बाजुराका २१ वर्षीय अनिल शाहीले कृषि विज्ञान पढिरहेका छन्। कालिका मावि मुगमा कृषि विज्ञानको अन्तिम सेमेस्टर पुगेका उनी स्नातक तह दोस्रो वर्षमा पनि अध्ययनरत छन्।
अनिलको पहिचान विद्यार्थीमात्र भने होइन। उनी बाजुराका उदाउँदा व्यावसायिक कृषक हुन्।
अनिलका बाजे-बज्यैले आफ्ना बारीमा फलफूल तथा तरकारी लगाउँथे। त्यसपछि उनका आमा-बुवाले पनि आफ्नै तरिकाले परम्परागत खेती गरे।
तरकारी खेतीमा आलु, सिमी र फलफूलमा स्याउको खेती गरिरहे। तर, उत्पादन गरेको त्यो फलफूल तरकारी बेचेर पैसा आउँछ भन्ने ज्ञान उनीहरूलाई थिएन।
‘आमाबुवाले उत्पादन गरेको फलफूल, तरकारी वरपर छरछिमेकी बाँड्थ्यौं, इष्टमित्र आफन्तलाई कोसेली स्वरूप दिन्थ्यौं, बचेको गाई-भैंसीलाई खुवाउँथ्यौं, व्यवसाय भने शून्य थियो,’ अनिलले भने।
समयसँगै उनको गाउँमा विकासका केही पूर्वाधार पुगे। गाउँमै नपुगे पनि गाउँपालिका कार्यालय नजिकै मोटर गुड्ने सडक पुगेको छ।
त्यही सडकले देखाएको हो, अनिललाई खेतीमै भविष्य कोर्ने सपना।
सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका–३ जुकोटका अनिल व्यावसायिक रूपमा फलफूल खेतीमा लागेको २ वर्ष भयो।
‘बाजुरालाई गरिबी, पछौटेपन, भोकमरी विकासमा पछि परेको जस्ता कुराले चिनिन्छ। मचाहिँ यहाँको उत्पादन देशभर पुर्याएर बाजुरा सम्भावनाको खानी हो है भनेर चिनाउन चाहन्छु,’ उनले भने।
सानोमा आमा-बुवासँग खेतबारीमा काम गर्न अनिललाई खुब मजा लाग्थ्यो रे। बारीमा गहुँ छर्न, तरकारी गोडमेल गर्ने भनेपछि रमाइलो मानेर काम गर्थे।
‘सानैदेखि माटोसँग साइनो बनाएँ, ठूलो भएपछि पनि माटोसँगै रमाउने भन्ने सोचमा पुगेँ,’ उनले सुनाए।
उनी आफ्नो उत्पादनलाई देशभर चिनाउने लक्ष्यमा अडिग छन् ।
‘मलाई कृषिको मूल्य थाहा छ, त्यही भएर कडा परिश्रम गरिरहेको छुँ,’ उनले भने।
उनको कृषिको यात्रा भने एसइई पासपछि सुरू भएको हो। बाजुराबाट २०७५ सालमा कृषि जेटीए अध्ययनका लागि कञ्चनपुर पुगे।
आफ्नो इच्छा घरका मान्छेसँग सुनाएपछि उनलाई अध्ययनका लागि कञ्चनपुर पठाइएको थियो।
‘कञ्चनपुरमा एक जना आफन्तले पनि पढ भनेर हौसला दिनुभयो। आमाबाले र आफ्नो इच्छा त छँदै थियो,’ उनले भने।
उनले त्यहाँको कृष्णपुर नगरपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयमा १२ महिना कृषि जेटिए अध्ययन गरे। परीक्षा दिएपछि उनी ६ महिनाका लागि जुम्लाको बागवानी अनुसन्धान केन्द्रमा सिक्न गए।
तालिम लिएपछि कृषि जेटिएमा पास भएर उनी घर फर्के। जुम्लामा ६ महिना तालिम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछन्।
‘जुम्लामा फस्टाएको कृषिले मलाई लोभ्याएको थियो,’ उनले भने।
२०७७ सालमा कृषि जेटिए पास हुनेबित्तिकै उनले जिल्लाको घरेलु तथा साना उद्योगमा ‘हिमालयन फलफूल नर्सरी तथा कृषि पशुपंक्षी फार्म’ दर्ता गरे। अछामको साँफेबगरमा आन्तरिक राजश्व कार्यालयमा पुगेर प्यानमा पनि दर्ता गरे।
दर्ता गरे पनि उनले आफ्नै काम थाली हालेनन्। उनी गाउँपालिकाको कार्यालय कृषि शाखातिर काम गर्न थाले।
उनी त्यहाँ फिल्डहरू जान्थे। बिउ बैंकमा बिउ उत्पादन, फलफूलका ब्लक हेर्ने, रोगकिरा नियन्त्रण गर्ने जस्ता काम गर्थे। तरकारी खेती लगाउन सिकाउँथे।
२ महिना काम गरेपछि आफूले व्यावसायिक रूपमा फलफूल र तरकारी खेती गर्ने निर्णयमा पुगे र त्यहाँको काम छोडे।
‘केही सिकेको सीप ज्ञान र निकै सम्भावना देखेको हुनाले मैले अलिअलि घरबाट लगानी जोरजाम गरेर नर्सरी सञ्चालन गरें,’ उनले भने।
उनले तरकारी फलफूल खेती लगाउने मात्र नभई बोटबिरूवा र बिउबिजन आफैंले उत्पादन गर्ने उद्देश्यले नर्सरी सञ्चालनमा ल्याए।
फार्म दर्ता गरेर नर्सरी चलाउँदा उनले घरबाट साढे २ लाख जति रुपैयाँ मागेर सुरूवात गरेको बताए।
‘करोडौं लगानी लगाएर जुम्ला, बैतडी, इटालीबाट यहाँ बोटबिरुवा, बिउ ल्याउँछन्, त्यो बोटबिउ मैले उत्पादन गरेर यहाँ सस्तोमा उपलब्ध गराउन सकूँ, बाजुराको पैसालाई बाहिर जानबाट रोक्न सकूँ भनेर नर्सरीमा फोकस गरें,’ उनले भने।
अनिलको लालपुर्जा भएको दुई हेक्टर जमिन छ। बाँकी तीन हेक्टर ऐलानी गरी पाँच हेक्टर जमिनभरि उनले फलफूल खेती, तरकारी खेती र नर्सरी सञ्चालन गरेका छन्।
अनिलले कृषि व्यवसायसँगै थप अध्ययन पनि अगाडि बढाए। उनले मुगमा कृषि विज्ञान विषय अध्ययका लागि भर्ना गरे। पढाईसँगै व्यवसाय पनि अगाडि बढाए।
उनले नर्सरीमा दाँते ओखरका पाँच हजार, स्याउका तीन हजार, आरू र खुर्पानीका एक/एक हजार बोटबिरूवा उमारेका छन्। अब उनी किवी, आरूबखडालगायत थप बोट नर्सरीमा थप्ने मनसायमा छन्।
‘यी बोटहरू ल्याउन मनाङ, मुस्ताङमा जानुपर्छ, समय मिलेपछि जान्छु,’ उनले भने।
गत वर्ष नर्सरी स्थापनापछि ओखरका बिरूवा उत्पादन गरेर उनले ३ सय बिरूवा बिक्री गरेका थिए।
‘एक-दुई वर्ष सिकाइको पाटोमै छु। बृहत नर्सरी बनाउने सोच छ, यतै बोटबिरूवा उत्पादन भए गाउँकै किसानलाई फाइदा हुन्छ, सकेसम्म सबै बिरूवा, बिउ उत्पादन गर्ने प्रयासमा छु,’ उनले भने।
अहिले उनको नर्सरीमा पाँच हजार कलमी र बिजबिरूवा छन्। यो वर्ष कृषि ज्ञान केन्द्रले उनकै नर्सरीबाट बिरूवा खरिद गर्ने भनेको छ। मेहनतअनुसार सरकारी मूल्य भने नपाइने गरेको अनिल बताउँछन्।
उनी नर्सरीमा बोटहरू उत्पादन गर्ने गर्छन्। उनीकहाँ दैनिक एक-दुई बोट खरिद गर्ने गाउँकै मान्छे आउँछन्। उनी एक बोटको करिब चार सयका दरले बिक्री गर्छन्।
गत वर्ष नर्सरीमा उत्पादन गरेका बोट, बिरूवा गाउँपालिकाले खरिद गरेर लगेको थियो।
उनले पाँच हेक्टर जमिनमा स्याउ, ओखर, खुर्पानी, आरूका हजारौं बोट लगाएका छन्। केही तरकारी पनि खेती हुन्छ।
‘जति जमिन छ त्यो पुरैमा फलफूल र तरकारी खेती लगाएको छु, चार– पाँच रोपनीमा नर्सरी संचालन छ,’ उनले भने।
