ट्याक्सी तथा मोटरसाइकल राइडिङ सेवा लिन–दिन एपहरूको प्रयोग बढ्दैछ। यसमै अर्को एउटा एप थपिएको छ- इ क्याब नेपाल।
कम्पनीका अध्यक्ष दीपक श्रेष्ठका अनुसार यसले यात्रुमाथि कुनै दुर्व्यवहार वा लुटपाट हुनबाट जोगाउँछ। सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछ। आफ्नो मोबाइलबाट यात्राको लोकेसन (ठाउँ) सेयर गरेर परिवारमा जानकारी दिन सकिन्छ। मोबाइल अफ भए पनि आफू कहाँबाट, कुन ट्याक्सीमा आउँदै छु भन्ने जानकारी दिन मिल्छ।
इ–क्याबले ट्याक्सी चालक र चढ्ने ग्राहकलाई एकै ठाउँमा जोड्ने काम गर्छ।
'एपमार्फत यात्रुले सजिलै ट्याक्सीको सेवा लिन सक्छन्,' दीपकले भने, 'चालकले पनि बाटोमा बसेर यात्रु कुर्नु पर्दैन। रिक्वेस्ट एसेप्ट गरेको भरमा ग्राहक पाउँछन्।'
ट्याक्सी प्रयोगकर्तालाई सजिलो माध्यमबाट सुरक्षित सेवा दिन इ–क्याब नेपाल सञ्चालनमा ल्याइएको दीपकको भनाइ छ।
'इ–क्याबमा जोडिएपछि चालक र यात्रु दुबैलाई सजिलो हुन्छ। दुबैले चोकमा बसेर यात्रु वा ट्याक्सी कुर्नु पर्दैन,' दीपकले इ–क्याबको विशेषता बयान गरे, 'दुवैले आफ्नो काम सँगसँगै लैजान सक्छन्।'
इ–क्याबमा जोडिन चाहने ट्याक्सी चालकले 'इ–क्याब ड्राइभर्स' र ग्राहकले 'इ–क्याब नेपाल' एप डाउनलोड गर्नुपर्छ। एप एन्ड्रोइड र आइओएस दुबैका लागि उपलब्ध छ।
इ–क्याबबाट ट्याक्सी चढेपछि यात्रुले नगद नै तिर्नु पर्छ भन्ने छैन। क्युआर कोड वा मोबाइल वालेटबाट पनि तिर्न सकिन्छ।
'तीन वटै फिचर एपमा देखाउँछ, आफ्नो रोजाइअनुसार छनोट गर्न सकिन्छ,' दीपकले डिजिटल भुक्तानीका लागि 'खल्ती' एपसँग सम्झौता भएको पनि जानकारी दिए।
इ–क्याब अन्य राइड सेयरिङ एपभन्दा फरक रहेको दीपकको दावी छ।
इमेल वा मोबाइल म्यासेजमा साथी वा परिवारजनलाई लोकेसन सेयर गर्दा चालकको नाम, फोन नम्बर र ट्याक्सी आएको रूट देखाउँछ। यसकारण इ–क्याबबाट ट्याक्सी चढ्दा यात्रु सुरक्षित रहने दीपक बताउँछन्।
यसबाट अन्तर्राष्ट्रिय बुकिङ पनि गर्न सकिन्छ। जस्तै विदेशबाट नेपाल फर्किँदा उतैबाट ट्याक्सी बुक गरेर आउन सकियो। त्यस्तै ट्याक्सी चाहिने दिन निश्चित भए दुई–तीन दिनअगाडि नै अग्रिम बुकिङ पनि गर्न पाइन्छ।
इ–क्याबमा एप चलाउन नजान्ने वा इन्टरनेट नभएको अवस्थामा अर्को व्यक्तिले ट्याक्सी बुक गरिदिन मिल्छ। मानौं, आमाबालाई कतै जानुपर्ने छ तर एप चलाउन आउँदैन। यस्तो अवस्थामा चलाउन जान्ने छोराछोरी वा आफन्तले जुनसुकै ठाउँबाट आमाबा भएसम्म ट्याक्सी बोलाइदिन सक्नेछन्।
'चढ्ने मान्छेको नम्बर र लोकेसन सेयर गरिदिएपछि ट्याक्सी त्यो व्यक्ति भएको ठाउँमा पुग्छ,' दीपकले भने।
दीपकलाई इ–क्याबमा यस्ता फिचरहरू राख्ने सोच ट्याक्सीमा आफन्त लुटिएपछि आएको हो। उनका एक आफन्त ट्याक्सीमा लुटिएका थिए। उनीहरूले प्रहरीमा खबर पनि गरे। तर ट्याक्सीको विवरण थाहा नभएकाले पत्ता लगाउन सकेनन्।
