काठमाडौं उपत्यकाको पुरानो बस्तीमा बसेर नेवारी खाजा खान चाहनुहुन्छ? एक रात त्यहीँ बसेर वरिपरिका रमाइला ठाउँ घुम्न पनि चाहनुहुन्छ कि? यसो हो भने ललितपुरको खोकना गए हुल्छ!
खोकनामा बस्ने, खाने र घुम्ने व्यवस्था गर्छ 'लाछी' ले। नेपाल भाषामा लाछीको अर्थ आँगन अर्थात खुला ठाउँ हो।
लाछी सुरू गरेका हुन् स्थानीय हरिनाथ डंगोलले।
'लाछीमा नेवारी खाजा खान पाइन्छ। खोकनाबारे जानकारी लिन पाइन्छ,' उनले भने।
लाछी अनलाइन सपिङ साइट पनि हो। खोकनाका स्थानीयद्वारा उत्पादित सामानहरू यसको वेबसाइटमार्फत् किन्न पाइन्छ। खोकनाका महिलाले बुनेका चकटी, गुन्द्री, मुडा लगायत सामग्री राखिएको छ। यहाँ उत्पादित हर्बल टी, तोरीको तेल पनि किन्न पाइन्छ।
हरिनाथ भन्छन्, 'टोलमा महिला समूहहरू छन्। उनीहरूले बनाएका सामान हामी अनलाइन र फेसबुक पेजमार्फत वा यहीँबाट पनि बेच्छौं।'
दक्षिणकाली, सबभन्दा पुरानो जलविद्युत केन्द्र (हाइड्रो पावर) हात्तीवन, चम्पादेवी, सिकाली चौर, टौदह घुम्न पनि पाइन्छ। बस्न चाहनेलाई होम–स्टे व्यवस्था छ। लाछीमा नेवारी खाजाका परिकार बनाउन सिक्ने सुविधा पनि छ।
खोकना काठमाडौं उपत्यकाको दक्षिणतर्फ ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा पर्ने पुरानो नेवार बस्ती हो। सहरी कोलाहबाट अलग रहेको खोकनामा मध्यकालीन कला संस्कृति अवलोकन गर्न पाइन्छ। खोकना तोरीको तेलका लागि काठमाडौं उपत्यकामा प्रसिद्ध छ।
२०७२ को भुइँचालोपछि प्रायः सबै क्षेत्रको पर्यटन व्यवसाय खस्कियो। त्यसैमध्येमा खोकना पनि थियो। हरिनाथ भूकम्पले ध्वस्त बनाएको खोकनाको पर्यटनमा पुनर्जीवन ल्याउन चाहन्थे। कोरोना महामारीका समय उनलाई एउटा आइडिया फुर्यो। त्यही आइडियाको उपज हो लाछी।
हरिनाथका साथमा छन् उनका दुई जना भाइ। गैरसरकारी संस्थामा काम गरेका हरिनाथलाई पर्यटन क्षेत्रको उति ज्ञान थिएन। कोभिड–१९ ले दिएको फुर्सदमा गहिरिएर सोच्न पाए। आफ्नो ठाउँ खोकनाको पर्यटन विकासमा सघाउन केही काम गर्ने योजना बनाए।
उनका अनुसार भूकम्पपछि यहाँका बासिन्दाको जीवनशैली फेरिँदै गयो। भूकम्पले घर भत्किएपछि धेरै जना सहरी क्षेत्रमा सरे।
हरिनाथ भन्छन्, 'परालबाट सुकुल, गुन्द्री बन्ने चलन थियो। अहिले हराइसक्यो। धान झारेपछि पराल खेतबाटै बेचिदिन्छन्।'
खोकनामा त्यहाँको नेवारी संस्कृति र जीवनशैली अवलोकनका लागि विदेशी र स्वदेशी पर्यटक आउँछन्। हरिनाथ खोकना परम्परागत शैलीमै रहोस् भन्ने चाहन्छन् जसले स्थानीय बासिन्दाको पहिचान कायम रहोस्, पर्यटन फस्टाओस् र आम्दानी बढोस्।
