महिला उद्यमी
ललितपुर, थैब चोकबाट देब्रेलागेर केही मिटर पर गएपछि तीनतले घरबाहिर एउटा बोर्डमा लेखिएको छ- आमा हस्तकला उद्योग।
घरको पहिलो तलाका कोठाभरि सजिएका छन् रंगीबिरंगी सामान। यी सामान ४० वर्ष कटेका आमाहरूले बनाएका हुन्।
मकैका खोस्टाबाट बनेका टेबल म्याट, चिया म्याट, गुडिया, किरिङ, फूल, प्यान्ट, अल्लो–गाँजाका जुत्ता, चप्पल, नेपाली कागजबाट गहना (झुम्का, माला, ब्यान्ड) देखि कटनका पार्टी ब्याग, फोनका खोलसम्म यहाँ पाइन्छ। स्कुल जाँदा बोक्ने र ल्यापटप हाल्ने झोला पनि उनीहरूले बनाइरहेका छन्।
यी सामान मात्र होइन, आमाहरूले ग्राहकको मागअनुसार अचार, फुरन्दाना, निम्की जस्ता खानेकुरा पनि बनाउँछन्। अनि लुगा धुने डल्लो र झोल साबुन पनि आमाहरूकै सीपले बन्छ।
विभिन्न सीप भएका पाँच जना आमाहरू मिलेर यी सामान बनाउँछन्।
'पहिले हामी एक्लाएक्लै यी सामान बनाउँथ्यौं, अहिले समूहमा गर्न थालेका छौं,' आमा हस्तकला उद्योगकी अध्यक्ष तारा थापाले भनिन्, 'हामीमा भएको छुट्टाछुट्टै सीप अहिले एकअर्कालाई सिकाउँदै अघि बढेका छौं।'
समूहमा कसैले नजानेको सामानको माग आयो भने पहिला उनीहरू आफैं सिक्न जान्छन्। अनि पछि ग्राहकले माग गरेको सामान बनाइदिन्छन्।
उनीहरू आफूले उत्पादन गरेको सामान बेच्न कसैको मुख ताक्दैनन्, आफैं बजार-बजार डुल्छन्।
विशेषगरी जुत्ताको नमूना बोकेर पसलहरूमा जानेको गरेको थापाले जानकारी दिइन्।
'हामीले यस्तो जुत्ता बनाउँछौं, हामीसँग किन्नुस् न भन्छौं,' उनले काम गर्दाको अनुभव सुनाइन्, 'कतिले राख्छन्, कतिले पछि फोन गर्छौं भन्छन्।'
उनका अनुसार दोस्रो लकडाउनताका अनलाइन व्यापारीहरूलाई उनीहरूले जुत्ता बेचेका थिए। साथीभाइका चिनजानका आधारमा उनीहरूले उत्पादन गरेको जुत्ता विदेशमा समेत पुगेको छ।
यी आमाहरूले आफूले सिकेको सीप आफैंमा सीमित राखेका छैनन्, अरूलाई सिकाउँछन् पनि। तालिमका लागि उनीहरूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सघाएको छ।
उनीहरू केन्द्रले पठाएको जिल्लामा तालिम दिन जान्छन्। त्यस्तै अहिले विभिन्न संघ–संस्थाले पनि तालिमका लागि बोलाउने गरको थापाले जानकारी दिइन्। तालिम दिएका व्यक्तिहरूले उत्पादन गरेको सामान पनि बजार नपाए उद्योगले नै किनिदिन्छ।
'बजार पाएनन् भने हामी किनिदिन्छौं। धेरैले त आफैं पसल खोलेका छन्। त्यो देख्दा खुसी लाग्छ,' थापाले भनिन्।
थापाका अनुसार पछिल्लो समय उद्योगले धेरै मात्रामा मकैको खोस्टाको फूल र जुत्ता–चप्पल बेचिरहेका छन्। मायाको चिनो दिन, विवाहमा घर तथा गाडी सजावटमा मकैका खोस्टाको फूलको प्रयोग हुने गरेको उनी बताउँछिन्।
उनीहरूले खोस्टाको फूलको बजारका लागि फूल-पसल, होटल, ठूला कर्पोरेट हाउसहरूमा सम्पर्क गर्छन्। यस्ता फूल पाहुनालाई बुकेका रूपमा पनि दिन थालिएको छ।
'हस्तकला मेला उद्घाटनमा महासंघले हामीले बनाएको फूल प्रधानमन्त्रीज्यूलाई दिनुभएको थियो,' उनले खुसी हुँदै सुनाइन्, 'उहाँले खोस्टाबाट पनि कति राम्रो फूल बनाको भनेर प्रशंसा गर्नुभयो।'
खोस्टाको फूलको प्रमुख विशेषता हो– यो ओइलाउँदैन, वर्षौं टिक्छ।
'खोस्टामा रङ लगाएकाले कहिलेकाहीँ घाममा भने राखिदिनुपर्छ। त्यसपछि केही हुँदैन,' थापाले भनिन्।
