राष्ट्र बैंकले आयात कडाई गरेपनि चैतसम्ममा यस्ता वस्तुहरूको आयात २७ प्रतिशतले वृद्धि भएको छ।
आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंकले २०७८ माघ २६ गते विभिन्न ४७ भन्सार कोड अनुसारका २७ सयभन्दा बढी वस्तुमा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकले कडाई गरेका यस्ता सामानहरू चालु आर्थिक वर्षको ९ महिनामा तीन खर्ब ३२ अर्ब रूपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। जबकि गत आर्थिक वर्षको यही अवधिमा दुई खर्ब ५३ अर्ब रूपैयाँ बराबरको यस्ता वस्तुहरू आयात भएको थियो।
कडाई गर्नुअघि नै प्रतित पत्र खोलिएका वस्तुहरू त्यसपछि पनि आयात हुने भएकोले यसको प्रभाव देखिन समय लाग्ने राष्ट्र बैंकले बताउदै आएको छ। अघिल्लो आवको चैतमा मुलुकमा १४ खर्ब ३३ अर्ब रूपेयाँ बराबरको सञ्चिति रहेकोमा यो चैतमा घटेर ११ खर्ब ६७ अर्बमा सीमित भएको छ।
कोभिड-१९ महामारीका कारण पनि यसअघि आयात अवरुद्ध हुँदा बढेको विदेशी मुद्राको सञ्चिति आयात खुलेसँगै उच्च दरमा घट्न थालेको छ। यस्तो सञ्चितिले हाल ६ महिना ६ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था छ। विदेशी मुद्रा आर्जनका स्रोत रेमिटेन्स भित्रने दर वार्षिक रूपमा घट्नु, पर्यटकको आगमन कोभिड-१९ महामारी पुर्वको अवस्थामा नपुगेपछि पनि यस्तो आम्दानी बढ्न सकेको छैन।
आयात कडाई गरिएका वस्तु मध्येमा ल्वाङ जन्य वस्तु ७९ प्रतिशतले घटेको छ। सिसाको गिलास तथा बोटलहरू ३२ प्रतिशतले, मोटरसाइकल १० प्रतिशतले, जिउँदो माछा, दूधजन्य पदार्थलगायतका वस्तु ५९ प्रतिशत, फूल १५ प्रतिशतले र छोकडा ५५ प्रतिशतले घटेको छ।
त्यस्तै, चना, केराउलगायतका वस्तु एक सय ५० प्रतिशत, फ्रोजन आइटम ५९ प्रतिशत, सुटकेस, हाते ब्याग, लेदरका पञ्जा लगायत अन्य सामाग्रीहरू ७२ प्रतिशत, सुन ९४ प्रतिशत, विद्युतीय घडी, बत्ती लगायतका सामाग्रीहरू र चित्रकलाका सामाग्रीहरू सय प्रतिशतभन्दा माथिले बढेका छन्।
आयात कडाई गरिएका वस्तुमा चिनी, चुइगम, पानी, इनर्जी ड्रिंस, सुर्तीजन्य पदार्थ, प्लाई, उड, ह्वाइट बोर्ड, ब्ल्याक बोर्ड, तथा काठका सामाग्री, जुत्ता, आर्टिफिसियल फूललगायत वस्तु छन्।
राष्ट्र बैंकले चाँदी तथा चाँदीको सामाग्रीहरू, अटो रिक्सा तथा पार्टपुर्जा, धातु प्रयोग भएका फर्निचर, वाकरहरू, सिट कभर, विद्युतीय बत्ती, तास, मह, फूलका बिरूवा, चना, सुपारी, केरा, मरिच, ससेज, कफिको दाना तथा धुलो पाउडर गालेका अचार, सस, जाम, हर्बल चियालगायत वस्तु आयातमा पनि कडाई गरेको छ।
रङ, खाद्य रङलगायत, शौचालयमा प्रयोग हुने साबुन, स्याम्पू, प्लाष्टिकबाट बनेका सामाग्रीहरू, कार्पेट, लत्ता कपडा तथा कपडाजन्य सामाग्रीहरू, सुन, चाँदी, कृषि औजार तथा भान्सामा प्रयोग हुने सामाग्रीलगायत, चित्रकलाका सामाग्री लगायतका वस्तुहरूमा पनि राष्ट्र बैंकद्वारा आयातमा कडाई गरिएको छ।