इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई यसपालिको पैसा तिरेपछि नेपाल आयल निगमको कोषमा अब करिब साढे ४ अर्ब रूपैयाँ मात्र बाँकी रहनेछ।
यो भनेको आइओसीलाई तिर्नुपर्ने मासिक रकमभन्दा कम हो। आइओसीले पठाएको पछिल्लो मूल्यअनुसार निगमलाई महिनाको ५ अर्ब घाटा छ।
निगमको आइतबार बसेको सञ्चालक समिति बैठकले आइओसीलाई तिर्न नपुग रकम मूल्य स्थिरीकरण कोषबाट निकासा गर्ने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
निगमले फेब्रुअरी महिनाको पेट्रोलियम खरिदबापत आइओसीलाई १४ अर्ब ३० करोड तिर्नुपर्नेछ। तेल बेचेर आएको पैसाले उक्त रकम चुक्ता गर्न ४ अर्ब २५ करोड नपुग हुने निगमले जनाएको छ।
यो रकम निकासा गरेपछि मूल्य स्थिरीकरण कोषमा ४ अर्ब ४५ करोड बाँकी हुने प्रवक्ता उपाध्यायले बताए।
निगमले आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा आफूलाई चाहिने पेट्रोलियम किन्छ। आइओेसीले हरेक पन्ध्र दिनमा नयाँ मूल्यसूची पठाउँछ। तर निगमले हरेक पन्ध्र दिनमा स्थानीय बजार मूल्य समायोजन गर्दैन।
यसरी पन्ध्र-पन्ध्र दिनमा मूल्य समायोजन नगर्दा निगमलाई कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ। नाफा भयो भने उसले नाफा बराबर रकम आफ्नो नगद पुँजी कोषमा जम्मा गर्छ। त्यस्तो कोषलाई 'मूल्य स्थिरीकरण कोष' भनिन्छ। घाटा भएको अवस्थामा मूल्य समायोजन नगरिँदासम्म त्यही कोषबाट बेहोर्ने चलन छ।
निगममा २०७१ सालबाट मूल्य स्थिरीकरण कोषको थालनी भएको हो। सुरूआतमा बिक्रीको शून्य दशमलव पाँच प्रतिशत रकम कोषमा जम्मा गरिन्थ्यो। त्यसको तीन वर्षपछि २०७४ बाट बिक्रीको एक प्रतिशत जम्मा गर्न थालियो।
निगमका अनुसार २०७१ यता मूल्य स्थिरीकरण कोषमा साढे १४ अर्ब जम्मा भएको थियो। पछिल्लो समय आइओसीलाई तिर्न नपुग रकम त्यही कोषबाट निकासा गरिँदै आएको छ। लागतअनुसार बजार मूल्य समायोजन गर्न नसक्दा स्थिरीकरण कोष रित्तिने अवस्था आएको छ।
आइओसीबाट फागुन १७ गते प्राप्त नयाँ मूल्यका आधारमा निगमको मासिक घाटा ६ अर्ब रूपैयाँ नाघेको थियो।
त्यसलगत्तै बिहीबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि नगरिएको भए यो घाटा धान्न स्थिरीकरण कोषमा बचेको रकम पूरै रित्याउनुपर्ने अवस्था आउने थियो। मूल्य वृद्धिपछि मासिक घाटा ५ अर्बमा झरेको छ।
'मूल्य वृद्धिले थोरै राहत त भएको छ तर हाम्रो मासिक घाटाको तुलनामा यो राहत अत्यन्तै सानो हो,' प्रवक्ता उपाध्यायले भने, 'अन्तर्राष्ट्रिय बजारको पछिल्लो ट्रेन्ड हेर्दा छिट्टै हाम्रो मूल्य स्थिरीकरण कोष रित्तिने अवस्था छ।'
रूसले युक्रेनमाथि हमला गरेपछि अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्यसँगै निमगको घाटा बढ्दो छ। हमलाका कारण कच्चा तेलको मूल्य सन् २०१४ पछि पहिलोपटक प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ। आगामी दिनमा अझै बढ्ने सम्भावना छ।