रूस र युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजार महँगो बनाइदिएको छ।
पेट्रोलियम पदार्थ, सुन लगायत अन्य वस्तुसँगै खाद्यान्न बजारमा पनि यो युद्धको प्रभाव परेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य बढ्ने क्रम जारी छ।
युद्धमा होमिएका यी दुई देश पेट्रोलियम पदार्थसँगै कृषि उत्पादनका पनि ठूला निर्यातकर्ता हुन्। यिनले मध्यपूर्वसहित विभिन्न मुलुकमा खाद्यान्न पठाउँछन्। विश्वको कुल गहुँ निर्यातमा रूस र युक्रेनले मात्रै झन्डै ३० प्रतिशत र मकै निर्यातमा १९ प्रतिशत स्थान ओगट्छन्।
एकातिर मूल्य बढ्ने, अर्कातिर खाद्यान्न उत्पादन गर्ने विश्वका दुई ठूला मुलुक लडाइँमा होमिँदा खाद्यान्न संकटको अवस्था आउने चिन्ता बढेको छ।
विश्वका धेरै जसो मुलुक खाद्यान्न संकटमा परिसकेको अन्तर्राष्ट्रिय रिर्पोटहरूले बताएको छ। कतिपय देशले खाद्यान्न निर्यातमा समेत प्रतिबन्ध लगाइसकेका छन्। हालै भारतले पनि खाद्यान्न जोहो गर्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ।
हामी पनि खाद्यान्नमा भारतसँगै निर्भर छौं। हामीलाई बर्सेनि ६ लाख मेट्रिक टन धान अपुग हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकले देखाउँछ।
यदि भारत सरकारले धानमा प्रतिबन्ध लगाउने हो भने यहाँ पनि खाद्यान्न संकट आउने नेपाल चामल, तेल, दाल उत्पादक संघका उपाध्यक्ष नरेश राठीले बताउँछन्। यहाँका मिलमा भएको उत्पादनले दुई महिना मात्रै धान्न सक्ने उनको भनाइ छ।
'हामी ठूलो परिमाणमा आयात गरेर राखौं भने सरकारले कडाइ गरेको छ,' उनले भने, 'सरकारले नै ग्लोबल टेन्डर गरेर खाद्यान्न स्टक राख्नुपर्छ।'
अहिले सरकारले दीर्घकालीन रूपमा सोचेर अगाडि बढ्न पर्ने उनको भनाइ छ।
'उत्पादन वृद्धि गर्न हामीसँग मल पर्याप्त छैन। अहिले पनि असारलाई मल आउँछ कि आउँदैन टुंगो लागिसकेको छैन,' उनले भने, 'यो अवस्थामा सरकारले अहिल्यै नै जोहो गर्नुपर्छ।'
यता कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भने खाद्यान्न संकटको अवस्था नआउने बताउँछ।
खानाको सन्तुलन मिलाएर खाने हो भने खाद्यान्न अभाव नहुने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए। विकसित मुलुकले गहुँ र मकै लगायत खाद्यान्नमा मात्रै निर्यात प्रतिबन्ध लगाएकाले हाम्रोमा खाद्यान्न अभाव नहुने उनको अनुमान छ।
'हाम्रोमा गहुँ, मकै पर्याप्त मात्रामा उत्पादन हुन्छ। चामल थोरै मात्रामा अपुग हो,' उनले भने, 'खानाको सन्तुलन मिलाउने हो भने खाद्यान्न अभाव हुँदैन।'
मकै, गहुँ, कोदो, फापर सबैको उत्पादन र प्रतिवर्ष प्रतिव्यक्तिको उपभोग हेर्ने हो हामीलाई खाद्य संकट नआउने उनको भनाइ छ। उनका अनुसार हाम्रोमा औद्योगिक प्रयोजनका लागि चाहिने खाद्यान्न बाहिरबाट आउँछ। खानका निम्ति हाम्रो उत्पादन पर्याप्त छ।
'महँगी बढ्दै गयो। आयात प्रणालीमै कुनै असर आयो भने भन्न सकिँदैन,' उनले भने, 'यही परिस्थितिमा चाहिँ खाद्यान्न अभाव हुँदैन।'
आगामी वर्षलाई कृषि उत्पादन बढाउने कार्यक्रम ल्याउन लागिएको उनले जानकारी दिए।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा एक लाख ४३ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्।
उनका अनुसार सुगम जिल्लामा ५५ हजार र दुर्गका २४ जिल्लामा १४ हजार क्विन्टल गरी कुल ८० हजार क्विन्टल चामल मौज्दात छ।
त्यस्तै, कम्पनीमा ६२ हजार क्विन्टल धान र चार सय क्विन्टल गहुँ मौज्दात छ। एक लाख ५७ हजार क्विन्टल खाद्यान्न बोलपत्रको माध्यमबाट खरिद व्यवस्था भइरहेको सुवेदीले जानकारी दिइन्।