कतैकतै घरपरिवारमा ठट्टाको एउटा भनाइ चल्छ– आज म ससुराली जान्छु, तिमी माइत जाऊ, छोराछोरी मामाघर जान्छन्। यस्तो पनि चल्छ– आज म माइत जान्छु, तपाईं ससुराली जानू, छोराछोरी मामाघर जान्छन्।
आज किन परिवारै यसरी जाने? किनभने मिठो खान!
अब ठट्टा मात्रै गरिरहनु पर्दैन। साँच्चै गए हुन्छ!
जाने चाहिँ मनोहरा खोला किनारस्थित दिवेश्वरी टाउन प्लानिङ, भक्तपुर। त्यहाँ एउटै आँगनमा छन् ससुराली, माइती र मामाघर।
यी घर दुई रोपनी क्षेत्रफलमा अटाएका छन्। एउटा घर हो ससुराली, अर्को घर माइती र अर्को मामाघर। जेजे भने पनि खासमा यो हो 'ससुराली रेस्टुरेन्ट'।
ससुरालीका सञ्चालक सुकदेव नेपालका अनुसार 'ससुरा' ले व्यवस्थापन मिलाउने, 'सासू' ले पकाउने र 'साला–साली' ले सेवा गर्ने अवधारणामा रेस्टुरेन्ट सुरू भएको हो। यसो भए पनि भान्सामा महिला सेफ छैनन्।
'रेस्टुरेन्टको भान्सामा काम गर्ने महिला सेफ पाउन मुश्किल छ। सुरूमा एक जना सेफ महिला भए पनि अहिले सबै पुरूष नै छन्,' उनले भने।
ससुराली रेस्टुरेन्ट सुरू भएको दुई वर्ष हुनै लाग्यो। सुकदेवले दुई करोड २४ लाख रूपैयाँको लगानीमा रेस्टुरेन्ट तयार गरी २०७८ भदौदेखि सेवा सुरू गरेका हुन्।
यहाँ एकै पटकमा दुई सय जनासम्म ग्राहकले सेवा पाउने क्षमता छ। दैनिक सरदर डेढ सय जना पुग्छन्। ग्राहक सेवाका लागि ३५ जना कर्मचारी छन्।
'बिदाका दिन त ग्राहकहरू गेटबाहिरै पर्खनुपर्ने अवस्था छ। धेरैजसो ग्राहक परिवारसँग बेलुकीको खाना यहाँ आउनुहुन्छ,' उनी भन्छन्, 'रेस्टुरेन्टको खाना, वातावरण र सत्कारबारे सकारात्मक प्रतिक्रिया दिनुहुन्छ।'
रेस्टुरेन्ट बिहान ९ बजेदेखि बेलुकी १० बजेसम्म खुला रहन्छ। शुक्रबार र शनिबार 'लाइभ म्युजिक' चल्छ।
उनका अनुसार ससुराली रेस्टुरेन्टमा ९० प्रतिशत ग्राहक सपरिवार आउँछन्। यीमध्ये करिब ७० प्रतिशत दोहोरिने ग्राहक हुन्। अधिकांश ग्राहक काठमाडौं उपत्यकाका छन्।
ससुरालीमा ७० भन्दा बढी परिकार पाइन्छ। यहाँ ज्वाइँ खाना सेट, सासूआमाको मेजमानी सेट, मामा एन्ड माइजू खाजा सेट, भान्जाभान्जी मःम प्लाटर र ससुराली फेमिली हाँडी बिरयानी प्रख्यात छन्।
ग्राहकको रूचिअनुसार मांसपरिकार तयार हुन्छ। मटन, बफ, पोर्क, चिकन र कालिजका परिकारहरू बन्छन्। मःम, सुप, फास्टफुड परिकारसँगै इन्डियन र इटालियन परिकार पनि पाइन्छन्। पेय पदार्थ पनि उपलब्ध छ।