फूलका लागि आवश्यक खोस्टा गाउँघरतिरबाट मगाउने गरेका छन्। सादा खोस्टालाई उद्योगमै आवश्यकता अनुसार रङ गरिन्छ। सरकारीदेखि निजी कार्यक्रमहरूमा अहिले आमा हस्तकलाले बनाएका फूल प्रयोग भइरहेको उनको भनाइ छ।
आफूहरूले बनाएको सामान नयाँ डिजाइन र गुणस्तरीय भएकाले बजारमा छोटो समयमै परिचित भएको अध्यक्ष थापा बताउँछिन्।
आमा हस्तकला उद्योग सञ्चालनमा आएको साढे दुई वर्ष मात्र भयो। छुट्टाछुट्टै भन्दा समूहमा काम गर्दा सहज हुने भएकाले उद्योग स्थापना गरेको उनले बताइन्। उद्योगमा पाँच जनाले प्रतिव्यक्ति एक/एक लाख रूपैयाँ गरी पाँच लाख लगानी गरेका छन्।
उद्योग खुलेको एक वर्ष पनि नहुँदै कोरोना लकडाउन हुँदा सोचेजति आम्दानी भने गर्न सकेको छैन। स्थापनाको सुरूआतमा उनीहरूले आफ्नो पसल पुल्चोकमा राखेका थिए। लकडाउनमा आठ महिना बन्द भएपछि थैबमा सारेका हुन्।
'लकडाउन बेला एक रूपैयाँ पनि भाडा छुट भएन,' उनले दुखी हुँदै भनिन्, 'उल्टो पानी र बिजुलीको पनि बिल जोडिदिए। त्यसपछि हामी यता सर्यौं।'
लकडाउनमा पसल बन्द भए पनि उनीहरूको काम रोकिएको थिएन। बजार खुलेपछि बेच्न सहज हुन्छ भनेर लकडाउनमा घर बसेर सामान बनाउँथे उनीहरू।
'बेहुलीले लाउने धेरै जुत्ता बनाएका थियौं, अहिले सबै बिकिसक्यो,' थापाले भनिन्।
अझै पनि परिस्थिति सहज नभइसकेकाले उनीहरू ग्राहकको मागअनुसार मात्रै सामान उत्पादन गर्छन्।
'हामी चिनजानका मान्छेसँग सम्पर्क गर्छौं। उनीहरूको मागअनुसार मात्र सामान बनाइरहेका छौं,' थापाले भनिन्। यति माग धान्न उनीहरूले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।
उद्योगले सञ्चालनको सुरूआतमै भएकाले कारोबारको लेखाजोखा राखेको छैन। तर सामान बिक्री गरेको पैसा सामानमै लगानी गरिरहेको थापा बताउँछिन्।
'यति नै रूपैयाँको बेच्यौं भन्ने हिसाब त राखेका छैनौं। हामीले नाफा भनेर महिनैपिच्छे पनि बाँडेका छैनौं,' उनले भनिन्, 'बेचेको पैसाले सामानै थप्छौं। तर आफूले काम थालेपछि घरमा पैसा माग्नुपरेको चाहिँ छैन।'
उनका अनुसार उद्योगबाट भएको आम्दानीको तीन प्रतिशत बालबालिका तथा वृद्धाश्रममा खर्चिने गरिएको छ। नाफा कमाउनेभन्दा पनि आफूले सिकेको सीप अरूलाई सिकाउनु उनीहरूको मुख्य उद्देश्य हो।
'हामीलाई आफैं बेचूँ भन्ने पनि छैन। हाम्रो ट्याग लगाएर अरूलाई बेच्न पनि दिन्छौं,' उनले भनिन्।
अहिले उनीहरूले गोदावरी नगरपालिकाका दुइटा वडामा मकैको खोस्टाबाट फूल बनाउने तालिम निःशुल्क दिएका छन्। त्यसैगरी सबै वडामा आफूले जानेको सीप निःशुल्क सिकाउँदै जाने थापाले बताइन्।
आफ्नो मेहनत र परिवारको सहयोगले उद्योगले चार महिनाअघि मात्रै जैसिदेवलमा शाखा खोल्न सफल भएको उनले बताइन्। आगामी दिनमा प्रत्येक उत्पादनलाई बेग्लै शाखा खोलेर राख्ने उनीहरूको योजना छ।
'हामीलाई कसैले केही भन्ला भन्ने पिर छैन। घरमा समर्थन गरेका छन्। आफ्ना घरका सामान्य काम सकेर बाँकी समय उद्योगलाई दिइरहेका छौं,' आमा हस्तकलाका सञ्चालकहरू आमाहरू भन्छन्, '४० कटेसी व्यवसायमा रमाइरहेका छौं।'
(आमा हस्तकलाको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८४९१८१२७०)