चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउनदेखि असोजसम्म) १२ अर्ब ८३ करोड रूपैयाँ बराबरको लुगा (तयारी पोशाक) आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा यो ६८ प्रतिशतले बढी हो।
गत वर्ष साउनदेखि असोजसम्म सात अर्ब ६० करोड रूपैयाँ बराबरको लुगा आयात भएको भन्सार विभागको तथ्यांक छ।
तथ्यांक हेर्दा आयात मात्र होइन तयारी लुगाको निर्यात पनि ८ प्रतिशले बढेको छ।
गत साउनदेखि असोजसम्ममा तीन अर्ब ५३ करोड रूपैयाँ बराबरको तयारी लुगा निर्यात भएकोमा यस वर्ष सोही अवधिमा तीन अर्ब ८२ करोड रूपैयाँ बराबरको लुगा विभिन्न देशमा निर्यात भएको छ।
यस वर्ष दसैं–तिहार कात्तिकमा परेकाले जाडोका लुगा समेत ल्याउँदा मूल्य बढी देखिएको न्यूरोडका थोक व्यापारी किशोर नेपाल बताउँछन्।
'कारोबार पोहोरभन्दा कम छ,' उनले भने, 'जाडोका लुगाले गर्दा पैसा बढी देखिएको हो।'
उनका अनुसार गत वर्षहरूमा दसैं असोजमै पर्थ्यो। असोजमा खासै चिसो नहुने भएकाले व्यापारीले दसैं–तिहार र जाडोको लुगा छुट्टाछुट्टै ल्याउँथे। ग्राहकले पनि दसैं–तिहारमा पातला फेसनेबल लुगा किन्थे, भने जाडो लागेपछि बाक्ला लुगा बिक्री हुन्थ्यो।
तर यस वर्ष आर्थिक मन्दीले गर्दा व्यापार सुस्ताएको छ। गत वर्षहरूमा दसैंमा एक व्यक्तिले दुई जोरसम्म लुगा किन्ने गरेको किशोरको अनुभव छ।
तर, यस वर्ष एक जोर बिक्री गर्न पनि व्यापारीलाई मुस्किल परेको किशोर बताउँछन्। तिहारपछि पनि व्यापार खासै नहुने उनको भनाइ छ।
उनी भन्छन्, 'तिहारपछि जाडोका लुगा बिक्नु पर्ने हो। तर अधिकांश ग्राहकले दसैंमै जाडोका लुगा किनिसकेका कारण पनि व्यापार हुने छाँटकाँट देखिदैंन।'
यस वर्ष भन्सार सहजीकरणका कारण पनि एकैपटक लुगा भित्रिएको रञ्जना व्यापार संघका महासचिव हरि पाण्डेले जानकारी दिए।
'पहिले तयारी लुगा ल्याउन भन्सारमा समस्या थियो, महिनौंसम्म लुगा भन्सारमै अड्किन्थे,' उनले भने, 'यस वर्ष भन्सार सहजीकरण भएको छ। त्यो भएर एकै पटक लुगा आएको हो।'
मंसिरदेखि भने लुगाको आयात घट्ने उनी बताउँछन्।
'जाडोका लुगा पनि अहिले आइसक्यो,' उनले भने, 'मंसिरदेखि लुगाको आयात घट्छ।'