हरिनाथले कोभिडको समयमा होम–स्टे र अनलाइन बजार फस्टाएको देखे। उनले पनि यस्तै व्यवसाय सञ्चालन गर्ने योजना बनाए। उनले आफ्नो योजना भाइहरूलाई सुनाए। तीनै जना आपसमा मिलेर व्यवसाय गर्न सहमत भए।
भाइहरूले साथ दिने भएपछि हरिनाथ एनजिओको काम छाडेर आफ्नो व्यवसायको तयारीमा जुटे। उनले भूकम्पले क्षति पुर्याएको आफ्नो घर मर्मतसम्भार गरेर 'लाछी' नाममा नेवारी खाजाका परिकार बेच्ने सानो खाजा घर खोले। परिकार बनाउन दुई जना सहयोगी राखे।
हरिनाथले खोकनामा महोत्सव चलेको मौका पारेर लाछी सुरू गरेका थिए। खाजा व्यापार निकै राम्रो भयो। काम सुरू गरेको एक महिना नपुग्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले फेरि अर्को लकडाउन भयो।
लकडाउनका बेला पनि हरिनाथले नेवारी खाजा बनाएर बेच्न छाडेनन्।
'लकडाउनमा स्थानीयवासीलाई खाजा बेच्यौं,' उनले भने, 'जागिर खाँदा मनमा आनन्द थिएन। आफ्नै व्यवसाय भएर होला पैसा नकमाए पनि आनन्द लागेको छ।'
लकडाउनको समयमै उनीहरूले लाछीको वेबसाइट पनि सुरू गरे। हरिनाथका अनुसार सकेसम्म मानिसहरू खोकनामै आएर यहाँका उत्पादन किनून् भन्नेमा उनीहरू जोड दिन्छन्। यसो हुँदा मानिसहरूले खोकना चिन्न पाउँछन्। आउन नसक्नेका लागि डेलिभरीको व्यवस्था छ।
तराई–मधेश द्रुत मार्गमा परेको जग्गाबाट पाएको मुआब्जा रकम लगानी गरेर लाछी सञ्चालन गरेको हरिनाथले बताए। तीन भाइमध्ये एक जनाले अनलाइन व्यापार हेर्छन्।
कोरोना महामारी मत्थर भएपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। नबिल बैंकले नयाँ उद्यमीलाई व्यवसायमा आएका समस्या समाधानमा सहयोग गर्ने गरेको छ। यसमा लाछी पनि छनोट भएको छ। नबिलले आफूले छनोट गरेका व्यवसायीहरूका लागि एक महिनामा तीन दिनका दरले अठार दिन कार्यशाला चलाउँछ।
'कार्यशालामा विज्ञहरूले व्यवसायमा आएका समस्या समाधानका उपायबारे सुझाव दिन्छन्,' हरिनाथले भने, 'अब १२ दिनको वर्कसप बाँकी छ।'
हरिनाथ ३८ वर्षका भए। बिहान कलेजमा पढाउँछन्। यसपछिको समय व्यवसायमा दिन्छन्।
'विद्यार्थी र अनुसन्धानकर्ताका लागि अनुभव बटुल्न खोकना अत्यन्तै उपयुक्त ठाउँ हो,' उनी भन्छन्, 'खोकना तोरीको लागि प्रसिद्ध छ। यहाँ समुदायबाट चलेको पुरानो तोरीमिल छ। कुनै बेला खोकनामा तोरी पेलेको हेर्न धेरै विद्यार्थी आउँथे।'
नेवारी खाजा प्रवर्द्धन गर्नु र खोकनालाई पर्यटकीय स्थल बनाउनु आफ्नो उद्देश्य रहेको हरिनाथको भनाइ छ।
हालसम्म लाछीले नाफा कमाएको छैन तर सञ्चालन खर्च पुर्याएको छ। डंगोल दाजुभाइहरू खोकनामा होम–स्टे व्यवसाय प्रवर्द्धन गर्न चाहन्छन्। स्थानीय स्तरमै आम्दानीको बाटो भयो भने युवाको विदेश पलायन रोकिने हरिनाथको विश्वास छ।