सन् २०१४ तिरको कुरा हो। केसी दम्पती भुवन र निशाले टोखामा बीस रोपनी जग्गामा अर्ग्यानिक फार्म चलाउँथे। मौसमी तथा बेमौसमी तरकारी लगाउनुका साथै कुखुरा, माछा, हाँस पालेका थिए।
तरकारी बेच्न कालिमाटी बजार पुर्याउनु पर्थ्यो। बजार मूल्य सधैं एकैनास नहुने। कालिमाटीमा मूल्य कम हुँदा उनीहरू आफ्ना उत्पादन गाडीमा राखेर पोखरासम्म पनि पुर्याउँथे।
सधैंजसो पोखरा लगिरहन सम्भव भएन। कालिमाटी लैजाँदा फाइदा त परै जाओस्, साँवा पनि नउठ्ने समस्या भयो।
'स्याहार गरेर हुर्काउँदा एउटा मूल्य छ। बजार पठाउँदा त्यो मूल्य पनि आउँथेन,' भुवनले भने, 'जति प्रयास गर्दा पनि सफल हुन सकिएन।'
उनीहरूले जसोतसो तरकारी लगाउने काम तीन वर्षसम्म गरे। त्यसपछि भने तरकारी छोडेर सिताके च्याउ लगाए। योसँगै उत्पादन गर्नभन्दा पनि उत्पादित सामानले बजार नपाएको देखेपछि बजारका लागि काम गर्ने सोचे।
एक ठाउँमा सटर राखेर बेच्दा त्यहीँ वरपरका मान्छेलाई मात्रै हुन्छ, अनलाइन राखे जहाँसुकैका मान्छेले किन्न पाउँछन्। फेरि ठाउँ–ठाउँमा सटर राखेर बेच्न धेरै लगानी लाग्ने भएपछि उनलाई अनलाइन बजार नै ठीक लाग्यो।
'बजारमा उत्पादनभन्दा पनि किसानले मूल्य पाउने गरी बजारको अभाव देखेँ। किसानलाई सिधै जोड्न सकिन्छ भनेर हामी यहीतर्फ लागेका हौं,' उनले कारण खुलाए, 'उत्पादन त जसले पनि गर्छ, तर बजारमा काम गर्नुपर्छ।'
योजनाअनुसार सन् २०१७ मा काठमाडौं अर्ग्यानिक्स कम्पनी दर्ता गरे, काठमाडौं, पानीपोखरीमा कार्यालय राखे। पहिल्यैदेखि आफूले अर्ग्यानिक तरकारी उत्पादन गरेकाले कम्पनीको नाम सोहीअनुरूप राखिएको भुवन बताउँछन्। काठमाडौं अर्ग्यानिक्समा नामजस्तै सामान पनि अर्ग्यानिक नै पाइने उनको दावी छ।
पहिल्यैदेखि व्यवसायमा लागेकाले लगानी खोज्नुपरेन, भएको ६ लाख रूपैयाँ खर्चिए। कोठा भाडा, कार्यालय व्यवस्थापन, वेबसाइट डिजाइन, किसानलाई अग्रिम भुक्तानी लगायतमा पैसा खर्च भएको उनी बताउँछन्।
व्यवसाय गर्ने तरिका थाहा भए पनि भुवन अनलाइन बजारमा त्यति जानकार थिएनन्। सुरूमा काभ्रेबाट ५० किलो किवी ल्याएर काठमाडौं अर्ग्यानिक्सको सुरूआत गरे। कम्पनीबारे कसैलाई थाहा थिएन। किवी चिनजानका साथीभाइ, आफन्तलाई बेचे। रामै प्रतिक्रिया पाए।
'साथीभाइले पनि किनेनन् भने अरूलाई त बेच्नै सकिँदैन। त्यो हाम्रो पहिलो बजार अनुसन्धान पनि थियो,' उनले भने।
त्यसपछि उनले ग्राहकलाई नयाँ स्वाद दिन जुम्लाको अर्ग्यानिक उत्पादन ल्याएर बेच्न थाले। उनका अनुसार त्यो बेला काठमाडौंका उपभोक्तालाई जुम्लामा पाइने चिनो, कागुनोको के–के परिकार बनाउन मिल्छ भन्ने थाहा थिएन। केही रेस्टुरेन्टसँग सहकार्य गरे, विभिन्न परिकार बनाएर सेलेब्रेटीहरूलाई चखाए।
'हामीले आठ–दसवटा रेस्टुरेन्टमा सेलेब्रेटीहरू बोलाएर खुवायौं,' उनले भने, 'त्यसले प्रचारमा सघायो।'
सेलेब्रेटीलाई उनीहरूले परिकार बनाउने रेसिपी पनि दिए। उनीहरूले आफूले पकाएर खाएकोबारे सामाजिक सञ्जालमा लेखिदिन्थे। कतिपयले ब्लग पनि लेखे।
