कुनै पनि सांस्कृतिक कार्यक्रमका लागि विभिन्न जातीय पोशाकहरू भाडामा लिन सकिन्छ भन्ने धेरैलाई थाहा छ। विशेषगरी विद्यालय, कलेज वा संस्थामा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन् भने प्रस्तुति वा सहभागिताका लागि भाडामै लुगा लिएर लगाउने चलन बढी छ।
अचेल सांस्कृतिक लुगासँगै 'पार्टी वेयर' हरू; सारी, गाउन, लेहेंगा, कुर्तासुरूवाल, कोट-प्यान्ट, शेरवानी, दौरा-सुरूवाल पनि भाडामा पाइन्छ। थुप्रै अनलाइन र पसलहरूले यस्ता लुगा भाडामा दिने चलन बढेको छ।
एकपटक लगाएको लुगा दोहोर्याएर लगाउन मन नहुने र नयाँमा धेरै खर्च पनि गर्न मन नलाग्नेहरूका लागि भाडाको लुगा उपयोगी सावित भएको छ।
यस्तै सुविधा अब बेहुला-बेहुलीका लागि पनि सुरू भएको छ।
बिहेको लुगा झन् धेरै खर्चिलो हुन्छ। कतिलाई लुगामा खर्चिने पैसाले अरू नै काम गरौं भन्ने हुन्छ। वा कतिलाई सीमित खर्चको बिहेमा पनि राम्रो पहिरन लगाउन मन लाग्छ। कारण जे भए पनि, धेरै खर्च गरेर बिहेको लुगा किन्न नचाहनेका लागि बेहुला-बेहुली लुगा सेट अचेल सजिलै पाइन थालेको छ।
'बिहेको लुगा एकपटक लगाएपछि प्रायःको दराजमै थन्केर बस्ने हो। यस्तो लुगा महँगो पनि हुन्छ,' शुभश्री बुटिककी सञ्चालक मन्जुशा शाही श्रेष्ठ भन्छिन्, 'थन्क्याएर राख्नुभन्दा कम खर्चमा राम्रो लुगा लगाउन पाउने वातावारण बनाउन विवाह लुगा सेट पनि भाडामा उपलब्ध गराउँदैछौं।'
मन्जुशाले २०७४ साल माघदेखि आफ्नो बुटिकमार्फत बिहे र उत्सवहरू लक्षित लुगा भाडामा उपलब्ध गराउँदै आएकी हुन्। ग्राहकहरूले अनलाइनमा खोज्दा भेट्न सहज होस् भनेर फेसबुकमा भने 'ड्रेस फर रेन्ट एन्ड सप नेपाल' नामको पेज खोलेकी छन्। यहाँ महिलाहरूका लागि मात्रै लुगा पाइन्छ।
अन्तर्राष्ट्रिय बजारमा लुगाहरू भाडामा कारोबार धेरै हुने थाहा पाएर नेपालमा पनि यस प्रकारको व्यवसाय सुरू गरेको उनी बताउँछिन्। ड्रेस फर रेन्टको पसल र कारखाना गठ्ठाघरस्थित रोजभिलेज कोलोनीमा छ। अहिले मासिक दुई सय पचासदेखि तीन सय जनासम्म ग्राहकलाई विभिन्न डिजाइनका लुगाहरू भाडामा दिइरहेको उनले बताइन्।
'सुरूको दुई वर्ष भाडामा कपडा उपलब्ध छ र यसरी लगाउन सकिन्छ भन्ने बुझाउन मुस्किल थियो। धेरैले भाडामा भन्नेबित्तिकै अरूले लगाएको मैला लुगा भन्ने बुझ्नुहुन्थ्यो,' उनले भनिन्, 'अहिले धेरैले भाडामा पाइने लुगा सफा र नयाँ पनि हुन्छन् र यसरी लिँदा सस्तो पर्छ भन्ने बुझ्नुभएको छ।'
पार्टीमा लगाउने विभिन्न डिजाइनका लुगाको भाडा एक हजार पाँच सय रूपैयाँदेखि सुरू हुन्छ।
मञ्जुशाका अनुसार बेहुली लुगा सेट भने तीन हजार पाँच सय रूपैयाँबाट सुरू हुन्छ।
'प्रायः लुगा चारपटकसम्म मात्रै भाडामा दिइन्छ,' उनले भनिन्, 'यसपछि इच्छुक ग्राहकले निश्चित मूल्य तिरेर किन्न सक्छन्।'
ड्रेस फर रेन्टले ग्राहकको रोजाइअनुसार नयाँ लुगा पनि तयार गरिदिन्छ। यसरी तयार भएको नयाँ लुगा ग्राहकले एकपटक लगाएर पसललाई नै फिर्ता गर्न मिल्छ। यसो गर्दा ग्राहकले कपडा र सिलाइ ज्यालाको जम्मा २५ प्रतिशत तिरे पुग्ने मन्जुशा बताउँछिन्।
'धेरैजसो ग्राहकले विभिन्न कार्यक्रम तथा उत्सवमा लगाउन र फोटोसुटका लागि पनि लुगा भाडामा लिन्छन्,' उनले भनिन्।
