क्लब रात्रि व्यवसायमध्ये पछिल्लो पुस्ता हो। पहिले पप र लाइभ ब्यान्डहरू थिए। बिस्तारै नयाँ डिजाइनमा क्लबहरू खुल्न थाले। विदेशी क्लबका डिजाइन र सुविधालाई आधार मानेर काठमाडौंमा पनि ठूला लगानीमा क्लब खुलिरहेका छन्।
दिनभरिको कामको थकान संगीतबाट मेटाउन साँझ मानिसहरू क्लब पुग्छन्। यस्तै मानिसलाई लक्षित गर्दै कोरोना महामारी सुरू हुनेताका ठमेलमा खुलेको क्लब हो 'क्लब टेन-एक्स'।
यो क्लब नवराज लामिछानेसहित पाँच जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको हो। क्लब चलाउन उनीहरूले १५ करोड रूपैयाँ लगानी गरेका छन्।
'सफ्ट ओपनिङ गरेर केही महिनाअघि मात्रै खोलेका छौं। नयाँ वर्षमा ग्रान्ड ओपनिङ गर्छौं,' क्लबका सञ्चालक नवराजले भने।
जेड स्ट्रिट रोड, होटल वैशाली नजिकै रहेको क्लबले तीन तले घर ओगटेको छ। पहिलो तलामा बार र डान्स-फ्लोर छ। दोस्रो र तेस्रो तलामा ग्राहकहरू सोफामा बसेर सेवा लिने सुविधा छ।
करिब ६५०० स्क्वायर फिटमा क्षेत्रफलमा फैलिएको क्लबमा एक दिनमा तीन हजार जनासम्मले सेवा लिन सक्ने नवराजले जानकारी दिए। एक पटकमा पाँच सय जना सुविधाजनक ढंगले रमाउन सक्छन्। अन्य क्लबभन्दा टेन-एक्स भिन्न प्रकारले सञ्चालनमा ल्याएको उनको भनाइ छ।
उनका अनुसार क्लब टेन-एक्स ग्राहकले मनोरञ्जन गर्ने ठाउँ त हुँदै हो, यहाँ परिवार नै आएर मनोरञ्जन गर्ने सुविधा पनि छ।
'क्लब भनेपछि आममानिसको धारणा राम्रो छैन, कतिलाई न नराम्रो व्यवसाय भन्ने परेको छ,' नवराज भन्छन्, 'हामीले त परिवार नै आउन मिल्ने बनाएका छौं। परिवारका लागि छुट्टै ठाउँ छ।'
ग्राहकलाई व्यवसायीका अभिभावक मान्छन् नवराज। क्लब भनेको के हो भनेर अभिभावकलाई बुझाउन जरूरी रहेको उनको बुझाइ छ। भन्छन्, 'परिवारका सबै जना एकै ठाउँमा बसेर मनोरञ्जन गर्ने क्लब पनि हुनु पर्छ, हाम्रो क्लबमा यस्तो सुविधा छ।'
यहाँ परिवारका लागि लाइभ ब्यान्ड राखिएको छ। क्लब टेन-एक्स साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म खुला रहन्छ। साँझ ७ बजेदेखि राति ११ बजेसम्म लाइभ ब्यान्ड हुन्छ। यसपछि बिहान ४ बजेसम्म डिजे घन्किन्छ।
क्लबभित्र नाच्ने मात्र नभएर परिवारै बसेर विभिन्न परिकार खाने सुविधा छ। भान्सामा पाँचतारे होटलमा काम गरेका अनुभवी सेफ छन्। क्लबभित्र छिर्न गेटमै टिकट काट्ने प्रणाली छ।
'चिनजानका र व्यवहार राम्रो भएकालाई टिकट लिन लगाउँदैनौं। टिकट हाम्रो नाफाको स्रोत होइन,' नवराज भन्छन्, 'झैझगडा गर्ने नराम्रा मान्छे नआऊन् भनेर टिकट राखिएको हो।'
क्लबमा आउने ग्राहकको सुरक्षाका लागि १५ जना बाउन्सर (सुरक्षाकर्मी) राखिएका छन्। क्लबभित्र झगडा हुन नदिन र भइहाले तुरून्तै नियन्त्रण गर्न बाउन्सर चनाखा भएर बसेका हुन्छन्। क्लब परिसरमा जडान गरिएका ६० वटा सिसी क्यामराबाट सबै गतिविधिको निगरानी हुन्छ।
'पहिले क्लब भनेको झगडा हुने, बाउन्सरले पिट्ने, सुरक्षा नहुने ठाउँ भन्ने धारणा थियो,' उनी भन्छन्, 'अहिले त्यस्तो छैन। हामी प्रहरी प्रशासनसँग समन्वय गरिरहेका हुन्छौं।'
प्रशासनबाट राम्रो सहयोग पाएको उनले बताए। कुनै समस्या परे सूचना दिएको १५ मिनेटभित्रै प्रहरी टोली पुग्छ। रातको समयमा बाटो खाली हुने भएकाले प्रहरीले तुरुन्तै सेवा दिन सक्छ।
नवराजका अनुसार क्लब सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ। ग्राहकले जति झगडा गरे पनि नरम भएर सम्झाउनु पर्छ र नियन्त्रण गर्नुपर्छ। ग्राहकसँग गर्नु पर्ने असल व्यवहार र उनीहरूको सुरक्षाबारे आफ्ना कर्मचारीलाई दैनिक 'ब्रिफिङ' दिने गरेको उनी बताउँछन्।
नुवाकोट घर भएका नवराजको व्यावसायिक यात्रा १२ वर्षअघि सुरू भएको हो। २०५६ सालमा १४ वर्षको उमेरमा उनी पढाइका लागि काठमाडौं छिरेका थिए। दाजुहरू ठमेलमा गार्मेन्ट पसल चलाउँथे। उनी दाजुहरूसँगै बस्न थाले। एसएलसी दिएपछि विदेश जान प्रयास गरे। विभिन्न कारणले प्रयास सफल भएन। ठमेलमै आफन्तको गार्मेन्ट पसलमा काम गर्न थाले।
आफ्नै दाजुहरूले चलाएको गार्मेन्टमा किन काम नगरेको? उनलाई धेरैले सोध्छन्।
नवराज हाँस्दै भन्छन्, 'आफ्नोमा काम गर्दा दाइहरूले किचकिच गर्ने क्या!'
ठमेलमा काम थालेपछि उनी कहिलेकाहीँ दाइहरूसँग क्लब जान थाले। क्लबको पहिलो दिन स्मरण गर्दै नवराजले भने, 'त्यहाँभित्र छिर्दा बत्ती नै बत्ती थियो, त्यति धेरै बत्ती मैले पहिलो पटक देखेँ।'
कहिलेकाहीँ जाँदाजाँदै लत बस्यो। साथीहरूसँग हप्तामा तीन-चार पटक नै जान थाले। नवराजका अनुसार पहिला क्लब जान उमेर तोकिएको थिएन। सबै उमेरका जान पाउँथे। क्लबमा दिउँसो र राति पार्टी हुन्थ्यो। त्यो बेला उनी २२ वर्षका भए। उमेर कम हुँदा दिउँसोका पार्टी जान्थे, उमेर बढ्दै गएपछि नाइट पार्टीमा रमाए।
क्लबमा रमाउन जाँदाजाँदै उनको मन त्यतैतिर तानियो। त्यही बेला ठमेलमा क्लब चलाइरहेका एक जनाले आफ्नो क्लबमा साझेदार बन्न नवराजलाई निम्तो दिए।
कुरा सन् २००९ तिरको हो।
त्यो समय सम्झिँदै उनले भने, 'त्यतिखेर १५ लाख रूपैयाँ घरबाटै मागेँ। धेरै लगानी अरू दाइहरूको थियो। मलाई पाँच प्रतिशत सेयर दिएका थिए।'
एक वर्षमै उनले क्लबको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिए अनि नौ वर्षसम्म चलाए। आफू क्लबमा ग्राहक भएर जाँदा र आफैं सञ्चालक हुँदाको भिन्नता अनुभव गरे।
'सबै कर्मचारीलाई मिलाउनु पर्यो, आदरका साथ पाहुनाको स्वागत र बिदाइ गर्नु पर्यो,' उनले भने, 'कहिलेकाहीँ धेरै झगडा हुन्थ्यो। त्यो देख्दा त बेकार लगानी गरेँ जस्तो पनि लाग्थ्यो।'
क्लबमा ग्राहकलाई रिझाउनु सबैभन्दा चुनौतीको काम लाग्छ उनलाई। चिनजानका ग्राहक आउँदा सजिलो हुन्छ। नचिनेकाहरू आउँदा झगडा हुने हो कि भन्ने शंका भइरहन्छ।
'जस्तो व्यवहार गरे पनि ग्राहकलाई गाली गर्नु भएन, रिझाउनै पर्यो,' नवराज भन्छन्, 'पहिले पहिले झगडा पर्दा एक पटक मेरो हात नै भाँचिएको छ। दुई-तीन पटक टाउकै पनि फुटेको छ।'
क्लब चलाउँदा दिनदिनै तनाव भएपछि नवराजलाई दिक्क नलागेको पनि होइन। तर आफू त्यसमै संलग्न भएकाले अरू विकल्प पनि भएन। उनी भन्छन्, 'बाहिर जाऊँ भने पनि अब कहाँ जानु! गए पनि भाँडै माझ्ने हो। अर्को काम सुरू गरौं भने अनुभव छैन।'
उनले गार्मेन्ट चलाउने कुरा पनि सोचेका थिए। तर लकडाउनले उद्योगहरू बन्द भएको देखेपछि त्यसमा पनि आँट्न सकेनन्। उनले भने, 'नजानेको व्यवसायमा लागेर तनावमा बस्नुभन्दा त क्लबमा टेन्सन भए पनि मनोरञ्जन छ। यसमै रमाउँदैछु।'
आफू पनि रमाउने, अरूलाई पनि मनोरञ्जन दिन सकिने भएकाले आफैं नयाँ क्लब खोल्न आकर्षित भएको उनको भनाइ छ।
क्लब टेन-एक्स विशेष गरी विदेशी पर्यटकका लागि खोलिएको हो। तर पछिल्ला दिनमा स्वदेशी ग्राहक बढी आउने गरेको नवराजको अनुभव छ।
उनी भन्छन्, 'स्वदेशी र विदेशी ग्राहकको रोचक व्यवहार हुन्छ। स्वदेशी ग्राहकले विदेशी मदिरा र विदेशीले नेपाली मदिरा खान्छन्।'
क्लबमा प्रतिस्पर्धा पनि चर्को छ। कसले कस्ताकस्ता उपकरण जडान गरेको छ र कसले कुन कलाकार ल्याउन सक्छ भन्ने प्रतिस्पर्धा चल्छ। ग्राहक तान्न बाहिरबाट डिजे र कलाकार ल्याउने प्रतिस्पर्धा भइरहेको उनले बताए।
क्लब पर्यटन व्यवसाय भए पनि सरकारले यसलाई पर्यटनको नजरमा नहेरेको उनको गुनासो छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी र विक्की शाही/क्लब टेन-एक्स