भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँछ। सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ।
वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
यसअघि वैशाख ३ गते आइओसीले पठाएको मूल्यको तुलनामा अहिले सबभन्दा बढी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको देखिन्छ। पन्ध्र दिन अघिभन्दा अहिले ग्यास एक सिलिन्डरमा ९८ रूपैयाँ ७३ पैसा बढेको छ। त्यो बेला प्रतिसिलिन्डर दुई हजार पाँच सय ५१ रूपैयाँ ४५ पैसामा आएको ग्यास अहिले दुई हजार ६ सय ५० रूपैयाँ १८ पैसा भएको छ।
त्यस्तै डिजेलमा प्रतिलिटर दस रूपैयाँ ८ पैसा बढेको छ। पन्ध्र दिनअघि लिटरको एक सय ७३ रूपैयाँ ५ पैसामा निगमले किन्ने डिजेल अब एक सय ८३ रूपैयाँ १३ पैसा पर्ने भएको हो।
पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ८३ रूपैयाँ २ पैसा पुगेको छ। पन्ध्र दिनअघि प्रतिलिटर एक सय ७८ रूपैयाँ १६ पैसा थियो। यसमा चार रूपैयाँ ८६ पैसा वृद्धि भएको छ।
हाल निगमले ग्यास प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री गरिरहेको छ। त्यस्तै पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बेचिरहेको हो।
त्यस्तै पन्ध्र दिनअघिको तुलनामा अहिले मट्टीतेल लिटरमा तीन रूपैयाँ ८६ पैसा बढेको हो। हवाई इन्धन (आन्तरिकतर्फ) पनि चार रूपैयाँ १२ पैसा र बाह्यतर्फ चार रूपैयाँ १४ पैसा वृद्धि भएर आएको छ।
आइओसीले धेरै समयपछि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो। पहिले कुनै न कुनै इन्धनको मूल्य घटेर आउने गरेको थियो। वैशाख ३ गते पनि पेट्रोलमा केही मूल्य घटेर आएको थियो।
विश्व बजारमा प्रशोधित तेलको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारहरू बताउँछन्।
पछिल्लो एक/डेढ महिनामा डिजेलमा प्रतिलिटर ३४ रूपैयाँसम्म बढेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
'विश्व बजारमै डिजेलको माग उच्च रूपमा बढेको छ। माग बढेअनुसार उत्पादन बढेन। त्यसैले डिजेलको मूल्य बढेको हुन सक्छ,' उपाध्यायले भने।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने हो।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।
तर यसपालि आइओसीले मूल्य बढाएर पठाए पनि निगमले मूल्य बढाउने तयारी गरेको छैन। पहिले आइओसीले नयाँ मूल्य पठाउनेबित्तिकै निगमले हेरफेर गर्थ्यो। पछिल्लो समय भने दुई-तीन पटक नयाँ मूल्य आउँदा पनि निगमले यहाँ भाउ हेरफेर गरेको छैन।
अहिले पनि नयाँ मूल्य तोक्नेबारे कुनै निर्णय नआएको प्रवक्ता उपाध्यायले बताए।
'आइओसीको मूल्यबारे हामीले सञ्चालक समितिलाई जानकारी गराएका छौं,' उनले भने, 'नयाँ मूल्यबारे केही निर्णय आएको छैन।'
उपाध्यायका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निगम सञ्चालक समितिले तोक्न थालेको छ। ०७१ सालदेखि सबै पेट्रोलियम पदार्थमा निगमले स्वचालित मूल्य लगाउन सक्ने व्यवस्था छ। तर मूल्य अत्यधिक बढ्न थालेपछि घटाउने/बढाउने निर्णय हाल समितिले नै गर्दै आएको हो। निगम व्यवस्थापकले पेट्रोलियम पदार्थमा प्रतिलिटर तीन रूपैयाँभन्दा बढी बढाउन सक्दैन।
आइओसीलाई भुक्तानी गर्न रकम अभाव भइरहेको पनि उपाध्यायले बताए। उनका अनुसार आइओसीलाई पैसा तिर्न सरकारसँग रकम माग गरे पनि निगमले अहिलेसम्म पाएको छैन। उनले भने, 'आगामी दिनमा आइओसीलाई पैसा पठाउन हामीलाई सरकारले सहयोग नगर्ने हो भने निकै समस्या पर्छ।'
वैशाख १८ गते बढेर आएको मूल्यसँगै आगामी पन्ध्र दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।
आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रूपैयाँ दुई पैसा र डिजेलमा ४० रूपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ।
मट्टीतेल भने लिटरमा २ रूपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १२ रूपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रूपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ।