पूर्वमिस नेपाल अनुष्का श्रेष्ठको ठमेलमा 'माक्कुसे डेजर्ट–बार' सञ्चालनमा आएको छ।
२५ लाख लगानीमा सञ्चालित डेजर्ट–बारमा माक्कुसेका उत्पादन पुष्टकारी, गुँदपाक, कुकिजसँगै जेरीस्वारी, गुँदपाक म्यांगो टार्टस्, गुँदपाक चकलेट, गुँदपाक चिजकेक, पुष्टकारी मिसाइएको आइक्रिम लगायतका खानेकुरा पाइन्छ।
अनुष्का यी खानेकुरालाई नेपालको मौलिक डेजर्टको रूपमा लिन सकिने बताउँछिन्। डेजर्ट अर्थात् कुनै पनि खानापछि खाने गुलियो खानेकुरा।
'हाम्रोमा डेजर्ट नै भनेर खानापछि गुलियो खाने चलन त्यति छैन। तर यी खानेकुराहरू डेजर्टको रूपमा खान निकै उपयुक्त हुन्छ,' अनुष्का भन्छिन्, 'नेपालमा डेजर्ट खाने संस्कृतिको विकास हुँदैछ। यसैको प्रवर्द्धन गर्न डेजर्ट–बार खोलेका हौं।'
उनका अनुसार अहिले माक्कुसेले हर्बल सुगर (जडिबुटीबाट बनेको चिनी) प्रयोग गरिएको पुष्टकारी पनि सार्वजनिक गरेको छ। चिनी रोगका बिरामीलाई मध्यनजर गर्दै उक्त पुष्टकारी ल्याइएको हो।
अनुष्काले दुई वर्षअघि सुरू गरेको पुष्टकारी र गुँदपाकको ब्राण्ड माक्कुसेले असार १४ गते भने डेजर्ट–बारको उद्घाटन गरेको हो।
२०७७ सालको कात्तिकबाट सुरू भएको माक्कुसे 'लक्जरी' मिठाइ ब्रान्ड हो। यसले पुष्टकारी, गुँदपाक, कुकिजलगायतका खानेकुराहरूलाई प्रिमियम प्याकेजिङमा बिक्री गर्दै आएको छ।
त्यसैबेलादेखि अनुष्काले जेरीस्वारी, आइसक्रिम, यस्मरी, ग्वार्मारीलगायतका खानेकुरालाई पनि प्याकेजिङ गरी बिक्री गर्न खोजेकी थिइन्।
'तर यस्ता खानेकुराको प्याकेजिङमा समस्या हुने रहेछ,' उनले भनिन्, 'त्यसैले यी परिकार ग्राहकहरूलाई सर्भ गर्न पनि यो डेजर्ट–बार खोलका हौं।'
हाल डेजर्ट–बारमा यस्मरी र ग्वार्मारी उपलब्ध छैन। तर यी खानेकुरा पनि छिट्टै उपलब्ध गराउने अनुष्का बताउँछिन्।
माक्कुसेको डेजर्ट–बारको डिजाइनले नेपाको मौलिक संस्कृति झल्काउँछ। प्रवेश गर्ने ढोकामै काठको बुट्टा भएको आँखिझ्यालको डिजाइन छ।
त्यस्तै बस्नका लागि मकैको खोस्टाको कुर्ची राखिएको छ। भित्तामा तामाको जलप लगाएको टेबल डिजाइन गरिएको छ भने टेबलमा मकैकै खोस्टाबाट बनेको टिम्याट छ।
विदेशी ब्राण्डेड मिठाइले नेपालको मौलिक मिठाइलाई प्रतिस्थापन गर्ने छाँटकाँट देखेपछि अनुष्काले नेपालकै मिठाइलाई बजारमा विस्तार गर्ने उद्देश्यले माक्कुसे सञ्चालन गरेकी हुन्।
रैथाने मिठाइलाई पनि ब्रान्डेड चकलेटझैं बिक्री गरे ग्राहकहरूले रूचाउनेबारे करिब आठ महिनाको अध्ययन पछि माक्कुसे सञ्चालनमा आएको हो।
सञ्चालनमा आएको छोटो अवधिमै माक्कुसे ब्रान्ड बन्न सफल भएको अनुष्का बताउँछिन्।
पाँच जना सहयोगीबाट सुरू भएको कम्पनीमा हाल माक्कुसेको मुख्य कार्यालय र डेजर्ट–बारमा गरी १६ जना कर्मचारी छन्।
अनुष्कालाई नेपाली मौलिक खानेकुरालाई विश्वमा चिनाउने सोच नेपाल प्रतिनिधित्व गर्दै मिस वर्ल्डको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुग्दा आएको हो। जित नभए पनि नेपाललाई अन्तर्राष्ट्रिय स्टेजमा चिनाउन पाउँदा उनी निकै खुसी थिइन्। फेरि एकपटक नेपाललाई विश्वभर चिनाउने मन भयो। अनि यसैका लागि मौलिक मिठाइको व्यवसाय गर्ने निधो गरेकी हुन्।
मिस नेपाल हुनु पहिले उनी अस्ट्रेलियाको एउटा बैंकमा काम गर्थिन्। पछि नेपालमै काम गर्ने सोचले फर्किएको उनको भनाइ छ।
अनुष्काका अनुसार माक्कुसे भनेको नेवारी शब्द हो जुन खानाको स्वाद बुझाउन प्रयोग हुन्छ। यो शब्दको ठ्याक्कै अर्थ बुझाउन भने सकिँदैन।
