रतिबोरा एक हजार रूपैयाँ थियो, अहिले घटेर सात/आठ सयमा आएको छ। सिमेन्टको अहिलेको बजार हेर्दा यसम थप विदेशी लगानी नचाहिने उनी बताउँछन्।
'अहिलेकै परिस्थितिमा विदेशी लगानी आउनु ठीक छैन। तर सरकारको योजनाअनुसार राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुने हो भने विदेशी लगानी आउनु ठीकै हो।'
ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न युनाइटेडले गुणस्तर कायम राखेरै उत्पादन लागत घटाउनेबारे अध्ययन पनि गरिरहेको छ। प्लान्ट राजधानीबाट नजिक भएकाले प्रतिस्पर्धा गर्न सहज हुने विश्वास कम्पनीको छ।
खतिवडाका अनुसार उत्पादन क्षमता, गुणस्तर, डिलर नेटवर्किङ, मार्केटिङ तथा समूहको मेहनतकै कारण युनाइटेड छोटो समयमै बजारमा परिचित भएको हो।
'हाम्रो सिमेन्टको गुणस्तर राम्रो छ। हामी पहिला चुनढुंगा परीक्षण गर्छौं, त्यसपछि क्लिंकर र सिमेन्ट परीक्षण हुन्छ। म्याग्नेसियम अक्साइड कम भएकाले हाम्रो क्लिंकरको माग पनि धेरै छ,' खतिवडाले दावी गरे, 'हामीले गुणस्तरमै प्रतिस्पर्धा गर्ने हो। कमसल सिमेन्ट भए त हामी बजारबाटै हराउँछौं। त्यो भनेको लगानी डुब्नु हो। लगानी डुबाउन कसलाई मन हुन्छ र।