खानाका परिकारको व्यवसाय गर्ने अठोट छ भने काँटाचम्चा, प्लेट र मेनुमा एउटै विशेष परिकार भए पनि पुग्छ! व्यवसाय चल्न ग्राहक लोभिने परिकार हुनुपर्यो। सेवामा ग्राहक सन्तुष्ट हुनुपर्यो।
यही विश्वास राखेर ३२ वर्षीय सञ्जीवकुमार तिमिल्सिनाले खोलेका हुन् 'झिर सेकुवा'।
यहाँको विशेष परिकार भनेकै आगोको रापमा बनाइएको सेकुवा हो।
२०७८ भदौमा खुलेको झिरले धेरै सेकुवा पारखीलाई लोभ्याएको छ। दिउँसोको खाजाका लागि प्रसिद्ध भएको छ, बेलुका साथीहरू जम्मा हुने अड्डा बनेको छ।
'झिर कुनै ठूलो फेन्सी रेस्टुरेन्ट होइन, सामान्य हो। तर मुख्य प्राथमिकता परिकारको गुणस्तर नै हो,' सञ्जीवले भने, 'यो हरेक उमेर समूहका लागि उपयुक्त रेस्टुरेन्ट हो।'
दुई वर्ष अवधिमा झिर दस ठाउँमा खुलिसकेको छ। शंखमूलको बागमती करिडोरको झिर मुख्य शाखा हो। यहाँका सञ्चालक सञ्जीव हुन्।
यसबाहेक उपत्यकाभित्र, कालोपुल, टोखा, इमाडोल, भैंसेपाटी, बानेश्वर, झम्सिखेल, बालाजु र पेप्सीकोलामा झिर खुलेको छ। उपत्यकाबाहिर हेटौंडामा छ। शंखमूलबाहेक अन्यत्रका सबै झिर सेकुवाका फ्रेन्चाइज हुन्।
'फ्रेन्चाइज रेस्टुरेन्ट व्यवसाय मेरो सपना थियो। झिर सेकुवा त्यही मोडलमा सञ्चालन गर्दैछु। फ्रेन्चाइजहरूमा नियमित अवलोकन गर्छु,' उनले भने।
फ्रेन्चाइज अवधारणामा लगानीकर्ताले सञ्चालकबाट रेस्टुरेन्टको नाम, ट्रेडमार्क, ब्रान्ड र व्यापार मोडल प्रयोग गर्ने अधिकार खरिद गर्छ।
विकसित मुलुकहरूमा धेरै जसो रेस्टुरेन्ट फ्रेन्चाइज अवधारणमा चलेका हुन्छन्। नेपालमा पनि यो अवधारणा विस्तार हुँदैछ। यस्तो अवधारणामा सञ्चालित सबै रेस्टुरेन्टमा परिकारको स्वाद, गुणस्तर र सेवा समान हुने सञ्जीव बताउँछन्।
झिरमा मटन, पोर्क र चिकेन सेकुवा पाइन्छ। मटन सेकुवा सेटको ४४० रूपैयाँ, पोर्कको ३३० रूपैयाँ र चिकेनको ३२५ रूपैयाँ पर्छ। सेटमा मुरै (भुजा), भुजिया, मूलाको अचार, गोलभेँडाको अचार र सलाद पाइन्छ। ग्राहकले आफ्नो इच्छाअनुसार थप अर्डर गर्न पनि पाउँछन्।
त्यस्तै हाँसको छोइला, चिकेन मःमः, माछाको सेकुवा, पोर्क स्लाइस डामेको, मटन रिब्स र पोलेको ह्याकुला पनि झिरका विशेष परिकार हुन्। भेज सेकुवा सेट र पोलेको आलु पनि पाइन्छ।
'मेनुमा एक दर्जनभन्दा बढी परिकार भए पनि अधिकांश ग्राहकहरू सेकुवाकै लागि आउँछन्,' सञ्जीवले भने, 'परिकार मीठो भयो भने सामान्य तरिकाले पनि व्यवसाय गर्न सकिन्छ। काँटाचम्चा र प्लेट भए रेस्टुरेन्ट व्यवसाय चलाउन सकिन्छ। ग्राहकलाई खाना र सत्कारले लोभ्याउने हो।'