एक वर्षसम्म उनीहरूले खाद्यान्नमा मात्रै काम गरे। त्यसपछि तरकारी तथा फलफूल पनि बेच्न थाले। भुवनका अनुसार चिनो–कागुनोजस्तै किन्वा भन्ने अन्न विदेशबाट आउँछ। त्यो किलोको नाै सयदेखि एक हजार रुपैयाँसम्म पर्छ। तर हाम्राे उत्पादन साढे तीन सय रूपैयाँ पर्छ। ग्राहक फेरि विदेशी सामानमै आकर्षित हुन्छन्। त्यसैले अझै रैथाने खानेकुराको प्रचार गर्न नपुगेको उनको भनाइ छ।
भुवनले खाना र कम्पनीको प्रचारनिम्ति कुनै कसर बाँकी राखेनन्। खानेकुराका परिकार बनाएर भृकुटीमण्डप प्रदर्शनीहरूमा पनि जान्थे। त्यसले खानासँगै काठमाडौं अर्ग्यानिक्सको पनि प्रचार हुन्थ्यो। विस्तारै उनीहरूलाई ग्राहकले फोन गरेर सोध्न थाले।
'काठमाडौं अर्ग्यानिक्स अर्ग्यानिक खाद्यान्न, फलफूल तथा तरकारी पाइने अनलाइन बजार हो भनेर बुझाउँथेँ,' उनी भन्छन्। फेसबुक र फोनबाट अर्डर आउन थाल्यो। सुरूमा काठमाडौं, भक्तपुर, ललितपुर क्षेत्रमा डेलिभरी गरे।
पछि विस्तारै काठमाडौंसँग जोडिएका जिल्लातिर पनि डेलिभरी गर्न थाले। अहिले कम्पनीले पोखरा, इटहरी, धरान, भैरहवा लगायत जिल्लामा सामान पठाउँछ। बाहिर सामान पठाउन कम्पनीले एक लजिस्टिक कम्पनीसँग सहकार्य गरेको छ।
'त्यहाँ नपाइने फलफूल जहाजमा पठाउन सकिन्छ कि भनेर पनि छलफल गर्दैछौं,' उनले भने।
बजार बढ्दै गएपछि उनीहरूले अहिले कार्यालय बाँसबारी, चक्रपथमा राखेका छन्। डेलिभरी गर्न कम्पनीसँग आफ्नै ६ वटा विद्युतीय स्कुटर छन्।
'वातारवरणमैत्री होस् भनेर हामीले इलेक्ट्रिक स्कुटर प्रयोग गरेका हौं,' उनले भने, 'चार्जिङ स्टेसन पनि आफ्नै छ।'
वातावरणलाई नै ध्यानमा राखेर कम्पनीले अधिकांश सामान प्याकेजिङ प्लास्टिकमा गर्दैन, सिसीमा गर्छ। आगामी दिनमा कागजमा गर्ने कम्पनीको योजना छ। ६ लाख रूपैयाँबाट सुरू कम्पनीको लगानी अहिले ८० लाख माथि पुगिसकेको छ। यसले १८ जनालाई रोजगारी पनि दिएको छ।
भुवनका अनुसार काठमाडौं अर्ग्यानिक्समा दैनिक ७० देखि ८० वटा अर्डर आउँछन्, मासिक २० लाखको कारोबार हुन्छ। अनलाइन बजारमा ग्राहक आकर्षित गर्न ग्राहकलाई चित्त नबुझेको सामान फिर्ता पनि लिन्छन्।
'फलफूल र तरकारी २४ घन्टाभित्र र दाल, चामल लगायतमा एक सातासम्म फिर्ता समय दिइएको छ,' उनले भने, 'लोकल चामल पकाउन आएन भने गिलो हुन्छ। तर यसमा ग्राहकलाई चित्त बुझेन भने हामी पैसै फिर्ता दिन्छौं।'
काठमाडौं अर्ग्यानिक्समा ग्राहकले यति नै मूल्यको सामान माग गर्नुपर्छ भन्ने छैन, ग्राहकले आफ्नो आवश्यकताअनुसारको माग गर्न सक्छन्।
कम्पनीले डेलिभरी शुल्क चक्रपथभित्र ६० रूपैयाँ, बाहिर एक सय, भक्तपुर–ललितपुरतिर एक सय ५० र काठमाडौं बाहिर ग्राहककाे लाेकेसन हेरेर दुई सय रूपैयाँ भन्दा बढी तोकेको छ। एक हजार पाँचसय भन्दा बढी मूल्यकाे सामान अर्डर गर्ने ग्राहकलाई डेलिभरी शुल्क नलाग्ने कम्पनीले बताएकाे छ।
कम्पनीले प्याकेटमा भएका सामान मगाएकै दिन ग्राहकको घरसम्म पुर्याउँछ भने फलफूल-तरकारी भोलिपल्ट मात्रै डेलिभरी गर्छ। काठमाडौं अर्ग्यानिक्सका उत्पादन विषादीरहित हुने भएकाले छिट्टै बिग्रिने पनि उनले बताए। त्यसैले कम्पनीले ग्राहकको मागअनुसार मात्र सामान ल्याउने गरेको छ।
कम्पनीले आफ्नो बजार विस्तार गरिसकेकाले आवश्यक सामानका लागि ठाउँठाउँ धाउनु पर्दैन। एक-दुई पटक उत्पादनको नमूना पठाउन लगाउँछन्, चित्त बुझे लिन्छन्।
'अहिले काठमाडौं अर्ग्यानिक्सका सामान एकपटक चाखिसकेकाले सिधै अर्डर गर्छन्,' उनले भने, 'नयाँ ग्राहकले भने पहिला फोनबाटै बुझ्छन्। हामीकहाँ ५० भन्दा बढी जिल्लाका अर्ग्यानिक तरकारी, फलफूल तथा किराना सामान पाइन्छ। माछा, मासु र अन्डा पनि पाइन्छ।'
भुवनका अनुसार अहिले काठमाडौं अर्ग्यानिक्समा आठ हजारभन्दा बढी किसान आबद्ध छन्।
तरकारी काठमाडौं वरपरका जिल्लाबाट आउँछ। दार्चुलाबाट ओखर, डोटीबाट जोरायल बासमती, डोल्पाबाट कागुनो, ओखर, सिमीदाल, बर्दियाबाट स्थानीय (सिन्दुर) जातको चामल, जुम्लाबाट मार्सी, सिमीदाल, स्याउ, चिनो तथा कागुनो, मुगुबाट जिम्बू, मासको दाल, मुस्ताङबाट स्याउ तथा आलु, इलामबाट गाईको घ्यु, दोलखाबाट किवी, गुल्मीबाट सखर तथा गुँद, कपिलवस्तुबाट कालानमक चामल, कास्कीबाट जेठोबुढो, तनहुँबाट निलो आलु, रोल्पाबाट जंगली मह र जाजरकोटबाट भिरमोरी ल्याउँछन्।
काठमाडौं अर्ग्यानिक्स बजार सबभन्दा बढी कर्णाली प्रदेशका सामानले ओगटेको भुवन बताउँछन्। ग्राहकले खोजेका तर यहाँ उत्पादन नहुने केही सामान पनि उनीहरूले राखेका छन्। भारत लगायत अन्य देशबाट ओखरको तेल, चिया सिड, लगायत आउने उनले बताए।
'ग्राहकको मागअनुसार केही खाद्यान्न विदेशबाट पनि ल्याएर राखेका छौं,' भुवनले भने, 'दस प्रतिशत बाहिरको सामान छ भने ९० प्रतिशत यहीँको उत्पादन छ।'
कम्पनीले बेचेको मूल्यको ६० देखि ७० प्रतिशत किसानले पाउने दावी भुवन गर्छन्। मूल्य नपाउने समयमा पनि किसानलाई लागतभन्दा बढी मूल्य दिने उनको भनाइ छ।
'हाम्रो व्यापार पारदर्शी छ। किनेको मूल्य किसानलाई थाहा हुन्छ, बेचेको मूल्य सबैलाई थाहा हुन्छ,' उनले भने, 'यहाँबाट सामान किन्दा किसान, उपभोक्ता कोही ठगिँदैनन्। हामीलाई ५ देखि ७ प्रतिशत मात्रै बच्छ।'
धेरै ग्राहकले अर्ग्यानिक सामान महँगो भएको गुनासो पनि गर्छन्। ढुवानीका कारण मूल्य बढी परेको निशाले बताइन्, 'जुम्लाबाट सामान ल्याउनभन्दा दिल्लीबाट ल्याउन सस्तो छ।'
त्यस्तै उत्पादकले कहिलेकाहीँ नराम्रो सामान पठाउँदा घाटा लाग्ने उनी बताउँछिन्।
'हामीले ग्रेडिङ गरेर राम्रो सामान मात्रै बेच्छौं,' उनले बिग्रिएको स्याउको कार्टुन देखाउँदै भनिन्, 'दस कार्टुन स्याउ मगाएकोमा दुई कार्टुन मात्रै राम्रो छ।'
सामान जोगाइराख्न कम्पनी आफैं कोल्डस्टोर बनाउने तयारीमा छ। तरकारीको उचित व्यवस्थापनका लागि ककनीमा ३० रोपनीमा तरकारी लगाउन महिला समूहसँग सहकार्य गरेको छ। आगामी दिनमा हस्तकला सामान पनि बेच्ने योजना बनाएको भुवन बताउँछन्।
अहिलेसम्म इ-कमर्सबारे कानुन नबनेकालाई ग्राहकलाई अनलाइन बजारमा विश्वास दिलाउन गाह्रो भएको भुवनको अनुभव छ। डेलिभरी गर्दा ग्राहकको घर पत्ता लगाउन उत्तिकै सकस हुन्छ। त्यस्तै इन्टरनेट सस्तो नभएसम्म अनलाइन व्यवसाय नफस्टाउने उनी बताउँछन्।
'हामीकहाँ इन्टरनेट र गुगल म्यापको समस्या छ, ग्राहकको घर भेट्नै मुश्किल हुन्छ,' भुवनले भने।