कोभिड महामारी सामान्य हुँदै गएपछि अनलाइनबाट खानेकुरा मगाउने चलन बढ्दै थियो। एक दिन अर्जुन टमाटाले पनि खानेकुरा मगाए।
काठमाडौंका विभिन्न ठाउँमा उनका आफ्नै तीन वटा रेस्टुरेन्ट थिए। कोरोनाका कारण सबै बन्द भए। उनी घरमै थिए। घरबाहिरको खानेकुरा नखाएको लामै समय भएको थियो।
'म खानाप्रेमी छु। नयाँ स्वाद खान मन लागेर मगाएँ। सबैजसो खानेकुराको मूल्य सामान्य अवस्थाको भन्दा दोब्बर बढी पर्ने रहेछ,' उनले भने।
सामान्य अवस्थामा एक सय रूपैयाँ हाराहारी पर्ने खानेकुरा लकडाउनका समयमा मगाउँदा दुई सय ५० रूपैयाँ तिर्नुपरेको उनले बताए। त्यसमा डेलिभरी शुल्क पनि थपिँदा त झनै महँगो भयो।
यसपछि अर्जुन आफैं 'फुड डेलिभरी' कम्पनी खोल्न कस्सिए। उनको उद्देश्य प्रचलितभन्दा सस्तोमा गुणस्तरीय खानेकुरा डेलिभरी गर्ने थियो।
'क्लाउड किचन' सहितको खान डेलिभरी कम्पनी खोल्ने योजना बुने पनि उनलाई सहज थिएन। भएका रेस्टुरेन्ट थलिएका थिए। नयाँ व्यवसाय सुरू गर्न पैसा हुने कुरै भएन। तैपनि जोरजाम गरेर उनले 'भोजन नेपाल' खोले।
'श्रीमतीका केही गहना थिए। त्यही बेचेर भोजन नेपाल सुरू गरेँ। थपथापका लागि एउटा सहकारीबाट पाँच लाख रूपैयाँ ऋण लिएँ,' उनले भने।
भोजन नेपालले सन् २०२१ फेब्रुअरीमा काम सुरू गर्यो। खाना बनाउन र डेलिभरी गर्न अर्जुनले सात जना कर्मचारी राखे।
कम्पनीले नेपाली परिकार तथा अर्डरअनुसारका खानेकुरा पकाएर डेलिभरी गर्थ्यो। चार महिनासम्म पनि व्यवसाय खासै राम्रो भएन। दिनमा मुश्किलले तीन–चार वटा अर्डर आउँथ्यो। कर्मचारीलाई तलब दिन पनि नपुग्ने अवस्था भयो।
पुरानोसँगै नयाँ घाटा थपिँदै गयो। तनावका बीच पनि अर्जुन पछि हटेनन्। धेरै ग्राहकसम्म पुग्न उनले सम्पर्कका विभिन्न माध्यम उपयोग गरे। भोजन नेपालको सेवाबारे जानकारी दिन कार्ड बनाएर धेरैलाई बाँडे। फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्स एप जस्ता सामाजिक सञ्जाल उपयोग गरे।
उनको यो जुक्तिले सकारात्मक नतिजा दियो। बिस्तारै ग्राहक संख्या बढ्न थाल्यो।
आफूले गरेको प्रयासबारे उनले भने, 'समस्याबाट भाग्न खोजेर त भएन। सक्दो मेहनत गरेँ। प्रतीक्षाको फल मीठो भयो।'
अहिले भोजन नेपालले आफ्ना ग्राहक बनाइसकेको छ। हाल दैनिक करिब सय जनाले सेवा लिन्छन्। यसले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सेवा दिन्छ। कर्मचारी १५ जना छन्। अर्जुनका अनुसार करिब १५ लाख रूपैयाँ लगानीमा सुरू गरेको भोजन नेपालको लगानी २५ लाख रूपैयाँ पुगेको छ।