शाकाहारीका लागि पनि रोजेका परिकारहरू बन्छन्। खाना सेटको सुरूआती मूल्य ५६५ रूपैयाँ छ। सेटबाहिरको परिकारको अतिरिक्त मूल्य तिर्नुपर्छ।
रेस्टुरेन्टमा परिकार थप्ने तयारी छ। सुकदेवका अनुसार यसका सातवटा प्रदेशबाट विशेष परिकारहरू थपिने छन्।
'सात प्रदेशको प्रतिनिधित्व गर्ने तर सजिलै नपाइने नेपाली परिकार थप्ने तयारी छ। हामी यसको खोजीमा छौं। ग्राहकहरूलाई आफ्नो देशका विशेष परिकारहरू खुवाउन चाहन्छौं,' सुकदेवले भने।
सहरमै भए पनि सहरको खचाखचबाट अलग्गै छ ससुराली रेस्टुरेन्ट। खोलाको किनारमा हुनु पनि यसको विशेषता हो। सहरको कोलाहलभन्दा केही पर छ, शान्त र खुला छ।
सुकदेव एक्लैले आँटेर सुरू गरे पनि अहिले तीन जना सहकर्मी थपिएका छन्। सहकर्मीबाट लगानी थपिएपछि रेस्टुरेन्ट अझ बढी चलायमान भएको छ।
सिन्धुपाल्चोकका सुकदेव एसएलसी परीक्षा दिएर २०६६ सालमा काठमाडौं आएका थिए। उनले जियोम्याटिक्समा डिप्लोमा गरे। रेस्टुरेन्ट व्यवसायमा आउनुअघि जियोम्याटिक सर्भेयर थिए। उनले जियोम्याटिक्सको थोरै सीप आफ्नो रेस्टुरेन्टमा पनि लगाएका छन्।
ससुरालीको गेटबाट प्रवेश गरेपछि ५० मिटर लामो सुरूङ पार गर्नुपर्छ। सुरूङ पार गरेपछि सामुन्नेमा 'ससुराली' घर देखिन्छ। नजिकै माइतीघर र मामाघर छन्। माइतीघरमा महिलाका लागि 'ड्रेसिङ रूम' पनि छ।
सुरूङ र रेस्टुरेन्टका भित्ताहरूमा हातले चित्रहरू कोरिएका छन्। 'ससुराली आधा घर' लेखिएको छ। यो वाक्यले ग्राहकहरूलाई ससुराली भनेको घर जस्तै हो, साला-सालीहरू भाइबहिनीजस्तै हुन् भन्ने सन्देश दिन खोजेको सुकदेवको भनाइ छ।
'आफ्नो विशेषज्ञताको उपयोग गरेर सुरूङबाट प्रवेश गर्ने अवधारणा बनाएको हुँ,' सुकदेव भन्छन्, 'सुरूङबाट आउँदै गर्दा ग्राहकहरू निरस हुन्छन् तर अन्तिम बिन्दुमा पुग्नेबित्तिकै खुला वातावरणले उत्साहित हुन्छन्। ग्राहकहरूको मुहारमा बेग्लै चमक आउँछ। यो अवधारणा रूचाइएको छ।'
उनले ससुराली रेस्टुरेन्टको दैनिक व्यवस्थापनमा व्यवस्थापक नियुक्त गरेका छन्। उनी आफू भने 'निर्माण्डु इन्जिनियरिङ सेवा' नामक कन्सल्टेन्सी कम्पनी चलाउँछन्।
जियोम्याटिक्सको पढाइ सकेपछि सुकदेवले २०७० सालमा हाइड्रोपावर (जलविद्युत) कम्पनीमा काम सुरू गरेका थिए। त्यसको दुई वर्षपछि २०७२ सालमा कन्सल्टेन्सी सुरू गरेका हुन्। आजकाल उनी दिउँसोभरि कन्सल्टेन्सीमा हुन्छन्। बेलुका भएपछि ससुराली पुग्छन्।
खासमा त सुकदेव आफ्नो पढाइकै विषयसँग सम्बन्धित काममा ढुक्कले लाग्न चाहन्थे। एक दिनको खास घटनाले उनलाई रेस्टुरेन्ट व्यवसायमा तानेको हो।
कुरा २०७७ साल अन्त्यतिरको हो। उनी कामको सिलसिलामा नेपालको पूर्वी भेग पुगेका थिए। काठमाडौं फर्किने क्रममा खाना खान राजमार्ग छेउको एउटा रेस्टुरेन्टमा पसे।
'सडक छेवैमा एउटा क्याफे थियो। खाजा खान त्यहाँ गएँ,' उनले भने 'त्यहाँ पस्नेबित्तिकै अर्कै आनन्द महसुस गरेँ। वातावरण साह्रै शान्त र शीतल थियो। खाजा खान पसेको म बेलुकासम्म बसेँ।'
काठमाडौं आएपछि उनलाई त्यस्तै शान्त र शीतलताको आनन्द दिने रेस्टुरेन्ट चलाउने विचार आयो। उनले आफूसँग भएको रकमबाट आफ्नो कल्पनाअनुसारको रेस्टुरेन्ट चलाउन २०७८ वैशाखमा काम सुरू गरे। चार महिनामा तयारी पूरा भयो। पाँचौं महिना, भदौमा सेवा सुरू भयो।
अहिले रेस्टुरेन्ट भएको क्षेत्रफल सुकदेवले दस वर्षका लागि भाडामा लिएका छन्।
यो रेस्टुरेन्टको नामले पनि धेरै ग्राहकलाई आकर्षित गरेको छ।
यही नाम राख्नुको कारणबारे सुकदेव भन्छन्, 'मौलिक होस् भन्ने सोचेर ससुराली नाम राखेको हुँ। ग्राहकहरूलाई ससुराली जाँदा जस्तै पाइने सत्कार होस् भन्ने चाहना हो।
रेस्टुरेन्ट क्षेत्रमा जुन सोच र सपनाले प्रवेश गरेका थिए, त्यसअनुसार आफू सन्तुष्ट भएको उनी बताउँछन्। ग्राहकहरूको प्रतिक्रियाले खुसी दिएको छ। काममा निरन्तरता दिन पनि हौसला मिलेको छ।
ससुराली रेस्टुरेन्टको टिमले सामाजिक सञ्जाललाई 'मार्केटिङ ग्राउन्ड' बनाएको छ। अधिकांश नयाँ ग्राहक सामाजिक सञ्जालबाट जानकारी पाएर नै आउने गरेको सुकदेवले बताए।
सुकदेव ससुराली रेस्टुरेन्टलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन चाहन्छन्। नेपालीहरूको संख्या अलि धेरै रहेका क्यानडा, अमेरिका, अस्ट्रेलिया, पोर्चुगल र खाडी मुलुक लगायतमा पुर्याउने उनको लक्ष्य छ। यसका लागि विदेशमा रहेका केही नेपाली व्यवसायीहरूसँग छलफल पनि गरिरहेका छन्।
ससुराली रेस्टुरेन्टको फ्रेन्चाइज पनि माग हुन थालेको छ तर यसतर्फ उनले सोच बनाइसकेका छैनन्।
व्यवसाय गर्न विचार, लगानीका साथै उचित योजना र दृढ इच्छाशक्ति चाहिने उनी बताउँछन्।
'रेस्टुरेन्ट व्यवसाय चलाउन सहज छैन। व्यवसाय गर्ने योजना उचित र बजार लक्षित हुनुपर्छ। आर्थिक र अन्य सबै व्यवस्थापन सही तरिकाले गर्नुपर्छ। नत्र व्यवसाय सफल हुँदैन,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी