एक महिनाको अवधिमा गोलभेँडाको मूल्य अत्यधिक बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो गोलभेँडा (नेपाली र भारतीय) र सानो गोलभेँडा (लोकल र टनेल) भित्रिन्छन्। अधिकांश व्यापारीले त्यहीँबाट गोलभेँडा किनेर खुद्रा बजारमा पुर्याउँछन्।
हामीले यहाँ सानो गोलभेँडाको बारेमा कुरा गरेका छौं।
असार पहिलो साता किसानले मूल्य पाइएन भन्दै कालिमाटी बजारको सडकमा फ्याँकेका गोलभेँडा पनि साना गोलभेँडा नै हुन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा असारको पहिलो साता लोकल साना गोलभेँडाको मूल्य प्रतिकिलो पाँचदेखि ६ रूपैयाँ र टनेल गोलभेँडा भने न्यूनतम ६ रूपैयाँदेखि १२ रूपैयाँ थियो।
यो मूल्य त्यहाँका व्यापारीले किन्ने मूल्य हो। त्यतिखेर उपभोक्ताले भने प्रतिकिलो ३० देखि ३५ रूपैयाँमै पाइरहेका थिए।
समितिको तथ्यांक हेर्दा एक महिनापछि अर्थात् साउन पहिलो साता भने त्यहाँका व्यापारीले किन्ने मूल्य लोकल गोलभेँडा प्रतिकिलो न्यूनतम ३० देखि ५० रूपैयाँ पुगेको छ भने टनेल गोलभेँडा न्यूनतम ५४ देखि ७५ रूपैयाँ छ।
यो तथ्यांक हेर्दा एक महिनाको अवधिमा साना लोकल गोलभेँडा २५ देखि ४५ रूपैयाँसम्म पुगेको छ। त्यस्तै, टनेल गोलभेँडा भने ५० देखि ७० रूपैयाँसम्म पुगेको छ।
गत महिनाको तुलनामा यो मूल्य दश गुणासम्म बढी हो।
एक महिनाकै अवधिमा गोलभेँडाको मूल्य किन ह्वात्तै बढ्यो?
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार उत्पादन कम भएकाले गोलभेँडाको मूल्य बढेको हो।
'अहिले गोलभेँडा धेरै आएको छैन, त्यसैले मूल्य बढेको हो' उनले भने।
समितिकै तथ्यांकले पनि असारको पहिलो साताको तुलनामा साउनमा कम गोलभेँडा आएको देखाउँछ।
असार पहिलो साता साना गोलभेँडा (लोकल र टनेल) दैनिक न्यूनतम ६९ हजार किलोदेखि ९५ हजार किलो भित्रिएको छ।
त्यस्तै, ठूलो गोलभेँडा न्यूनतम दुई हजारदेखि पाँच हजार किलोसम्म भित्रिएको छ।
साउनको सोही अवधिमा भने साना गोलभेँडा (लोकल र टनेल) दैनिक न्यूनतम २८ हजार किलोदेखि बढीमा ६५ हजार किलो भित्रिएको छ। यो अवधिमा भारतीय गोलभेँडा भने भित्रिएको छैन।
समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार पहिले कालिमाटी बजारमा काठमाडौं नजिकका जिल्लाका साथै भारतीय र तराईका गोलभेँडा पनि आउँथ्यो।
अहिले भारतीय र तराईका गोलभेँडा आएका छैनन्। काठमाडौं नजिकका जिल्लाबाट आएका गोलभेँडाले मात्रै माग धान्न नसकेपछि मूल्य बढेको हो।
'उत्पादन कम छ माग बढी छ,' उनले भने।
नार्गाजुन नगरपालिका–८ विशेष सदावहार कृषि फार्मका सञ्चालक पनि उत्पादन कम भएका कारण मूल्य बढेको बताउँछन्।
'अहिले गोलभेँडा नै बजारमा छैन त्यो भएर मूल्य बढेको हो,' उनले भने।
उनकाअनुसार एक महिना अघि बजारमा दैनिक एक सय २० देखि एक सय ३० क्यारेट गोलभेँडा कालिमाटी बजारमा पठाउँथे। अहिले भने ४० देखि ५० क्यारेट गोलभेँडा मात्र उत्पादन भइरहेको छ।
आफूले उत्पादन गरेको अधिकांश गोलभेँडा वीरगञ्जका व्यापारीलाई पठाउने गरेको उनले बताए।
'अहिले धेरेजसो किसानको उत्पादन बोर्डरका व्यापारीले लैजान्छन्,' उनले भने, 'त्यहाँका व्यापारीले भारत पठाउने गरेका छन्।'
थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अहिले बजारमा गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ८० रूपैयाँदेखि एक सय रूपैयाँसम्म छ।