भोजन नेपालले नेपाली मौलिक परिकारमा थकाली खाना, ढिँडो, रोटी–तरकारी, तास, सेकुवा, गुन्द्रुकका परिकार लगायत डेलिभरी गर्छ। यहाँको बिरयानी धेरैले रूचाएका छन्। मटन तास, सेकुवा, पिज्जा, बर्गर, पास्ता, फ्राइड राइस पनि ग्राहकको रोजाइमा परेको छ। त्यस्तै चाइनिजका साथै मटर चिकेन, मटर पनिर, चिकेन करी, चिकेन कडाई, बटर नान, जिरा पुलाउ, मिक्स्ड भेज लगायत इन्डियन परिकारको पनि अर्डर आइरहन्छ।
सहुलियत मूल्यमा गुणस्तरीय, स्वस्थकर र ताजा खानेकुरा सेवाग्राहीसम्म पुर्याउने अर्जुनको भनाइ छ।
'हामी आफ्नो घरमा खाना जसरी पकाउँछौं, त्यस्तै ताजा र गुणस्तरीय खानेकुरा सेवाग्राहीलाई पुर्याउँछौं। डेलिभरी शुल्क पनि सामान्य छ,' उनले भने, 'त्यसैले भोजन नेपाल लोकप्रिय हुँदैछ। मिठो, छिटो र सस्तोमा दिन सकियो भने धेरैमाझ पुग्न सक्छौं भन्ने विश्वास छ।'
भोजन नेपालले फेसबुक, भाइबर, ह्वाट्सएप, इन्स्टाग्राम, वेबसाइट लगायतबाट अर्डर लिन्छ। खानेकुरा डेलिभरीमा किलोमिटरका हिसाबले शुल्क लाग्छ। पाँच किलोमिटरसम्म ५० रूपैयाँ र २० किलोमिटरसम्म एक सय रूपैयाँ।
यहाँ अर्डर आएपछि मात्र खाना बन्छ। त्यसैले ग्राहकसम्म पुग्न बढीमा कम्तीमा २० मिनेटदेखि बढीमा ५० मिनेट लाग्छ। खानेकुरा तातै पुर्याउन तीन घन्टासम्म तातो रहने बक्समा राखिएको हुन्छ। भोजन नेपालले रात्रि सेवामा बढी जोड दिएको छ। अहिलेसम्म कुल ग्राहकमा रात्रि सेवा लिने ९० प्रतिशत जति छन्। राति खाना पुर्याउने कम्पनी थोरै भएकाले यसैलाई प्राथमिकतामा राखेको अर्जुन बताउँछन्।
कामबाट, विदेशबाट वा काठमाडौंबाहिरबाट राति अबेर फर्किने/आइपुग्ने तथा साथीहरू बसेर रमाइलो गर्नेहरू भोजन नेपालका ग्राहक हुन्। कुनै पर्व वा पारिवारिक उत्सवमा पनि अर्डर आउँछ।
'अरू मुलुकमा चौबीसै घन्टा व्यवसाय चलिरहेको हुन्छ। नाइट लाइफ निकै राम्रो छ,' उनले भने, 'नेपालमा बेलुका ८ बजे खाना खाएर सुत्ने चलन छ। कहिलेकाहीँ बेलुका अलि ढिलो खाना चाहियो भने कतै पाइँदैन।'
विदेशी साथीहरू नेपाल आउँदा राति खाना खोज्दा नपाएको अर्जुनको अनुभव छ। उनका विदेशी साथीहरू आउँदा नेपालमा किन यति छिट्टै बन्द हुन्छ भनेर सोध्थे। साथीहरूलाई राति खाना खुवाउन नपाएको घटनाले पनि उनलाई रात्रिकालीन सेवातिर तानेको हो।
अचेल नेपालमा रातमा काम गर्ने प्रवृत्ति बिस्तारै बढ्दै छ। यसले रात्रिकालीन खाना डेलिभरी कम्पनीहरू फस्टाउने विश्वास उनको छ।
राति खाना डेलिभरीको काम जोखिममुक्त भने छैन। डेलिभरी सेवाका चालकहरू लुटिने घटना कहिलेकाहीँ हुन्छ। ग्राहकले नै ठगेको अनुभव पनि छ। खाना लिएर घरभित्र गएको ग्राहक पैसा दिन नआउने घटना समेत भएको अर्जुन बताउँछन्।
'राति सुरक्षासम्बन्धी केही समस्याको सम्भावना भए पनि काम गर्न छुट्टै मजा छ। सबैतिर शान्त हुन्छ, ट्राफिक जाम हुँदैन। ग्राहकले चाँडो सेवा पाउँछन्,' उनले भने।