मासु र मरमसलाको गुणस्तरमा पर्याप्त ध्यान दिएको उनको भनाइ छ।
काभ्रेका सञ्जीव कलिलै उमेरमा पढाइको सिलसिलामा काठमाडौं आएका हुन्। बाह्र कक्षाको पढाइ पूरा गरेर उच्च शिक्षाका लागि बेलायत पुगे। 'अन्तर्राष्ट्रिय पर्यटन र आतिथ्य व्यवस्थापन' विषयमा स्नातक तह र त्यहीँबाट 'आतिथ्य व्यवस्थापन' मा स्नातकोत्तर पूरा गरे।
पढाइसँगै उनी एक चेन रेस्टुरेन्टमा काम गर्थे। त्यस बेलै नेपाल फर्केर चेन रेस्टुरेन्ट चलाउने सोच बनाएका थिए।
पाँच वर्ष बेलायतको रेस्टुरेन्टमा काम गरिसकेका सञ्जीव नेपाल फर्केर पनि यही काममा लागे। उनी आठ वर्षअघि फर्किएका हुन्। आएपछि 'बाजेको सेकुवा' रेस्टुरेन्टमा काम गर्न थाले। त्यहीँ उनले सेकुवासँगै अन्य परिकारको विशेषता र पकवान शैली नजिकबाट बुझ्ने अवसर पाए।
एक दशकको जागिरे जीवनमा जानेको सीप, अनुभव र आत्मविश्वास लिएर उनी आफ्नै व्यवसाय गर्न चाहन्थे।
'किफायती मूल्यमा मीठो सेकुवा पाउन मुस्किल पर्छ,' उनले भने, 'यही कुरा विचार गरेर ग्राहकलाई गुणस्तरीय र स्वादिलो सेकुवा खुवाउने निष्कर्षमा पुगेँ।'
त्यो बेला बागमतीको शंखमूल करिडोर 'रेस्टुरेन्ट हब' का रूपमा विस्तार हुँदै थियो। सञ्जीवले त्यहीँ आठ आना जग्गा भाडामा लिए। करिब ८० जना ग्राहक अट्ने फर्निचर राखे। केही कर्मचारी नियुक्त गरे।
'५० लाख रूपैयाँ लगानीमा झिर सेकुवा सुरू भएको हो,' उनले भने, 'सेकुवा नै यहाँको विशेषता भएपछि नाम पनि झिर राखेको हुँ।'
उनका अनुसार झिरले प्रत्येक दिन अपराह्न १ बजेदेखि राति दस बजेसम्म ग्राहकलाई सेवा दिन्छ। दस ठाउँमा चलेका झिरमा कम्तीमा दुई सय जनाले रोजगारी पाएका छन्। शंखमूलमा मात्रै २७ जना छन्।
सञ्जीव झिर रेस्टुरेन्ट अझै विस्तार गर्न चाहन्छन्।
काठमाडौं उपत्यकामा कम्तीमा ५० वटा फ्रेन्चाइज चलाउने सपना छ। उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना बनाएका छन्।
'झिरमा काम गर्ने कर्मचारीहरूले पनि फ्रेन्चाइज लिनुभएको छ। झिरले नयाँ उद्यमी जन्माइरहेको छ,' उनले भने, 'नेपालमै व्यवसाय गर्ने सोच भएका र व्यवसायमा इमानदारलाई फ्रेन्चाइज दिन्छौं।'
सञ्जीवले नेपालमा व्यवसाय र रोजगारी सिर्जनाको राम्रो सम्भावना देखेका छन्।
भन्छन्, 'व्यवसाय जहिल्यै चुनौतीपूर्ण हुन्छ तर नेपाल अवसरहरूले भरिएको भूमि हो। रूचिअनुसार इमानदारीपूर्वक काम गर्ने हो भने सफलता मिल्छ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी