हाम्रा मास्टर-सेफ
उमेर तीन बीस र पाँच भयो। कामको धोको अझै पूरा भएको छैन। काम गरेको ४५ वर्ष पूरा भइक्यो। जाँगरमा कुनै कमी छैन।
हामी कुरा गर्दैछौं ललितपुरको कुपन्डोलस्थित चारतारे होटल 'हिमालय' का एक्जुकेटिभ सेफ कमल राणाको।
स्वदेशी-विदेशी ठूला होटलहरूमा साढे चार दशकको अनुभव सँगालेका उनी भन्छन्, 'उमेर जति उमेर ढल्कियो, त्यति काम गर्ने जाँगर बढेको छ।'
कमल हरेक दिन बिहान साढे आठ बजे होटल पुग्छन्। फर्किने समयको टुंगै हुँदैन। होटलका सबै ग्राहकलाई खुवाएर मात्रै निस्किन्छन्। यतिन्जेलमा कति बज्छ, पहिले नै कहिल्यै थाहा हुँदैन।
उनका अनुसार हिमालय होटलमा १२० वटा कोठा छन्। सात वटा बैंक्वेट हल छन्। बिहेको लगनको समयमा भ्याइनभ्याइ हुन्छ। कमललाई दैनिक २० जनाभन्दा बढीले काम सघाउँछन्। ती सबैको कामको बाँडफाँट र व्यवस्थापनको जिम्मा उनकै हो।
ललितपुरकै सानेपा स्थायी घर भएका उनको बसाइ भने काठमाडौं, सामाखुसीस्थित टाउन प्लानिङमा छ।
कमलका बुबा सेनामा जागिरे थिए, आमा गृहिणी। जागिरे बाबुका छोरा कमलको बाल्यकाल सुखद थियो। उनले २०३० सालमा विश्व निकेतन स्कुलबाट एसएलसी परीक्षा दिए। परीक्षापछि फुर्सदिला भए। त्यसै बेला उनी होटल क्षेत्रमा प्रवेश गरेका हुन्।
खाना पकाउनु उनको रूचिको कुरा थिएन, साथीको लहलहैमा लागेर होटलमा काम गर्न पुगे।
कमलका अनुसार त्यो समय एसएलसी परीक्षा दिएपछि विदेश जाने वा कुनै काम गर्ने चलन थियो। एक दिन उनलाई एक जना साथीले होटलको तालिम लिन जाऔं भने। मिठा परिकार खान पनि पाइन्छ भनेर हौस्याए पनि। त्यही पारामा लागेर कमल खाना पकाउने तालिम लिन गए।
'त्यो बेला हाम्रो घरमा पत्रपत्रिका आउँदैन थियो। साथीका बुबा राष्ट्र बैंकमा काम गर्थे, उनीहरूको घरमा गोरखापत्र आउँथ्यो,' कमलले सम्झिए, 'पत्रिकामा होटल तालिमको विज्ञापन आएको रहेछ। साथीले मिठोमिठो खान पाइन्छ, जाऔं भनेकाले गएँ।'
डिल्ली बजारमा 'होटल म्यानेजमेन्ट एन्ड टुरिजम ट्रेनिङ सेन्टर' नामको सरकारी निकाय थियो। अहिले 'नेपाल एकेडमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम)' भनेर चिनिन्छ। तालिम हाउसकिपिङ, फ्रन्ट-अफिस, फुड-प्रोडक्सन, फुड एन्ड वेभरेजबारे थियो। उनीहरूले फुड-प्रोडक्सनमा आवेदन दिए।
छनोटको अन्तर्वार्तामा बसेका मध्ये एक जनाले सोधे– भात पकाउन जानेको छ कि छैन?
कमलले कहिल्यै भात पकाएका थिएनन्। आमाले पकाएको देखेका थिए। औंला चोबेर चामलमा पानी मिलाएको पनि याद गरेका थिए।
केही नसोची उनले जवाफ दिए– आउँछ।
तिनले फेरि सोधे– कसरी पकाउने?