एक हेक्टरजति जनिमा भने हाइडोसिटी स्याउ खेती गर्ने भनेर उनले खाली राखेका छन्। त्यसका लागि आफैले काँटछाँट गरे चार सय जति बोटहरु तयारी अवस्थामा राखेका छन्। उक्त खेती गर्न लगानी धेरै लाग्छ कृषि ज्ञानकेन्द्रबाट सहयोग पाउने कुरा भएकोले त्यसैको लागि पर्खेर बसेको अनिलले बताए।
अहिले उनको फलफूल फर्म र नर्सरी र त्यहाँका भौतिक संरचना गरेर १५ लाख लगानी छ।
‘भर्खरै भएकोले लगानी फिर्ता गर्न सकिएको छैन, प्रयासरत छु,’ उनले भने ।
हाल वार्षिक आम्दानी सबै खर्च कटाएर वार्षिक ८ लाख जति हुने गरेको अनिल बताउँछन् ।
‘काम गरेको २ वर्ष जति भएको छ, केही समयपछि लगानी पनि असुल गर्न सकिन्छ नि, एकैनास आम्दानी हुँदैन, थपघट हुन्छ,’ उनले भने।
अनिल कृषिमा लाग्नु पहिला २०७७ मा उनका बुवा-आमाले चालिस हजारको मात्रै स्याउ बिक्री गरेका थिए। त्यसपछि अर्को वर्ष २०७८ मा असिनाले फल झारेर धेरै क्षति गरेको थियो। त्यो बेला पनि बारीमै ३० हजारको मात्रै स्याउ बिक्रि भएको थियो।
यो वर्ष भने अनिल आफैंले भदौतिर पचास क्विन्टल स्याउ बिक्री गरे। आफ्नै बारीबाट फलेको २४ क्विन्टल र बाँकी खरिद गरेर उनले बाजुराबाट सुर्खेत, नेपालगन्ज, धनगढी, लम्कीलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न शहरमा बिक्री गरेका थिए। स्याउलाई बजारसम्म ल्याउन निकै सास्ती भोग्नुपरेको उनको अनुभव छ।
‘स्याउ ल्याउँदा बाटोमा पहिरोले बाटो बन्द भयो, ७ दिनसम्म बाटोमै अलपत्र हुँदा धेरै स्याउमा दाग लागेर बिग्रेर फाल्नु परेको थियो,’उनले भने।
उनले त्यो बेला प्रतिकेजी २७ रुपैयाँ ढुवानीमा कृषि ज्ञान केन्द्रबाट अनुदान पाएका थिए।
‘ढुवानीमा अनुदान पाउँदा, धेरै घाटा व्यहोर्नु परेन, धेरै फाइदा पनि भएन, पहिलो पटक हो। अवसर र चुनौती दुबै भयो,’ उनले सुनाए।
उनीसँग स्याउ बिक्रीका लागि बुवा र काकालाई पनि सँगै आएका थिए।
बजारमा स्याउ ल्याएपछि पनि खपत गर्न निकै चुनौती थियो।
‘व्यवसायमा हात हालेपछि बिक्री गर्न चुनौती भए पनि ग्राहकलाई मनाउन झन्झट लागेन,’ उनले भने।
सिजनमा जुम्ला, बैतडीका र विदेशबाट पनि स्याउ थुप्रै बजारमा आइसकेका थिए।
‘खरिद गर्ने ठाउँमा बाजुराका स्याउ पनि यति धेरै महंगो, सस्तोमा दिनुहोस्, बाहिरको राम्रो स्याउ त सस्तो हुन्छ भनेर सुनाउँथे,’ अनिलले भने।
अनिलका अनुसार, बाजुराको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन फलामको चिउरा चपाउनुजस्तै गाह्रो छ तर, उत्पादनलाई माया गर्ने किसानले चुनौती भए पनि हार मान्दैन।
६० क्विन्टल स्याउ बिक्री गरेर सबै खर्च कटाउँदा अनिलाई डेढदेखि दुई लाखसम्म बचत भएको थियो।
सडक यातायात राम्रो नहुँदा उत्पादनलाई बजारसम्म पुर्याउन सकस छ।
स्याउ बिक्री गरेपछि गत असोजमा जिल्ला कृषि ज्ञान केन्द्रले फलफूल खेतीका बाजुराका उत्कृष्ट कृषक भनेर अनिललाई सम्मान गरेको थियो। उनलाई सम्मानमा प्रमाणपत्र र पाँच हजार नगद दिएको थियो।
‘सम्मानले बाजुराको राम्रै मान्छे रहेछु भन्ने सोचेर मख्ख परें, काम गर्न थप हौसला मिल्यो, अझै धेरै गर्न सक्छु जस्तो लागेको छ,’ उनले भने।
जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरूका अनुसार अनिल पछिल्लो सबैभन्दा बढी स्याउ उत्पादन गर्ने कृषकका रूपमा परिचित छन् ।
‘उहाँको कामलाई सहयोग गर्न भनेर यही वर्ष तीन लाख अनुदान दिने कुरा भएको छ, उहाँ छनौट भइसक्नुभएको छ,’ उनले भने, ‘सानै उमेरमा उहाँले कृषिमा देखाएको लगन प्रसंशनीय छ।’
पनेरूका अनुसार अनिलजस्तै कृषकलाई फलफूल स्याहार अनुदान कार्यक्रमअन्तर्गत केन्द्रले अनुदानका सहयोग गरिरहेको छ। बाजुरामा खाद्यवाली भन्दा सम्भावना देखेर फलफूलमा जोड दिएको पनि उनले बताए।
अनिल भने स्याउसँगै ओखरको पनि व्यावसायिक खेती गर्ने सोचमा छन्। उनले जमिनमा ओखरका मात्रै चार सय बढी बोट लगाएका छन्।
स्याउ खेती लगाउने चलन बढे पनि ओखरको खेतीतर्फ भने अझै त्यहाँका किसानहरू जानकार नभएको अनिल बताउँछन् ।
‘ओखरको माग त गाउँमै पनि धेरै छ, त्यसैले मैले ओखरलाई पनि फोकस गरेको छु,’ उनले भने।
आफ्ना छोराको काम देखेर उनका आमा-बुवा पनि मख्ख छन्। आमा-बुवा खुसी भएको देखेपछि आफूलाई कृषिमै केही गरिदेखाउने आँट मिलेको अनिल बताउँछन्।
अनिल वल्लोपल्लो घरका, गाउँका अन्य किसानलाई पनि कृषिसम्बन्धी सल्लाह, तालिम नि:शुल्क दिने गर्छन्। त्यसैले गाउँमा समेत सबैका प्रिय छन्।
‘सबैले राम्रो गरे, धेरै उत्पादन हुन्छ भनेर सिकाउने गर्छु। त्यही भएर तारिफ पनि पाउँछु,' उनले भने, 'कतिपयले कृषि पढेर बर्वाद भयो पनि भन्छन्, मैले भने त्यसो सोचिनँ, काम गरें। राम्रो भएको छ।’
उनको दैनिकी फलफूलका बोटको काँटछाँट गर्ने, फलफूल तथा तरकारीमा खाद्यवस्तु नियन्त्रण गर्ने, बोटबिरूवा उमार्ने, रोगकिरा नियन्त्रण, मलखादको व्यवस्था, बिरूवा उत्पादनका लागि बिउ उर्माने लगायतका काम गर्दै बित्छ। यति धेरै काम गर्न आफूले नभ्याइएको बेला कामदार लगाउँछन्। दैनिक एक हजार ज्याला दिएर उनी काम गराउँछन्।
बाजुरामा फलफूल र तरकारी खेती गरिरहेका किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ। स्थानीय तह र ज्ञान केन्द्रबाट प्रदान हुने बोटबिरूवा काँटछाँटका तालिम समयमै दिनुपर्ने उनले बताए।
बाजुराको सदरमुकाम मार्तडीबाट उनको गाउँ करिब ७० किलोमिटर टाढा छ। गाउँपालिकाको कार्यालय कर्णाली नदी छेउमा छ। हिउँदको समयमा गाउँपालिकाको कार्यालयनजिकै रहेको कर्णालीको छेउमा गाडी पुग्छन्। कर्णालीमा झुलुङ्गे पुलबाट मोटरसाइकल वारपार गराउन सकिन्छ।
हुन त उनी यही सडक देखेर व्यावसायिक कृषिमा केही गर्ने सपना देख्न थालेका हुन्। तर बाटो कर्णाली तरेर उनको गाउँसम्म नआएसम्म उत्पादन गरेको फलफूल बजार पुर्याउन भने उनले कठिनाइ भोगिरहनु पर्ने देखिन्छ।