हाल भोजन नेपालले बालाजु र नयाँ बानेश्वरबाट सेवा दिइरहेको छ। सेवा विस्तारका लागि नयाँ बजारमा 'सेन्ट्रल किचन' बनाउने योजना उनले बनाएका छन्। त्यस्तै उपत्यका बाहिरका सहरमा पनि सेवा विस्तार गर्ने सोच छ। यसबाहेक खानेकुरामा हाल्ने मसला, खुसार्नीको धूलो, सस आदि आफ्नै ब्रान्डको बनाउने योजना पनि बुनेका छन्।
अर्जुनका अनुसार अहिले मासिक दुई लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।
'यो आम्दानी ठूलो त होइन तर आफ्नै देशमा व्यवसाय गर्न पाउनु र केही युवाले रोजगारी पाउनु खुसीको कुरा हो,' उनले भने।
नवलपरासीका स्थायी बासिन्दा अर्जुन सानै उमेरदेखि होटल क्षेत्रमा लागेका हुन्। सामान्य परिवारका उनी घरका जेठा छोरा थिए। आर्थिक अवस्था बलियो थिएन। सन् २००२ मा उनी कक्षा १० मा पढ्दै थिए। घरको ऋण सम्झेर कामको खोजीमा भारत गए। त्यो बेला उनको उमेर १७ वर्ष मात्र थियो।
भारतमा उनले केही वर्ष होटलमा भाँडा माझ्ने काम गरे।
'केही कमाउन सकिन्छ कि भन्ने सोचले पढाइ छाडी ऋणै काढेर भारत गएँ,' उनले भने, 'रहर त होइन, परिस्थितिले होटल क्षेत्रमा पुर्यायो।'
मासिक चार सय रूपैयाँ पारिश्रमिकमा उनले ६ महिना भाँडा माझे। यसपछि काम केही फेरियो। समय मिलाएर उनले पढाइ पनि अघि बढाए। होटलमा काम गर्दै होटल म्यानेजमेन्टमै डिप्लोमासम्मको पढाइ पूरा गरे। यसपछि एउटा राम्रो होटलमा हेल्पर भएर काम गर्ने अवसर पाए। त्यहीँ सेफ भए।
सन् २००८ मा अर्जुन सेफका रूपमा काम गर्न संयुक्त अरब इमिरेट्स (युएई) को एउटा तारे होटलमा पुगे। कमाइ मासिक साढे दुई लाख नेपाली रूपैयाँ थियो। त्यहाँ दुई वर्ष काम गरेपछि उनले आफ्नै व्यवसाय गर्ने सोचे। केही साथीसँग मिलेर कतारमा नेपाली र भारतीय परिकार पाउने रेस्टुरेन्ट खोले। के के मिलेन, रेस्टुरेन्ट घाटामा गयो।
युएई पुगेको सात वर्षपछि, २०७४ सालमा अर्जुन नेपाल फर्के। काठमाडौंको नेपालटार चोकमा १५ लाख रूपैयाँ लगानीमा 'खाना खजाना' नामको रेस्टुरेन्ट खोले। व्यवसाय राम्रो भयो। उनले माछापोखरी र ठमेलमा पनि यसका शाखा खोले। काममा परिवारका सदस्य पनि संलग्न भए।
एकाएक आएको कोभिड–१९ ले यी तीनवटै रेस्टुरेन्ट बन्द गर्नुपर्यो। कर्मचारीहरूलाई जसोतसो ६ महिना पारिश्रमिक दिए। यसपछि भने धान्न सक्ने अवस्था भएन। कमाइ सबै सकिएपछि अर्जुनले तीनवटै रेस्टुरेन्ट सधैंका लागि बन्द गरिदिए।
बालाजु चोकनजिकै उनको 'द जंगल क्याफे' नामको अर्को रेस्टुरेन्ट पनि छ। कोभिडको समयमा बन्द भए पनि यसलाई उनले जेनतेन धानेर चलाइरहे।
'अहिले पनि विदेशमा काम गर्दा जत्तिको कमाइ छैन तर खर्च धानिएको छ। स्वदेशमा, परिवारसँगै मिलेर व्यवसाय गर्न सकेकोमा आत्मसन्तुष्टि छ,' उनले भने।
(भोजन नेपालको वेबसाइट र सम्पर्कका लागि यहाँ क्लिक गर्नुहोस्)