पश्चिम नेपालको प्रमुख व्यापारिक नाका मानिने बाँकेको नेपालगञ्जमा झन्डै एक अर्ब लगानीमा पाँच तारे होटल बन्ने भएको छ।
बाँकेको जानकी गाउँपालिका– ३ मानपुरस्थित दुई बिघा क्षेत्रफलमा होटल पौवाको शिलान्यास गरिएको छ। यो होटल हुलाकी मार्गअन्तरगत खजुरा रोडमा पर्दछ।
निर्माणको काम दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको इञ्जिनियर प्रदीप भण्डारीले सेतोपाटीलाई बताए।
यो नयाँ होटलमा फरक–फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठूला सभा हल १४ वटा मिटिङ हल, सात वटा स्वीट रूमसहित ८० वटा डिलक्स रूम निर्माण गरिने भण्डारीले बताए।
होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले मानपुरमा निर्माण हुन थालेको पाँच तारे होटलको लागत मूल्य झन्डै एक अर्ब पुग्ने अनुमान गरिएको बताए।
पश्चिम नेपालको पर्यटकीय क्षेत्र नेपालगञ्ज रहेको हुँदा यहाँबाट मानसरोवर जाने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लगायतलाई मध्यनजरमा राखेर लगानी गरिएको बताए।
‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई जति प्रचार प्रसारमा ल्याउनु पर्ने हो त्यो हुन सकेको छैन,’ अध्यक्ष भण्डारीले भने, ‘यहाँका पर्यटन व्यवसायी त्यसमा चुकेको हुँदा त्यसको लाभ उठाउने हाम्रो उद्देश्य छ।’
प्रदेश सरकारले पनि पर्यटन क्षेत्रको विकासमा जति गर्नुपर्ने हो त्यो गर्न नसकेको र भविष्यमा प्रदेशका संरचनाहरू बढ्दै जाने क्रममा भविष्यमा बढ्ने पर्यटकलाई मध्यनजर गरी नेपालगञ्जको पाँच तारे होटलमा मात्रै एक अर्ब बढी लगानी गर्न थालेको उनले तर्क गरे।
‘आफ्नै प्रदेशको एक ठूलो सम्भावना बोकेको नेपालगञ्ज सहरमा सबभन्दा सुविधायुक्त र उत्कृष्ट होटल बनाउने हाम्रो लक्ष्य छ,’ अध्यक्ष भण्डारीले भने,‘यसले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान पुग्ने हाम्रो विश्वास छ।’
पौवा होटलका हरेक शाखामा घरासयी वातावरण पाहुनाले पाउने उनले दाबी गरे।
आफन्तको घरमा पाहुना जाँदाझैं जस्तै गरी आतिथ्य सत्कार दिने प्रयास होटल पौवाले गर्दै आएको उनले बताए।
नेपालगञ्जमा निर्माण गर्न थालिएको यो होटल पौवा प्रालिको १३ औं शाखा हुनेछ।
नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित सात वर्ष पहिले रूपन्देहीको सालझण्डीबाट होटल पौवा प्रालिले आफ्नो व्यवसायिक लगानी सुरू गरेको थियो। त्यसपछि भैरहवा, दाङको लमही, भालुवाङ, पाल्पा, गुल्मी, जुम्ला, धनगढी, काठमाडौं, पोखरा, चितवनको सौराहा लगायतमा शाखा विस्तार गरिएको अध्यक्ष भण्डारीले बताए।
हाल कोशी र मधेस प्रदेश बाहेकका प्रदेशमा होटलले सेवा दिँदै आइरहेको छ।
पौवा प्रालिले यही आर्थिक वर्षमा थप दुई वटा शाखा थप गर्ने लक्ष्य राखेको छ। सोही अनुरूप कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन भइरहेको र मधेश प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।
गण्डकी प्रदेशमा पनि थप होटल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए।