'लुट' फिल्म हामीमध्ये धेरैले हेरेका होलाऊँ। दुई भागमा आएको फिल्ममा हाकु र उनका साथीहरू मिलेर बैंकबाट पैसा लुट्छन्। तर अन्त्यमा हाकुले साथीहरूलाई धोका दिन्छन्। अरू जेल जान्छन्, हाकुले पैसा हडप्छन्। जेलबाट निस्केपछि उनीहरूले हाकुलाई खोज्दै हिँड्छन्। हाकु भाग्दै बस्छन्।
यिनै हाकुको भागदौडको यात्रा अब हेर्न होइन, तपाईं आफैंले खेल्न सक्नु हुनेछ।
हामी कुरा गर्दैछौं अनलाइन भिडिओ गेम 'हाकु रन' को।
यो गेम बनाएका हुन् ३४ वर्षीय उत्तम अधिकारी, ३० वर्षीय उदय गुरूङ र ३२ वर्षीय रविन शर्माले। स्वदेशी र मौलिक परिवेशमा रहेर गेम बनाउने उद्देश्यले हाकु रन ल्याएको उनीहरू बताउँछन्।
'यो नेपाली फिल्म लुट २ को कथामा आधारित अनलाइन गेम हो,' संस्थापकमध्येका एक रविनले भने, 'नेपाली मौलिक परिवेशमा बनाइएको र नेपाली चलचित्रमा आधारित यो पहिलो गेम हो।'
अनलाइन गेमको आवश्यकता र बजार देखेर विकास गरेको उनी बताउँछन्।
लुट फिल्म सफल र लोकप्रिय बनेका कारण गेम पनि लोकप्रिय बनेको उनको भनाइ छ। गेम सफल हुनु उनीहरूको अपेक्षाभन्दा बाहिरको कुरा थियो।
'गेम तीन दिनमा दस हजार पटक डाउनलोड भएको थियो,' रविनले भने, 'हाकु रनको सफलताले मौलिक परिवेशमा बनाइएको गेम रूचाइने रहेछ भन्ने आभास गरायो।'
सँगै नेपालमा गेमिङ प्लेटफर्म नभएको महसुस पनि गरे। त्यसैले उनीहरूलाई अझै केही गर्नुपर्छ भन्ने जोस आयो। अब उनीहरू नेपाललाई गौतम बुद्ध, सगरमाथाको देश मात्र नभएर खेल क्षेत्रले चिनाउने जमर्कोमा लागेको रविन बताउँछन्।
'गेममा रूचि भएकाहरूका लागि अब स्वदेशी गेम आएको छ। विदेशी गेम नखेली नेपाली परिवेशमा बनेको आफ्नै मौलिक गेम खेल्न सकिन्छ,' उनले भने।
उनीहरूले यी खेलहरू 'रमाइलो गेम्स' मार्फत् सार्वजनिक गरेका छन्। केही वर्षअघि नै गेमिङ प्लेटफर्मबारे अध्ययन गर्दै जाँदा रमाइलो गेम्सको अवधारणा आएको उनले बताए। नेपालमा गेमिङ संस्कृति चिनाउन र स्थानीय स्तरमा विकसित खेलका लागि एकीकृत प्लेटफर्म बनाउने उद्देश्यले रमाइलो गेम्स सुरू गरेको पनि रविनले जानकारी दिए।
सन् २०२१ अप्रिल १५ देखि सुरू रमाइलो गेम्सका सबै गेम नेपालीले बनाएका हुन्। सबैमा नेपालकै वातावरण झल्किनु यिनको विशषेता हो। अहिले 'चोर पुलिस', 'फाइटर बुढा' लगायत गेम रूचाइएको उनले बताए।
'यो नेपालमा एक मात्र सामाजिक गेमिङ प्लेटफर्म हो,' उनले भने।
रमाइलो गेम्स रेड टेल फक्स प्रालिद्वारा सञ्चालित हो। यो कम्पनीले नेपाली ब्रान्डको गितार 'मन्त्र' बनाउँछ र बुक गर डटकम नामक अनलाइन व्यवसाय पनि सञ्चालन गरिरहेको छ।
रमाइलो गेम्समा हाल एक सय ४० वटा गेमहरू छन् जसमा ४० वटा निःशुल्क छन्। प्रिमियम खेल्न मासिक ६० रूपैयाँदखि वार्षिक पाँच सय रूपैयाँसम्म तिरेर सदस्यता लिनुपर्छ।
'६० रूपैयाँ तिरेपछि एक महिनाभरि प्लेटफर्ममा भएका कुनै पनि प्रिमियम गेम खेल्न सकिन्छ,' रविनले भने।
उनका अनुसार यो प्लेटफर्ममा एक क्लिकमै गेम सुरू गर्न र मोबाइलको धेरै मेमोरी नलिई खेल्न सकिन्छ। प्लेटफर्ममा लिडरबोर्ड प्रणाली छ जुन सबै खेलाडीले हेर्न सक्छन्। कुन खेलाडी कुन स्थानमा छ भन्नेसमेत देखाउँछ। यसले खेलाडीमाझ प्रतिस्पर्धी भावना जगाउने उनको भनाइ छ।
यसमा प्रयोगकर्ताको प्रोफाइल प्रणाली पनि छ जुन फेसबुकको जस्तै हो। सबै गेमरको प्रोफाइल हेर्न सकिन्छ। रमाइलो गेम्सले दैनिक, साप्ताहिक र मासिक रूपमा विभिन्न प्रतियोगिता पनि गर्दै आएको छ। भर्खरै 'को बन्छ लखपति' नामक सामान्य ज्ञान प्रतियोगिता सुरू गरेको छ।
'जसले धेरै उत्तर मिलाएर महिनाको अन्त्यसम्म लिडरबोर्डमा पहिलो स्थानमा आउँछ ऊ विजेता बन्छ,' रविनले भने।
एउटा सिजनको लखपति गेम एक महिनासम्म चल्नेछ। एक सिजनमा दस जनालाई नगद पुरस्कार दिइनेछ। प्रतियोगिता दोहोरिरहने र हरेक महिनाको अन्तिममा विजयी घोषणा गरिने उनले बताए।
पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार जित्ने छन्। पाँचौंदेखि दसौं हुनेलाई तीन हजारदेखि ७५० रूपैयाँसम्मको पुरस्कार छ। उनीहरूले कार्यक्रमका लागि विभिन्न ब्रान्डसँग सहकार्य गरेका छन्।
'रमाइलो गेम्सले दिगो गेम प्लेटफर्म बनाउने दिशामा काम गरिरहेको छ,' रविन भन्छन्, 'नेपाली गेम बनाउनेहरूले बिस्तारै यही प्लेटफर्ममा आफ्नो गेम राख्न पाउने छन्। उनीहरूले बनाएको गेम खेलिएको अनुसार रोयल्टी दिने व्यवस्था अनुरूप काम भइरहेको छ।'
त्यस्तै गेमरले खेल क्रममा पाएका 'क्वाइन' बाट दराजजस्ता विभिन्न अनलाइन प्लेटफर्ममा सामान किन्न सकिने उनले बताए। रमाइलो गेम्सले कक्षा एकदेखि दससम्मको पाठ्यक्रममा आधारित गेम पनि सुरू गर्ने योजना बनाएको छ। यसमा विद्यार्थीहरूले गेम खेल्दैखेल्दै पढ्न सक्ने विश्वास उनीहरूको हो।
'रमाइलो गेम्सलाई गेम खेल्न रूचाउने र गेम बनाउनेहरूका लागि हबका रूपमा विकास गर्ने योजना छ,' रविनले भने।