'कुनै मिठो परिकार खाँदा मनै भरिने आनन्दको भावनालाई माक्कुसे भनेर बुझाउँछौं। यसले मिठो स्वादप्रतिको हाम्रो भावना व्यक्त गर्छ,' उनले भनिन्।
माक्कुसेको डेजर्ट उपलब्ध गराउने सोचसँगै सुरू गरेको हुनाले भौतिक पसलको नाम भने माक्कुसे डेजर्ट–बार राखेको उनी बताउँछिन्।
व्यवसायमा कहिल्यै नजोडिएकी अनुष्काका लागि माक्कुसे सञ्चालनको काम नयाँ थियो। उनले अरू व्यवसाय पनि सोचेकी थिइन्। तर सोधीखोजी क्रममा नेपाली खाना, विशेषगरी मिठाइले पाउनुपर्ने चर्चा नपाएको महसुस गरिन्।
'विदेशतिर नेपाली मिठाइबारे कसैले सोधे हामीसँग नाम हुँदैन थियो,' उनी भन्छिन्, 'पुष्टकारी र गुँदपाक हाम्रा हुन् जो ओझेलमा पर्दै गएका थिए। यसको स्वाद बेग्लै र स्वास्थ्य महत्व पनि धेरै छ। त्यसैले यी परिकारले विश्व पहिचान पाउनै पर्छ भन्ने सोचले माक्कुसे सञ्चालनमा आएको हो।'
माक्कुसे सञ्चालनका लागि उनले काठमाडौंका पुराना मिठाइ पसल चहारेर त्यहाँको व्यवस्थापन र पकाउने तरिका नियालेकी थिइन्। यी सबै जानकारी इन्टरनेटबाट पनि लिन सकिन्थ्यो। तर मौलिक स्वाद स्थानीय विधिबाट मात्रै पाउन सकिने उनको बुझाइ छ। अझ दुई महिना त उनले घरमा आफैं गुँदपाक र पुष्टकारी पकाउन सिकेको बताउँछिन्।
'आफूले बेच्ने उत्पादनको सबै जानकारी र तरिका थाहा हुनै पर्छ,' उनले भनिन्।
तर अनुभवी व्यक्तिले पकाएजस्तो भएन। त्यसैले यो कामको जिम्मा उनले तिनै अनुभवीहरूलाई दिएकी छन्।
माक्कुसेका परिकार काभ्रेका स्थानीय किसानबाट किनेको दूधबाट बनाइन्छ। यसमा प्रयोग हुने सबै सामान स्थानीय र रसायनबिहीन हुने अनुष्काको दाबी छ।
पाँच सय ४९ रूपैयाँदेखि एक हजार दुई सय ४९ रूपैयाँसम्म माक्कुसेका परिकार पाइन्छन्। यसबाहेक परिकारसहितको दुई खालका गिफ्ट बक्स पनि उपलब्ध छ।
ठूलो गिफ्ट बक्सभित्र रोजवाटर र पिस्ताचियो गुँदपाक, मोचा गुँदपाक, सुगर–फ्री गुँदपाक र पुष्टकारीको एक–एक बट्टा हुन्छ। योसँगै ६ वटा कुकिज र तामाको चम्चा पाइन्छ। यसको मूल्य चार हजार चार सय ९९ रूपैयाँ पर्छ।
त्यस्तै मिनी गिफ्ट बक्सभित्र गुँदपाक, पुष्टकारी, कुकिज र तामाको चम्चा हुन्छ। यसको मूल्य २ हजार ५ सय रूपैयाँ पर्छ। माक्कुसेले आफ्नो प्याकेजिङमा विशेष ध्यान दिएको छ।
'हाम्रो उद्देश्य प्याकेजिङमार्फत पनि नेपाली मौलिकता झल्काउनु हो,' उनी भन्छिन्, 'हामीले अहिले प्याकेजिङमा गरेको खर्चभन्दा पाँच गुणा सस्तोमा चीनबाट सामान ल्याउन सकिन्थ्यो। तर हराउँदै गएको मौलिक कला बचाउन पनि यही रोजेका हौं।'
ठूलो भर्याङमा कारखाना रहेको माक्कुसे २५ लाख रूपैयाँ लगानीमा सुरू भएको हो। कम्पनीले अहिलेसम्म नाफा गर्दै आएको पैसा पनि व्यवसायमै लगानी गरेको उनको भनाइ छ। यहीँबाट डेजर्ट–बार पनि सञ्चालनमा आएको हो।
अहिले माक्कुसेको उत्पादन डेजर्ट–बारका साथै चितवन, हेटौंडा, पोखरा, दरबारमार्ग, झम्सिखेल, स्वयम्भुका पप–अप स्टोरमा पाइन्छ।
विश्वमा माक्कुसेको परिकार चिनाउन ट्राभल एजेन्सीहरूसँग सहकार्य भइरहेको उनले जानकारी दिइन्।
माक्कुसे सञ्चालनमा आएको दुई वर्षमै अनुष्काले यसको भौतिक पसल सञ्चालन गरेकी हुन्।
उनले भनिन्, 'नेपालमा व्यवसाय गर्न चाहनेहरूका लागि पर्याप्त अवसर छन्। ग्राहकहरूले माक्कुसेको परिकार रुचाएर सकारात्मक प्रतिक्रिया दिनुहुन्छ। यसमा खुशी लाग्छ।'