'ट्याक्सी चढ्दा सबैले त्यसको सबै विवरण याद गरेको हुन्छ भन्ने हुँदैन। अनि सबैले विवरण हेर्न जान्दछ भन्ने पनि हुँदैन,' उनले भने, ' त्यसैले यस्तो फिचर राखेमा सजिलो हुने महसुस भयो।'
इ–क्याब ट्याक्सी प्रयोग गर्दा यात्रु भाडामा नठगिने पनि उनको दावी छ। दीपकका अनुसार कम्पनीले सरकारीसरह भाडादर कायम राखेको छ।
ट्याक्सीका लागि सरकारले तोकेको भाडादर सुरूआतमा ६० रूपैयाँ छ। त्यसपछि प्रतिकिलोमिटर ४९ रूपैयाँ जोडिँदै जान्छ। इ–क्याबको ट्याक्सी भाडा भने एक सय ६५ रूपैयाँबाट सुरू हुन्छ। यसपछि प्रति किलोमिटर ४५ रूपैयाँ जोडिँदै जान्छ।
'ग्राहक भए ठाउँसम्म जानुपर्ने भएकाले सुरूआती भाडा एक सय ६५ रूपैयाँ हो। तर किलोमिटर हिसाबले ४५ रूपैयाँ मात्र पर्ने भएकाले सस्तो पर्छ। लामो दुरीको यात्रामा इ–क्याब किफायती हुन्छ,' उनले भने।
इ–क्याब प्रयोग गर्ने ट्याक्सी चालकले कम्पनीलाई ८ प्रतिशत कमिसन दिनुपर्छ। दीपक यो कमिसन न्यूनतम भएको दावी गर्छन्, 'हामीले कमिसन थोरै लिएका छौं। अन्य कम्पनीले बीस प्रतिशतसम्म लिएका छन्।'
कम्पनीले ट्याक्सी धेरै गुडेबापत चालकका परिवारका सदस्यलाई सिलाइ-बुनाइको निःशुल्क तालिम दिने व्यवस्था गरेको छ। इ–क्याबले एउटा गैरसरकारी संस्थासँग सहकार्य गरेको छ, त्यसैमार्फत तालिम दिन्छ। तर यो सुविधा पाउन केही मापदण्ड भने पूरा गर्नुपर्छ।
इ–क्याबमा इन्टरनेटको समस्याले ट्याक्सी अनलाइन देखिएन भने ग्राहकले कम्पनीमा फोनै गरेर पनि सेवा लिन सक्छन्। त्यस्तै पहिलो पटक इ–क्याब प्रयोग गर्दा यात्रुले भाडामा ५० प्रतिशत छुट पाउँछन्।
नेपालमा सूचना प्रविधि पहुँच बढ्दै जाँदा आफूले यसैमा आधारित व्यवसायमा लगानी गरेको दीपकको भनाइ छ। इ–क्याबको लगानीमा दीपकलाई सजनी लामा, सन्तोष मण्डल र रोबर्ट विश्वकर्माले सघाएका छन्। चार जना मिलेर कम्पनीमा साढे दुई करोड रूपैयाँ लगानी गरेको दीपकले बताए। यी चारै जना गैरआवासीय नेपाली हुन्। दस वर्षभन्दा लामो समयदेखि उनीहरू बेलायतमा बसिरहेका छन्।
विदेशमै व्यवसायमा लगानी गर्न सक्ने भए पनि स्वदेशमा पैसा मात्रै नभएर प्रविधि भित्र्याउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले इ–क्याब एप सञ्चालनमा लगानी गरेको दीपकको भनाइ छ। हाल इ–क्याबले ११ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
दीपक र अरू तीन सञ्चालक केही समयअघि इ–क्याब आधिकारिक रूपमा सञ्चालन गर्न नेपाल आएका थिए। त्यही बेला दीपकले सेतोपाटीसँग कुरा गर्दै भने, '६ वर्षअघि अमेरिका जाँदा उबर ट्याक्सीमा घुमेको थिएँ। त्यति बेलै मलाई नेपालमा यस्तै सेवा सुरू गर्ने सोच पलाएको थियो। तर त्यसको प्रविधिसम्बन्धी ज्ञान नभएकाले आँट आएन।'
दिन बित्दै गए पनि उबर सेवा दिमागमा बसिरहेको थियो।
करिब डेढ वर्षअघि उनको भेट आइटी इञ्जिनियर सन्तोष मण्डलसँग भेट भयो। दीपकले सन्तोषलाई उबरबारे बताउँदै नेपालमा त्यस्तै सेवा लैजाने योजना सुनाए।