कमलले हातले इशारा गर्दै जवाफ दिए– भाँडामा चामल हाल्ने, मजाले पानी हाल्ने, हातले नापेर पानी ठिक्क मिलाउने र आगोमा बसाउने।
उनको जवाफले हाँसो फैलियो।
कमल तालिमका लागि छनोट भए। इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना बनाउने आधारभूत तालिम आठ महिना चल्यो।
तालिम पूरा भएपछि उनले सोल्टी होटलमा आवेदन दिए। उनी छानिए। 'ट्रेनी कुक' का रूपमा कामको अवसर पाए। तलब मासिक १ सय ७५ रूपैयाँ थियो।
काम सुरू गरेपछि आफू सोल्टीमा जागिरे भएको कुरा घरमा सुनाए। तर के काम हो, त्यो भनेनन्। तलब मात्र सुनाए। होटलमा आफूले गर्ने कामबारे नभन्नुको खास कारण थियो। खाना बनाउँछु भन्दा आमाबुबालाई मन नपर्ने हो कि भन्ने उनलाई शंका थियो।
'भान्से काम भन्ने घरमा थाहा थिएन। सोल्टी होटलमा जागिर भन्नु नै ठूलो कुरा भएको थियो,' कमलले भने, 'सेफ के हो, कुक के हो थाहै थिएन। जर्नेलले पनि नखाने तलब खान्छ भनेर बुबा मख्ख हुनुहुन्थ्यो।'
कुरा कति दिन लुक्थ्यो र! केही महिनामा त कुक हो भन्ने थाहा भइगयो।
'बुबाका साथीहरू राणाको छोरा भएर पनि भान्सेको काम गर्छन् र भनेर जिस्क्याउनु हुन्थ्यो। बुबाले नराम्रो मान्नु भएन,' उनले भने।
त्यो समय होटलका माथिल्ला तहका कर्मचारीहरू सबै विदेशी थिए। नेपाली कामदार साना तहमा मात्रै थिए।
कमल एसएलसी पनि उत्तीर्ण भए। बिहान पढाइ हुने कलेजमा भर्ना भए। अब उनको दिनचर्या एउटा पूर्वनिर्धारित नियमझैं भयो; बिहान कलेज जाने, कलेजपछि होटल जाने।
आफ्नै मर्जीले सुरू गरेकाले होला, कमल काममा रमाउँदै गए। रूचि बढ्दै भयो। यस्तो पेसाको मान र महत्त्व थाहा पाउँदै गए।
'म होटलको भान्सामा रम्न सकेँ र त्यही जमेँ। मसँगै होटल छिरेका धेरै साथी सरकारी जागिरमा गए,' कमलले भने, 'मेरो उमेरका सबै साथी रिटायर भएर बसिरहेका छन्। म अहिले पनि ऊर्जाका साथ काम गरिरहेको छु।'
उनले सोल्टी होटलमा १२ वर्ष बिताए। ट्रेनी कुक भएर सोल्टी होटल छिरेका उनी सिनियर सुपरभाइजर तहमा पुगेर त्यहाँबाट बाहिरिए।
यतिन्जेलमा बिहे पनि भयो।
उनले ठट्यौली पारामा भने, 'कमाउने छोरालाई छोरी दिन आउने भइहाले, २४ वर्षको उमेरमै बिहे भयो।'
सोल्टी होटलपछि कमल भर्खरै खुलेको शेर्पा होटल पुगे। सोल्टीकै एक जना जनरल मेनेजर शेर्पा होटल गएका थिए। उनैमार्फत कमल पनि शू–सेफ तहमा गए। त्यहाँ उनले मासिक आठ हजार रूपैयाँ तलब पाए।
दुई वर्ष काम गरेपछि उनी चारतारे होटल विलिस्टार गए। विलिस्टारमा एक्जुकेटिभ सेफका रूपमा कमलले १४ वर्ष बिताए।
