दाङको दंगीशरण गाउँपालिका थारूबहुल स्थानीय तह हो। वडा नम्बर ३ को चखौरामा छ एउटा थारू संग्रहालय। यो संग्रहालयमा ६ वर्षअघि स्थापना भएको पहिलो शालिक हो थारू राजा दंगीशरणको।
पश्चिम नेपालको थारू बहुल क्षेत्रमा प्राचीनकालमा दंगीशरण नामका राजाले राज्य गरेका थिए भन्ने जनविश्वास छ। संग्रहालयमा स्थापना गरिएको पूर्णकदको शालिक तिनै राजाको हो।
शालिक बनाएका हुन् कैलालीका मिठु थारूले।
तिनै मिठु करिब चार महिनायता चखौराको थारू संग्रहालय परिसरमा मूर्तिहरू बनाउन व्यस्त छन्।
'मैले पाल्पा दरबार संग्रहालयका लागि पनि मूर्ति बनाएको छु। बाँके, बर्दिया, कैलाली र अन्य केही जिल्लामा पनि केही मूर्ति बनाइसकेँ,' उनले भने।
उनले काठमाडौंको ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक तह पूरा गरेका छन्। आफ्नो रूचि र स्वाध्ययनले मूर्तिकलामा लागेको उनी बताउँछन्।
जानकी गाउँपालिका–३, भगतपुरका स्थायी बासिन्दा ३२ वर्षीय मिठुको सानैदेखि चित्रकलामा रूचि थियो।
उनी खेल्दै गर्दा आँगनको धूलोमा सिन्काले चित्र बनाउँथे। बालसुलभ मन आफूले धूलोमा बनाएको चित्र देखेर रमाउँथ्यो। खेतमा काम गर्दा पनि गिलो माटो खेलाउँदै अनेक आकृति र मूर्ति बनाउँथे। यसरी उनी कलाप्रति नजानिँदो पाराले आकर्षित भए।
कृष्णजन्माष्टमीमा थारू समुदायमा घरघरमा चित्र बनाउने प्रचलन छ। घरमा विशेष ठाउँ छुट्ट्याएर कृष्णलीला सम्बन्धी चित्र बनाउने गर्छन्। थारूका घरका भित्तामा सृष्टिको उत्पत्ति र दैनिक जीवनका गतिविधि देखाउने चित्र बनाउने चलन पनि कायम छ।
मिठु सानैदेखि कृष्णजन्माष्टमीका अवसरमा घरको भित्तामा चित्र बनाउँथे। छिमेकीहरूले पनि उनलाई चित्र बनाउन बोलाउँथे। गाउँघरमा उनको प्रतिभा र सिर्जनाको प्रशंसा हुन्थ्यो। चित्रकलामा उनको प्रेरणाको स्रोत भने परम्परागत थारू लोककला हो। भित्ताका चित्र हेर्दाहेर्दै उनलाई भुइँमा चित्र बनाउन मन लागेको थियो।
थारूका घर विशेष प्रकारका हुन्थे। बाँसका भाटाले बारेर माटो र भुसले लिपिएको भित्तामा बाहिर–भित्र मयुर, हात्ती, घोडा, गोरू लगायत प्राणीका चित्र बनाइएका हुन्थे। दैनिक जनजीवन र संस्कार झल्काउने चित्र कोरिन्थे।
चित्र बनाउने काम महिलाको हुन्थ्यो। उनीहरूले यस्तो सिप परम्परागत रूपमा आफ्ना अग्रजबाट सिकेका हुन्थे। यो क्रम घट्दै गए पनि ग्रामीण क्षेत्रका थारू बस्तीमा अझै पनि यस्ता चित्र देखिन्छन्।
'म यस्तै परम्परामा हुर्केबढेकाले मेरो मस्तिकमा चित्रकला र मूर्तिकलाको गाढा छाप परेको थियो। बालमस्तिष्कमा परेको त्यही छापले मलाई व्यावसायिक चित्रकार र मूर्तिकार बनायो,' मिठुले भने।
अहिले चित्रकला र मूर्तिकला उनको जीवनयापनको माध्यम बनेको छ।
दंगीशरणको थारू संग्रहालय विस्तारका क्रममा मूर्तिकारको खोजी हुँदा उनी पहिलो क्रमांकमा छनोट भएका थिए। उनी आउँदा चखौरा संग्रहालयमा एउटा पनि मूर्ति थिएन। पहिलो मूर्ति अर्थात शालिक प्राचीन थारू राजा दंगीशरणको बनाउनु थियो।
मिठुले थारू राजा दंगीशरणका बारेमा सुनेका थिए। उनी कस्ता थिए होलान्? कस्तो पहिरन थियो होला? यी निकै कूतुहलका प्रश्न थिए।
ती राजाको कुनै तस्बिर वा स्केच थिएन। मूर्ति बनाउन सुरू गर्नुअघि मिठुले थारू समुदायका अध्येता र अग्रजहरूसँग कुरा गरे। दंगीशरण राजाबारे उनीहरूका वर्णन सुने।
वर्णनहरू सुनेपछि उनी धेरै दिनसम्म राजाको अनुहार र आकृतिको कल्पना गर्दै बसे। थारू राजाको पहिलो शालिक बनाउने अवसर उनका लागि आफ्नो कला प्रमाणित गर्ने अवसर पनि थियो। यस्तो अवसरलाई चुनौतीका रूपमा लिए।
'आफू थारूको बच्चा, थारूको इतिहास र संस्कृतिअनुसार दंगीशरण राजाको स्वरूप परिकल्पना गरेर मूर्ति बनाउनु मेरा लागि ठूलो अवसर र चुनौती थियो,' मिठुले भने, 'मूर्ति दुई हप्तामा तयार पारेँ।'
दंगीशरण राजाको शालिकको शिरमा पगिया (पगरी) गुथाइएको छ, कम्मरमा पटुका छ। पटुकामा घुसारिएको पगियाको एउटा छेउ कम्मरबाट बेर्दै शिरमा पुर्याइएको छ। पूर्ण कदको शालिकको खुट्टामा खराउ छ। दायाँ हातमा बर्छी भनिने एक प्रकारको भाला छ।
आफूले बनाएको यो शालिकबाट कति सुन्तुष्ट छन् त मिठु?
'मानिस आफ्नो कामबाट कहिल्यै पूर्ण सन्तुष्ट हुँदैन। सन्तुष्ट भएपछि प्रगति त्यहीँ रोकिन्छ,' मिठुले भने, 'आज राम्रो लागेको आफ्नो सिर्जना अलिपछि नियाल्दा कुनै कमजोरी वा सुधारको ठाउँ देख्न पनि सकिन्छ।'
आज हेर्दा उनलाई शालिकको शारीरिक बनावट र पहिरनको प्रकृति अझै जीवन्त बनाउन सकिन्थ्यो भन्ने लाग्छ।
दंगीशरण राजाको शालिक स्थापनापछि उनले मूर्तिकार रूपमा फराकिलो परिचय बनाए। चारैतिरबाट उनको प्रशंसा भयो। त्यसपछि उनले मूर्ति बनाउने निम्तोहरू पाउन थाले।
मुस्कुराउँदै उनले भने, 'म चित्र बनाउने मान्छे, दंगीशरण राजाको शालिक बनाएपछि मूर्तिकार पो भएँ।'
व्यक्ति जीवित भए व्यक्तिलाई नै हेरेर, जीवित नभए तस्बिर हेरेर, तस्बिर पनि नभए वर्णन सुनेर शालिक बनाउने गरेको उनले बताए।
मिठु यति बेला दंगीशरण थारू संग्रहालयमा अनेक मूर्तिहरू बनाउँदैछन्। हाल थारू जातिको 'झुम्रा' सामूहिक नाच बुझाउने एक दर्जन मूर्तिमा पनि काम गर्दैछन्। यी मूर्ति फाइबर ग्लासबाट बनाइँदैछ।
उनले पाल्पाको दरबार संग्रहालयमा मगर, बाहुन र थारू संस्कृति झल्कने आठवटा मूर्ति बनाउने जिम्मा पाएका थिए। बाँकेको 'गाभर भ्याली थारू होमस्टे' घर नं. १ मा थारू कला संस्कृति झल्कने लोकचित्र र मूर्तिहरू उनैले बनाएका हुन्।
थारू लोकसंस्कृति र साहित्यमा आधारित भई र थारू महिलाका ६ वटा मूर्ति पनि उनले बनाएका छन्। उनले बर्दियाको बाँसगढी चोकमा किसानको शालिक बनाए। शालिक बनेपछि चोकको नामै 'किसान चोक' भएको उनी बताउँछन्। किसानको शालिक नगरपालिकाले बनाउन लगाएको हो।
'सडक चोकको कोलाहलबीच साँघुरो ठाउँमा काम गर्दा आफूले सोचेअनुसार भने बनाउन सकिनँ,' उनले भने।
मिठुले कैलालीको थापापुरमा एक जना दिवंगत वडाध्यक्षको अर्धकदको शालिक बनाएका छन्। ती वडाध्यक्ष सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षको अपहरणमा परेर मारिएका थिए। त्यस्तै दंगीशरण राजाको शालिक बनाउनुअघि नै सिन्धुलीमा एक जना जनप्रतिनिधिको अर्धकदको शालिक बनाएका थिए।
मिठु आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहन्छन्। हालसम्मको अनुभवबाट उनलाई आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको छ।
'संग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ। ठूला होटल र पार्टी प्यालेसहरूले पनि विशेष कलाको खोजी गर्न थालेका छन्,' उनले भने, 'आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ। चित्र र मूर्ति बनाएर जीवन चलाउन सकिँदैन भन्नेहरू अहिले मेरो प्रशंसक बनेका छन्।'
उनको घरको आर्थिक अवस्था निकै कमजोर थियो। आफ्नो जमिन थिएन। उनका बुबा परिवारको गुजाराका लागि कमैया बसेका थिए। मिठुले कठिन आर्थिक अवस्थामा चित्रकला पढेका हुन्।
अझै पनि घरबासबाहेक उनको परिवारका कसैको पनि नाममा जमिन छैन। मेहनत गर्दै जाँदा कुनै दिन उनको नाममा पनि थोरैतिनो जमिन होला तर उनको आजको प्राथमिकता कलाको निरन्तरता नै हो।
साधनाबिना कुनै पनि कला सम्भव हुँदैन भन्ने उनको निष्कर्ष छ।
भन्छन्, 'रातारात कोही पनि कलाकार बन्दैन। लामो साधना र दृढता आवश्यक पर्छ।'