जस्मती दंगा मगरको जंगलसँग पुरानो नाता छ। नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–१ की ५७ वर्षीया जस्मतीले घाँस, दाउराका लागि बिहान, बेलुका वन जानैपर्ने बाध्यता थियो।
एकल महिला उनी दिउँसो कमाइका लागि मजदुरी गर्थिन्। मजदुरी गरेको पैसाले घर खर्च चलाउन हम्मे हुन्थ्यो।
अचेल उनको खर्च सामुदायिक वनले जुटाइदिएको छ। जस्मती जंगलका पतिंगर, वनमारा झार र झाडी संकलन गरेर विनयी सामुदायिक वनको कार्यालयलाई दिन्छिन्। त्यसबापत कार्यालयले उनलाई ज्याला दिन्छ।
'जोखेर किलोको दुई रूपैयाँ पाइन्छ। दिनमा आठ–नौ सय रूपैयाँ त आइहाल्छ,' जस्मतीले भनिन्, 'बाहिर गएर मजदुरी गरेजस्तो दुःखी काम पनि छैन। गइराखेकै जंगल हो। पहिले गाई, बाख्रालाई स्याउला खोजिन्थ्यो। अचेल वन कार्यालयका लागि झाडी, पात, पतिंगर खोज्छु।'
विनयी र आसपासका अन्य सामुदायिक वनका अनावश्यक झाडी र सुकेर झरेका पात अहिले उपभोक्ताको कमाइको स्रोत बनेका छन्। त्यसको प्रयोग गरेर वन कार्यालयले प्रांगारिक तथा जैविक मल उत्पादन गरिरहेको छ।
५३ वर्षीया पुनिसरा दराई पनि जस्मतीसँगै जंगल जान्छिन्। सकेजति पात, पतिंगर सोहोरेर ल्याउँछिन्।
'झरेका पात टिपेर पैसा आउला भन्ने कहिल्यै सोचेका थिएनौं। यो उमेरमा आएर नयाँ अनुभव भइरहेको छ,' पुनिसराले भनिन्, 'दैनिक पाँच–सात सय रूपैयाँ आम्दानी हुन्छ। यसले घरखर्चमा सहयोग गरेको छ।'
विनयी–त्रिवेणी गाउँपालिकाका करिब एक सय जना महिलाले ती झाडी र पात सोहोरेर आम्दानी गर्दै आएको सामुदायिक वनकी अध्यक्ष बालु पुरीले जानकारी दिइन्। उनीहरूले दैनिक १५ सय रूपैयाँसम्म आम्दानी गरिरहेको उनले बताइन्।
स्थानीय चन्द्रा गुरूङले पात बेचेर भएको आम्दानीले छोराछोरीको कापी, कलम, विद्यालय खर्च पुर्याउने गरेको बताइन्।
'भान्सामा नुन, तेल चाहिँदा श्रीमानसँग पैसा नमागी उपाय थिएन। आफूलाई चाहिने सामान्य कुराका लागि पनि हात थाप्नु पर्थ्यो। अचेल माग्नु परेको छैन। सबैभन्दा खुसी त म यसमा छु अहिले,' उनले भनिन्, 'काम धेरै दुःखको पनि छैन। जति गर्न सक्यो, त्यति पैसा आउँछ।'
उनले सामुदायिक वनले वनमारा, झाडी, पातपतिंगरबाट मल बनाउन थालेपछि खेतमा रासायिनक मल प्रयोग गर्न छाडेको पनि बताइन्।
'पहिलो कुरा त यो हामी आफैले संकलन गरेको पातबाट बनेको मल हो। आफ्नो कामलाई नियमित बनाउन पनि आफैबाट यो मल प्रयोग गर्न थाल्यौं। अर्को कुरा यो मल हामीले हेर्दाहेर्दै तयार भएको छ र राम्रो काम गर्छ भन्ने देखिइसकेको छ,' चन्द्राले भनिन्।
यो मल प्रयोग गर्न पाएपछि उनीहरूको खेतीमा खर्च पनि घटेको छ।
करिब एक सय दिनमा तयार हुने मल सामुदायिक वनले प्रतिकिलो २५ रूपैयाँमा (विनयी–त्रिवेणी गाउँपालिकाका ग्राहकका लागि २० रूपैयाँ) बेचिरहेको छ।
वनकी उपभोक्ता कल्पना पौडेलले पनि केही वर्षदेखि आफ्नो खेतमा रासायनिक मल हाल्न छाडेकी छन्। लामो समयदेखि रासायनिक मल र विषादी हाल्दा बिग्रिएको खेतको माटो अहिले सुधार हुन थालेको उनले बताइन्।
'खेतीपाती हुनेबाहेकको समयमा जंगल जान्छु। गाउँका धेरै साथीहरू जंगल जानुहुन्छ। समूहमा जाँदा रमाइलो हुन्छ। वन्यजन्तुबाट डर पनि कम हुन्छ,' उनले भनिन्।
पात बेचेर भएको आम्दानीले छोराछोरीलाई पढाउन सहयोग भएको बताइन्।
झाडी बढ्ने सिजनमा उनी प्रायः जंगल नै जान्छु। श्रीमान घरको काम गर्छन्। नियमित आम्दानी हुन थालेपछि घरखर्च चलाउन निकै सजिलो भएको उनले बताइन्।
विनयी सामुदायिक वनले यस वर्ष एक लाख २५ हजार किलो मल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको छ।
वनकी व्यवस्थापक मिना पौडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १२ हजार ५ सय किलो र २०८०/०८१ मा ६० हजार किलो जैविक मल बेचिएको थियो। उत्पादन भएको धेरै मल पालिकाभित्रै खपत हुन्छ। बाँकी मल अन्य ठाउँमा पनि बिक्री भइरहेको छ।
'हामीले मागअनुसार मल पुर्याउन सकेका छैनौं। एक ट्रक मल चाहियो भनेर कोही आयो भने दिन सक्ने अवस्था छैन,' वन व्यवस्थापक मिनाले भनिन्, 'आगामी दिनमा उत्पादनको परिमाण बढाउँदै लैजाने तयारी छ।'
२०७९ सालमा विनयी–त्रिवेणी गाउँपालिका र विनयी सामुदायिक वनले ३–३ लाख रूपैयाँ बजेट खर्च गरेर पुनः वनमारा झार, झाडी तथा पात पतिंगरबाट जैविक मल बनाउन सुरू गरेका थिए।
यो काममा डिभिजन वन कार्यालय नवलपुरले पनि सहयोग गरेको सामुदायिक वनकी अध्यक्ष बालु पुरीले बताइन्।
नेपाल बायो साइन्स रिसर्च ल्याबका संस्थापक वातावरण इन्जिनियर अरूण लामा वनमा डढेलो लाग्न नदिन झाडी तथा सुकेका पातको मल बनाउने सबभन्दा उत्तम उपाय रहेको बताउँछन्।
'यसले डढेलोबाट हुने वायु प्रदूषण रोक्छ र माटोको उर्वराशक्ति बढाउँछ। हामीले यस विषयमा एक वर्ष अनुसन्धान गर्यौं। उत्पादन भएको मलले राम्रो काम गर्छ भन्ने प्रमाणित भइसकेको छ। यो गाईको गोबर मलभन्दा पनि प्रभावकारी देखियो,' उनले भने, 'विनयी–त्रिवेणीमा नमूना काम भएको छ।'
विनयी–त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले वातावरण जोगाउँदै रोजगारीको विकास गर्ने अभियान अन्तर्गत अनावश्यक झाडीबाट जैविक मल तयार गर्न थालिएको बताए। डढेलोको मुख्य कारण बनेको नचाहिँदो झाडी व्यवस्थापन गर्दै कृषिमा दिगोपन ल्याउने उद्देश्य रहेको उनले बताए।
'हामी गाउँपालिकालाई रासायनिक मलमुक्त बनाउन चाहन्छौं। यो महत्वकांक्षी योजना हो तर हामी दृढ भएर लागेका छौं। आवश्यक सहयोग गर्छौं,' अध्यक्ष घनश्यामले भने, 'हामीसँग सामुदायिक वन ४१ वटा छन्। दुइटा धार्मिक र दुइटा मध्यवर्ती क्षेत्रमा पर्ने वन छन्। यसबाट जनताले फाइदा पनि लिन सक्नुपर्छ। हामी एउटा सामुदायिक वनबाट सुरू भएको कार्यक्रम पालिकाका सबै वनमा फैलाउने प्रयास गर्छौं।'
उनका अनुसार गाउँपालिकाका नौ हजार ७६ घरधुरीमध्ये पाँच हजार घरधुरी सामुदायिक वनसँग जोडिएका छन्। वनपैदावारको सदुपयोग गर्दै उनीहरूलाई रोजगार बनाउने उद्देश्य छ। त्यस्तै आगामी वर्ष वन प्रवेश गर्नेहरूलाई बीमाको व्यवस्था पनि मिलाइनेछ।
'वन डढेलोबाट हुने अपुरणीय क्षति न्यूनीकरणका लागि असाध्यै महत्त्वपूर्ण साबित हुने यो कामको सिको देशभर होस् भन्ने चाहना हाम्रो छ,' उनले भने।
नियमित मल उत्पादनका लागि अहिलेको संरचनाले नपुग्ने सामुदायिक वनका पदाधिकारीहरू बताउँछन्। साथै प्रविधि, उपकरण पनि पर्याप्त छैन। पर्याप्त संरचना र उपकरण भए मल उत्पादनको परिमाण बढाउन सकिने वनकी अध्यक्ष बालुले बताइन्।
'हरेक वर्ष डढेलोले वन सखाप पार्थ्यो। वन्यजन्तु, चराचुरूंगी, मान्छे सबैलाई असर गर्थ्यो। वनमाराले रूखबिरूवा बढ्न दिएको थिएन। अहिले वनमारा, झाडी, सुकेका पात संकलन गर्न थालेपछि डढेलो लाग्न छाडेको छ,' उनले भनिन्, 'वनका उपभोक्ताले रोजगारी पनि पाएका छन्। किसानले माटो जोगाउने, स्वस्थ बाली फलाउने मल पाएका छन्।'