यतिन्जेलमा कमलले होटलमा काम गरेको २८ वर्ष बितिसकेको थियो। देशमा माओवादीको सशस्त्र द्वन्द्व चर्किँदै थियो। त्यसको असर काठमाडौंका ठूला होटलमा पनि देखा पर्यो। विदेशी पाहुनाहरूले चल्ने होटल ठप्प जस्तै भए। कमर्चारीहरूको जागिर जोखिममा पर्यो।
अनि २०५८ सालमा उनी एक जना साथीको सहयोगमा लन्डन पुगे।
'लन्डनमा मेरो एक जना साथी थियो। यहाँ (नेपाल) बसेर आम्दानी गर्न नहुने भएपछि गएँ,' उनले भने।
होटल र रेस्टुरेन्टमा काम गर्दै उनले लन्डनमा सात वर्ष बिताए। नेपालको अवस्था सुधार हुँदै गयो। शान्तिसम्झौता भएर सशस्त्र द्वन्द्व अन्त्य भयो। कमल नेपाल फर्के।
आएर उनी ग्रान्ड होटलमा काम गर्न थाले। ग्रान्डमा दुई वर्ष बिताएपछि मल्ल होटलको क्यासिनोमा काम थाले। क्यासिनोमा भने उनी धेरै बसेनन्। केही समयमै हिमालय होटलले कामको प्रस्ताव गर्यो। उनी त्यतै गएर करिब ६ वर्ष काम गरे।
त्यसपछि उनी पुगे अमेरिका। खासमा उनी उता बस्ने छोरी भेट्न गएका थिए। छोरीकै पहलमा उतै एउटा होटलमा काम पाए। त्यहाँ चार वर्ष काम गरेर देश फर्केको अहिले आठ महिना मात्रै भयो। आउनासाथ उनलाई फेरि हिमालय होटलले बोलायो। उनले स्वीकार गरे।
एउटा होटल छोड्यो, तुरुन्तै अर्कोमा काम। लन्डन गयो उतै काम, अमेरिकामा पनि काम!
'यो पेसा (होटलको सेफ) मा सजिलै काम पाइन्छ। कहीँ पनि भोकै बस्नु पर्दैन। सेफबिना ठूलो होटल र रेस्टुरेन्टको परिकल्पना नै हुँदैन। त्यसैले सेफलाई कहिल्यै कामको खाँचो हुँदैन,' उनी भन्छन्, 'घोकन्ते विद्या मात्रै भएर हुँदैन, सिप हुनपर्छ। सेफमा भविष्य उज्ज्वल छ।'
उनका छोरा पनि यही पेसामा छन्। लन्डनको एक होटलमा जनरल मेनेजरका रूपमा काम गर्छन्।
ठूलो होटलको सेफ हुनु जागिरका हिसाबले निकै राम्रो हुने कमल बताउँछन्। तर कामको चाप थेग्न सक्ने चाहिँ हुनै पर्छ।
'होटलमा आउने पाहुनाहरूको आआफ्नै स्वभाव हुन्छ। स्वाद पनि आआफ्नै हुन्छ। पाहुनाको मनोभाव बुझेर स्वाद पस्किन सक्नु पर्छ,' उनले भने, 'धैर्य र सहन क्षमता हुन पर्छ।'
देश–विदेशका होटलमा कामको लामो अनुभव समेटेका कमलालाई ६५ वर्षको उमेरले बाधा पुर्याएको छैन। जाँगर कति पनि कम भएको छैन।
कमल भन्छन्, 'स्वास्थ्यले साथ दिउन्जेल काम गर्छु।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
'हाम्रा मास्टर-सेफ' शृंखलाको यी स्टोरी पनि पढ्नुहोस्ः
पाँचतारे होटलको ३ भान्सा सम्हाल्ने कृष्ण भन्छन्- हातमा सीप हुन्जेल काम पाइन्छ
जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा
जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा
कलेज पढ्दै 'एम्बासडर' का ३ रेस्टुरेन्ट सम्हालिरहेका दिलीप
४० वर्षदेखि होटलको भान्सामा रमाएका केशव भन्छन्- उमेर ६५ भएर के भयो!