बेलायतमा लामो समयदेखि व्यवसाय गरिरहेका सन्तोष राइड सेयरिङबारे परिचित थिए। तर सूचना-प्रविधिको ज्ञानले मात्र यो व्यवसाय सफल हुँदैन भन्ने उनलाई लाग्यो। अनि लन्डनमै मार्केटिङ क्षेत्रमा काम गरिरहेकी सजनी लामा र वित्तीय क्षेत्रको ज्ञान भएका रोबर्ट विश्वकर्मालाई जोड्ने प्रयास गरे। सजनी र रोबर्ट सहमत पनि भए।
दीपक कम्पनीका अध्यक्ष हुन् भने सन्तोष म्यानेजिङ डाइरेक्टर। त्यस्तै सजनी मार्केटिङ सम्हाल्छिन् र रोबर्ट वित्तीय पाटो हेर्छन्।
चार जनाले लुम्बिनीमा अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल बन्दै गरेकाले त्यहीँबाट इ–क्याब सुरू गर्ने योजना बुने। योजना बनेपछि मार्केटिङमा दख्खल रहेकी सजनी छ महिनाअघि नेपाल आइन्। सन्तोषले नेपाली टिमसँग मिलेर बेलायतबाटै सफ्टवेयर बनाउन थाले।
सजनीले सुरूमा काठमाडौंको खुसिबुमा इ–क्याबको कार्यालय राखिन्। पाँच जना सहयोगी सहजकर्ता राखेर दस दिन तालिम दिइन्। अनि ट्याक्सी चालकलाई इ–क्याबबारे बुझाउन ट्याक्सी स्टेसनहरूमा पठाइन्। सामाजिक सञ्जालमा प्रचारप्रसार पनि गरिन्।
कम्पनीका व्यवस्थापन सम्हालिरहेका डिकेश प्रधानका अनुसार राइड सेयरिङ एप नयाँ नभएकाले चालकलाई बुझाउन गाह्रो भएन। तर इ–क्याब नै किन भनेर बुझाउन निकै मेहनत गर्नुपर्यो।
ट्याक्सी चालक सोध्थे– अर्को एप छ, किन तपाईंको एप डाउनलोड गर्ने ? कमिसन कति दिनुपर्छ?
सहजकर्ताहरू कुरा बुझाउन सफल भए। डिकेशका अनुसार इ–क्याबमा पहिलो दिन २६ जना चालक दर्ता भए। दैनिक १५–२० जना थपिँदै गए। यसरी अहिले इ–क्याबमा दुई हजार बढी चालक जोडिएका छन्। चार सय बढी प्रयोगकर्ता छन्, यो संख्या बढ्दो छ।
'यसमा जोडिन चालक धाउन पर्दैन। कम्पनीका कर्मचारी आफैं आएर निःशुल्क दर्ता गरिदिन्छन्। एप चलाउन नजान्ने चालकलाई कम्पनीले तालिम दिन्छ,' डिकेशले भने।
इ–क्याबले काठमाडौं उपत्यकामा राति ११ बजेसम्म सेवा दिन्छ। चाँडै चौबिसै घन्टा सेवा दिने कम्पनीको योजना छ। आगामी ६ महिनाभित्र इ–क्याब पोखरामा विस्तार गरिसक्ने योजना रहेको पनि दीपकले जानकारी दिए।
उनका अनुसार पोखरापछि बुटवल, भैरहवा लगायत मुख्य सहरमा जानेछन्, 'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि थप सहज हुन्छ।'
कपिलवस्तु घर भएका दीपक पर्यटक लक्षित गरेर लुम्बिनीमा इ–क्याब सेवा दिँदा बुद्ध नेपालमा जन्मेका हुन् भनेर विदेशी पर्यटकलाई बुझाउन सकिने विश्वास राख्छन्।
इ–क्याबको प्रचार बेलायतमा गर्ने योजना बनाएका छन् उनीहरूले। उताबाट फर्किने नेपालीले इ–क्याब सेवा प्रयोग गरून् भन्ने चाहना कम्पनीको हो। इ–क्याब पूर्ण रूपमा चलेपछि संस्थापकहरू चारै जना बेलायत फर्किने र आवश्यकताअनुसार पालैपालो एक-एक जना नेपाल आउने दीपकले बताए।
'हामी रहरले होइन बाध्यताले विदेशिएका हौं। नेपालमा लगानी गर्दा यहाँ आउने वातावरण बन्छ,' उनी भन्छन्, 'आफ्ना अभिभावकको व्यवसाय नेपालमा हुँदा बच्चाहरू पनि आउन चाहन्छन्।'