भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य बढेको छ।
१३ दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्य वृद्धि कम गर्न बासमती बाहेकका अन्य चामल निर्यातमा रोक लगाएको थियो।
नेपाली बजारमा जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बोरामा एक सय रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायी चन्द्र थापाले जानकारी दिए। ‘एक सातामै चामल एक सय रुपैयाँ बढिसक्यो,’ उनले भने, ‘यसको कारण के हो मैले पनि बुझेको छैन।’
थापाका अनुसार भारतले निर्यात प्रतिबन्ध गर्नुअघि प्रतिबोरा दुई हजारदेखि दुई हजार ५० रुपैयाँमा बिक्री भएको चामल अहिले दुई हजार एक सयदेखि दुई हजार एक सय ५० रुपैयाँसम्म पुगेको छ। यो एक बोरामा २५ किलो हुन्छ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएकै कारण चामलको मूल्य बढ्नु नपर्ने उनको भनाइ छ। सरकारले तुरून्तै बजार अनुगमन नगरे अझै मूल्य बढ्ने उनी बताउँछन्।
‘प्रतिबन्धकै कारण हो भने पनि एक हप्तामै कसरी बढ्छ?’ उनी प्रश्न गर्छन्, ‘मौज्दात सामनको मूल्य बढाउन मिल्छ?’
चामलको मूल्य बढेको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अनुगमन गरिरहेको छ। अनुगमनमा मूल्य बढेको देखिएता पनि कारबाही गर्न नसकिएको विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर बताउँछन्।
‘अनुगमन गर्दा खुद्रा चामल प्रतिबोरा एक सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्म बढेको पाएका छौं,’ उनले भने, ‘तर हामी कारबाही गर्न मिल्दैन।’
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाए ऐन, २०३२ ले बीस प्रतिशतसम्म नाफा राख्न पाउने व्यवस्था गरेको छ। यसैकारण विभागले कारवाही गर्न नमिल्ने महानिर्देशक ठाकुर बताउँछन्।
उनका अनुसार अनुगमन गर्दा खुद्रा बजारमा व्यापारीहरूले चार प्रतिशतदेखि १३ प्रतिशतसम्म मूल्य बढाएका छन्। ‘हामीले बीस प्रतिशतभन्दा बढी नाफा राखेको पाइए मात्रै कारबाही गर्न सक्छौं,’ उनले भने
विभागले थोक बिक्रेतामा पनि अनुगमन गरेको छ। थोक बिक्रेतामा अनुगमन गर्दा व्यापारीले प्रतिबोरा २५ रुपैयाँदेखि एक सय रुपैयाँ बढाएका छन्। यो मूल्य दुई प्रतिशतसम्म मात्रै मूल्य बढेको देखिन्छ।
मूल्य नियन्त्रण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित निकाय र व्यापारी वर्गसँग निरन्तर छलफल गरिरहेको ठाकुरको भनाइ छ। ‘कानुनी कारवाही गर्न समस्या छ। नैतिक दबाब दिने हो,’ उनी भन्छन्, ‘आर्थिक मन्दीको समयमा चामलको मूल्य नबढाउन अनुरोध गरेका छौं।’
निर्यात प्रतिबन्ध गर्ने बित्तिकै मूल्य बढाएर व्यापारीले मौकाको फाइदा उठाएको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन्।
‘भारतबाट धान भित्रिरहेकै छ। त्यसैले अहिले चामलको मूल्य बढाउनु पर्ने कारण छैन,’ उनले भने, ‘सरकारले मूल्य बढाउनेलाई कारबाही गर्नुपर्छ।’
नेपाल चामल, तेल, दाल उत्पादक संघका द्वितीय उपाध्यक्ष नरेश राठीका अनुसार भने भारतबाट आउने धानको मूल्य बढेको छ। यसै कारण चामलको मूल्य वृद्धि भएको हो। भारतबाट ६/७ महिनादेखि नै चामल निर्यात नभएको उनी बताउँछन्।
भारतबाट दिएको धानको कोटा पनि सकिन लागेको उनले जानकारी दिए। उनी भन्छन्, 'हालसम्म साढे पाँच लाख टन धान भित्रिसकेको छ। बाँकी धान पनि एक/डेढ महिनामै आउनेछ। त्यसपछि भारतबाट धान ल्याउन पाइँदैन।'
संघका अध्यक्ष सुबोध कुमार गुप्ता चामलको मूल्य बढ्न नदिन भारतले गत वर्षझैं यसपालि पनि भन्सार छुटमा धान उपलब्ध गराउनु पर्ने बताउँछन्।
अहिलेको अवस्थामा पहिलेभन्दा धेरै परिमाणको धानमा छुट हुनुपर्छ। पहिलेको जस्तै ६ लाख मेट्रिक टन बराबर मात्र छुट पाउँदा स्थानीय बजारको माग धान्न सकिँदैन। यसले बजार मूल्यमा असर पर्नेछ।
‘अहिलेकै अवस्थामा बजार माग धान्न यस वर्ष भारतले १५ लाख मेट्रिक टन धान भन्सार छुटमा दिनुपर्छ,’ गुप्ताले भने, ‘भारत सरकारबाट यो परिमाणको धान उपलब्ध गराउन हामी पहल गर्छौं। सरकारले पनि पहल गर्नुपर्छ। भन्सार छुटमा ल्याउन सकियो भने यहाँ चामलको मूल्य बढ्दैन।’
गत वर्ष भदौ अन्तिमदेखि भारतले कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो। नेपाललाई भने वार्षिक ६ लाख मेट्रिक टन धानको कोटा निर्धारण गरी भन्सार छुट दिएको थियो।
भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता हो। विश्वव्यापी चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ।
नेपालमा पनि ठूलो परिमाणमा भारतीय चामल भित्रिने गरेको छ। हामीकहाँ धेरै भित्रिने भनेको जिरा मसिनो र मोटा चामल हो। बासमती, ब्राउन राइस र अरू प्रकारको चामल पनि भित्रिन्छ तर यिनको हिस्सा कम छ।