रूसले युक्रेनमाथि सैन्य हमला गरेको तीन साता भइसक्यो। दुई देशबीच चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय बजार महँगो बनाइदिएको छ।
पेट्रोलियम पदार्थ, सुन लगायत अन्य वस्तुसँगै खाद्यान्न बजारमा पनि यो युद्धको प्रभाव परेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य बढ्ने क्रम जारी छ।
पेट्रोलियम पदार्थसँगै रूस र युक्रेन दुवै कृषि उत्पादनका ठूला निर्यातकर्ता हुन्। यिनले मध्यपूर्वसहित विभिन्न मुलुकमा खाद्यान्न पठाउँछन्। विश्वको कुल गहुँ निर्यातमा रूस र युक्रेनले मात्रै झन्डै ३० प्रतिशत र मकै निर्यातमा १९ प्रतिशत स्थान ओगट्छन्।
अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। दाल, चामल, तेलदेखि अन्डासम्मको भाउ अहिले बढिरहेको छ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार फागुन ६ गते जिरा मसिनो चामल प्रतिबोरा एक हजार छ सय २५ रूपैयाँ पर्थ्यो। फागुन २९ गते यो भाउ बढेर एक हजार आठ सय ७५ रूपैयाँ भएको छ।
त्यस्तै मासको दाल प्रतिकिलो एक सय ६० रहेकामा बढेर एक सय ८० रूपैयाँसम्म पुगेको छ। मुसुरो दालमा पनि ३० देखि ४० रूपैयाँ बढेर एक सय ७० रूपैयाँसम्म पुगेको छ।
कोरोना महामारीदेखि नै आकासिएको खाने तेलको मूल्य युद्धले झन् बढ्ने देखिएको छ।
सनफ्लावर तेल लिटरको दुई सय ४० बाट बढेर दुई सय ९० पुगेको छ।
भटमासको तेल दुई सय २० बाट दुई सय ७० र भुटेको तोरी तेल तीन सयबाट चार सय रूपैयाँ पुगेको छ। काँचो तोरीको तेल दुई सय ४० भएकामा ब्रान्ड हेरेर दुई सय ७५ देखि तीन सय ८५ सम्म पुगेको छ।
अहिले अन्डाको मूल्य पनि बढेको छ। हाल बजारमा ठूलो आकारको अन्डा प्रतिक्रेट चार सय १० रूपैयाँ र मध्यम आकारको अन्डा तीन सय ६५ देखि ७० रूपैयाँ छ। कोरोना महामारीको सुरूआतमा अन्डाको भाउ घटेर प्रतिक्रेट दुई सय रूपैयाँसम्म पुगेको थियो।
खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढेकाले सरकारले बजार अनुगमन गर्नुपर्ने संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन्।
'कच्चा तेलको मूल्यकै कारण बजार महँगिएको हो वा कृत्रिम अभाव सिर्जना गराएर बढाइएको हो भन्नेबारे अनुगमन हुनुपर्छ,' तुलाधारले भने, 'आज एउटा मूल्य हुन्छ, दुई दिनपछि अर्को मूल्य राखेर पठाइन्छ। कच्चा तेलको मूल्य बढ्दा उपभोग्य वस्तुको मूल्य कतिसम्म बढ्नु पर्ने हो भन्ने भन्सारबाटै अनुगमन गर्नुपर्छ।’
सरकारले अनुगमन नगरे झनै मूल्य बढ्ने उनी बताउँछन्।
प्रशोधित खाने तेल उत्पादनका लागि आयात हुने सूर्यमुखी र भटमासको कच्चा तेल युक्रेन र रूसबाट आयात हुने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जानकारी दिए। युद्धले खाद्यान्न आयातमा भने कुनै असर नगर्ने उनको भनाइ छ।
‘महामारी बेला अन्य देशले उत्पादन बढाउँछन्, अभाव त हुँदैन। तर महँगी १० देखि १५ प्रतिशत बढ्छ,’ उनले भने। रूस र युक्रेनले सूर्यमुखी तेल, मकै, गहुँ लगायत खाद्यान्न विश्व बजारमा पुर्याउने भएकाले महँगीको मार दीर्घकालीन रहने उनी बताउँछन्।
आयात निरूत्साहित गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले पनि महँगी बढ्ने उनको भनाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा एक अर्ब ३२ करोड ६३ लाख किलो खाद्यान्न आयात भएको छ। त्यसमध्ये सबभन्दा बढी छिमेकी मुलुक भारतबाट आउँछ। त्यसबाहेक ब्राजिल, अमेरिका, अर्जेन्टिना, बंगलादेश, चीनलगायत मुलुकबाट आयात हुन्छ।
सो अवधिमा चार अर्ब ६४ करोड ५२ लाख मूल्य बराबरको १४ करोड २१ लाख किलो गहुँ आयात भएको छ। १३ अर्ब चार करोड ४३ लाख मूल्य बराबरको ३७ करोड १९ लाख किलो मकै आयात भएको छ।
विभागको तथ्यांकले मकै भारत, ब्राजिल, टर्की, साउथ अफ्रिका, इन्डोनेसिया, क्यानडा, अमेरिका, चीन र अर्जेन्टिनाबाट आयात भएको देखाउँछ। त्यस्तै गहुँ भारत र टर्कीबाट आयात हुने गरेको छ।
यसबाहेक मासुको भाउ पनि बढ्ने देखिएको छ। आयात हुने खाद्यान्न पशु दानामा पनि प्रयोग हुने भएकाले मासुको मूल्य बढ्ने सम्भावना बढेको हो।
रूस-युक्रेन युद्धले हाम्रो खाद्यान्न प्रणालीमा भने खासै असर नगर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए।
‘हाम्रोमा गहुँ, मकै पर्याप्त मात्रामा उत्पादन हुन्छ। चामल थोरै मात्रामा अपुग हो,’ उनले भने, ‘खानाको सन्तुलन मिलाउने हो भने खाद्यान्न अभाव हुँदैन।’
अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण उपभोग्य सामाग्रीको मूल्य भने बढ्न सक्ने उनी बताउँछन्।