भाडामा लिएको लुगा तीन दिनभित्र फर्काउनुपर्ने नियम छ। आवश्यकताअनुसार पाँच दिन वा एक हप्तासम्म पनि छुट दिइने मन्जुशा बताउँछिन्। यहाँ हिन्दु र इसाई धर्मअनुसारको विवाहमा लगाइने लुगा भाडामा उपलब्ध छ।
नयाँ बानेश्वरस्थित 'कपडा रेन्ट' र पेप्सिकोलास्थित 'क्लासिक कर्भ्स' मा भने महिला-पुरूष दुवैका लागि लुगा भाडामा लिन पाइन्छ।
कपडा रेन्टमा बेहुलाका लागि दौरा-सुरूवाल, सुट सेट, मखमलको जुत्ता लगायत भाडामा पाइन्छ। यहाँ पहिले महिलाका लागि मात्र कपडा पाइन्थ्यो। २०७९ सालदेखि भने पुरूषका लागि पनि भाडामा लुगा उपलब्ध गराउन थालिएको कपडा रेन्टका सञ्चालक समुद्रराज अर्यालले बताए।
'महिलासँगै पुरूषका लागि पनि भाडामा लुगा राख्ने माग आएपछि हामीले यो सुविधा विस्तार गरेका हौं,' उनले भने, 'अचेल भाडामा लुगा लिनेहरू बढेका छन्।'
समुद्रले दिगो फेसनको अवधारणामा २०७५ सालमा कपडा रेन्ट सुरू गरेका हुन्। विदेशमा स्नातक पढेका उनी नेपालमै कुनै व्यवसाय गर्ने निधो गरेर फर्के। त्यस बेला फिल्म, म्युजिक भिडिओ, टिभी तथा सांस्कृतिक कार्यक्रमहरू लगायतमा लुगा भाडामा दिने चलन धेरै थियो। त्यही कुरालाई आममानिसको दैनिकीमा पनि सुरू गरौं भन्ने सोचेर यो व्यवसाय सुरू गरेका हुन्।
कपडा रेन्टमा पाइने सबै लुगा उनी र उनका सहकर्मीहरूले बनाउँछन्।
ग्राहकले कपडा रेन्टमा बेहुलीको लुगा दुई हजार पाँच सयदेखि ६ हजार रूपैयाँसम्ममा भाडामा पाउँछन्। बेहुलाका लागि दौरा-सुरूवाल दुई हजार पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म तोकिएको छ। त्यस्तै सादा दौरा-सुरूवाल एक हजार रूपैयाँदेखि सुरू हुन्छ।
क्लासिक कर्भ्समा भने बेहुलाको लुगा सेट पाँच सयदेखि दुई हजार पाँच सय रूपैयाँमै पाइन्छ। लुगाको कपडाको गुणस्तर र डिजाइनले मूल्य फरक पर्छ। यहाँ पार्टीमा लाउने लुगा एक हजारदेखि दुई हजार रूपैयाँमा पाइन्छ। ग्राहकले लुगा भाडामा लिएको दिनदेखि तेस्रो दिनभित्र बुझाउनुपर्ने क्लासिक कर्भ्सकी सञ्चालक राधिका धोजूले बताइन्।
'हाम्रो बुटिक पनि छ। तर अचेल बुटिकमा नयाँ लुगा बनाउनेभन्दा भाडामा लिने धेरै हुन्छन्,' उनले भनिन्।
क्लासिक कर्भ्समा गहनाहरू पनि भाडामा लिन सकिन्छ।
राधिकाले फेसन डिजाइनिङमा डिप्लोमा गरेकी हुन्। क्लासिक कर्भ्सको स्थापना करिब आठ वर्षअघि भएको हो। त्यो बेला उनी विभिन्न ठाउँका महिलाहरू जोडिएका 'वुमन्स रूम रिलोडेड' नामको फेसबुक समूहमा सक्रिय थिइन्।
'त्यहाँ साथीहरू कुनै पनि कार्यक्रममा जानुपर्ने भयो भने लुगा के लगाउने भन्ने अन्यौलमा हुन्थे। एक-दुईपटक लगाएको लुगा फेरि नलगाउने कुरा हुन्थ्यो,' उनले भनिन्, 'हरेक कार्यक्रमका लागि लुगा किन्न खर्चिलो हुने। त्यसपछि भाडामै यस्तो लुगा उपलब्ध गराउन सके राम्रो होला भन्ने सोचेर क्लासिक कर्भ्सको स्थापना भयो।'
सुरूका दिनमा मानिसहरू भाडाको लुगामा त्यति आकर्षित थिएनन्। पछिल्लो समय, अझ सामाजिक सञ्जालहरूले व्यवसाय फस्टाउन मद्दत गरेको छ।
'एलए वेडिङ' ले भने इसाई धर्मअनुसार बिहे गर्नेका लागि लुगा उपलब्ध गराउँछ। फेसबुकमा 'क्रिश्चियन वेडिङ ड्रेस अन सेल्स एन्ड रेन्ट' नामक पेज छ। यहीँबाट धेरै कारोबार हुन्छ।
बिहेको मौसममा यस्ता सुविधाले ग्राहकलाई सहजता प्रदान गर्ने व्यवसायीहरूको साझा धारणा छ।