बिहान खाना खाएर नौ-दस बजे कार्यालय पुगेपछि दिउँसो खाजा नखाई हुँदैन। बिहान नखाई जानेलाई खाना कहाँ खाने भन्ने सधैंको पिरलो हुन्छ।
कहाँ खाने? के खाने?
दिप्ती अग्रवाल सिंहलाई पनि आफू जागिरे हुँदा यही पिरलो हुन्थ्यो। उनले आखिर जागिर नै छाडिन्। अनि यस्तो व्यवसायमा लागिन् जसले जागिरेहरूकै लागि स्वस्थकर खाना र खाजा खुवाउँछ।
उनी 'मदर्स किचन' चलाउँछिन्।
'यो भान्साले ग्राहकलाई घरकै स्वादमा स्वस्थकर खाना र खाजाका सेट खुवाउँछ,' ३५ वर्षीया दिप्तीले भनिन्, 'आमाले पकाएर खुवाउने जस्तै खाना बन्ने भएकाले मदर्स किचन नाम राखेकी हुँ।'
मदर्स किचन २०७३ सालमा सुरू भएको हो। यसले कार्यालयहरूसँगै घरमा पनि परिकारहरू डेलिभरी गर्छ। सानो परिमाणमा क्याटरिङ सेवा दिन्छ। अग्रिम मागअनुसार लन्च बक्स तीन सय जनासम्मलाई उपलब्ध हुन्छ।
प्रत्येक आइतबार मदर्स किचनको सामाजिक सञ्जालमा मेनु सार्वजनिक हुन्छ। मेनुमा आइतबारदेखि शुक्रबारसम्म उपलब्ध हुने परिकारको सूची हुन्छ। भेज (शाकाहार) थाली, भेज, नन-भेज (मांसहार) थाली, खाजा, हेल्थ बक्स, बेकरीका साथै चटपटे र पानीपुरी हुन्छ। सबै परिकार काठमाडौंको कालोपुलमा रहेको भान्सामा तयार हुन्छ।
उपभोक्ताहरूले थाली सेट धेरै रूचाएको दिप्ती बताउँछिन्। थालीमा भात, रोटी, दाल, मौसमी तरकारी, अचार र सलाद हुन्छ। मागअनुसार अण्डा र मासु पनि हुन्छ। खाजामा आलुदम, बर्गर, स्यान्डविच, चिप्स, आलुपुरी, पराठा, मःम, फ्राइड राइस लगायत बन्छ।
परिकारको न्यूनतम मूल्य १५० रूपैयाँ छ।
यसले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खाना-खाजा डेलिभरी गर्छ। डेलिभरीका लागि आफ्नै एउटा भ्यान र दुइटा मोटरसाइकल छन्। हाल काठमाडौंको रिङरोडभित्र मात्र डेलिभरी हुन्छ। यसबाहेक फुडमान्डु, भोजडिल र पठाओ फुड जस्ता अनलाइन डेलिभरी एपबाट मदर्स किचनको खाना-खाजा अर्डर गर्ने सुविधा छ।
मदर्स किचनमा एक जना हेड सेफ र १३ जना होम कुक छन्। होम कुकहरू पाककलामा विशेष तालिम वा कक्षा लिएकाहरू होइनन्, परम्परागत घरायसी कौशलले खाना पकाउने व्यक्ति हुन्।
'हाम्रो भान्साको एउटै परिकार पनि फरक फरक स्वादको हुन सक्छ। खाना बनाउने विशेष सूत्र छैन। घरमा परिवारका लागि जसरी पकाइन्छ, त्यसरी नै पकाउने हो,' दिप्तीले भनिन्, 'मदर्स किचनको खास विशेषता यही हो। चिल्लो, पिरो, नुन, मसला केही पनि बढी हुँदैन। नक्कली स्वाद, बास्ना र रङ प्रयोग हुँदैन।'
हाल १५ वटाभन्दा बढी कार्यालयका कर्मचारी मदर्स किचनका नियमित ग्राहक छन्। यिनमा पनि बैंक र सूचना प्रविधि कम्पनी बढी भएको उनले बताइन्। धेरैजसो ग्राहक पुरूष छन्।
दिप्तीका अनुसार उनले खास लगानी नै नगरी मदर्स किचन सुरू गरेकी हुन्। यसमा उनकी आमाको सहयोग छ। उनकी आमा सुशीला बीस वर्षदेखि होस्टल चलाइरहेकी छन्। कालोपुल र मैतीदेवीमा दुइटा होस्टल छन्।
मदर्स किचन कालोपुल होस्टलको भान्साबाट सुरू भएको हो।
'पारिवारिक पृष्ठभूमि पनि व्यावसायिक भएकोले नयाँ उद्यम सुरू गर्न सजिलो भयो। सुरूदेखि नै आमाले मद्दत गर्नुभयो। काम गर्न हौसला दिनुभयो,' दिप्तीले भनिन्।
दिप्तीका हजुरबा भारतबाट काठमाडौं आएर व्यवसाय सुरू गरेका थिए। हजुरबाको व्यवसायलाई बुबाले निरन्तरता दिए। दिप्ती सात कक्षामा पढ्दै गर्दा उनका बुबाको निधन भयो। उनका दाइ र दिदी भारतमा बस्छन्, आमाछोरी नेपालमै छन्।
पाँच कक्षादेखि भारतमा पढेकी दिप्तीले उतैबाट बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर पूरा गरिन्। केही समय दिल्ली र कोलकातामा जागिर खाइन्। अनि नेपाल फर्किन्।
'भारतमा बस्न सकिनँ। पढाइ सकेर केही समय काम गरेँ अनि यतै फर्केँ,' उनले भनिन्।
नेपाल आएर उनले एउटा ट्राभल एजेन्सीमा काम गरिन्। काममा सन्तुष्ट हुन सकिनन्। संयुक्त राष्ट्र संघको एउटा निकायमा पनि कामको अवसर पाइन्। त्यहाँ पनि ६ महिनाभन्दा बढी मन रमेन।
त्यसपछि जागिर छाडेर उनले दस वर्षअघि आफ्नै व्यवसाय सुरू गरिन्। हटडग फास्टफुडको सानो पसल खोलिन्। यसमा पनि चित्त नबुझेपछि करिब डेढ वर्षमै बन्द गरिन्।
'न जागिर न व्यवसाय, करिअर र लक्ष्यमा केही मिस गर्दै थिएँ,' उनले भनिन्, 'मलाई ग्राफिक डिजाइनमा रूचि थियो। यससम्बन्धी कोर्स गर्न फेरि दिल्ली गएँ। सकेर कोलकातामा काम गरेँ। तर ८ महिनामै छाडेँ।'
खासमा उनी नेपालमै केही काम गर्न चाहन्थिन्। तर के गर्ने, टुंगो थिएन। नेपाल फर्केर ग्राफिक डिजाइनरका रूपमा एक विज्ञापन कम्पनीमा काम थालिन्। त्यहीँ हो उनलाई दिउँसो खाजाको समस्या हुन थालेको। बाहिरको खाना-खाजा उनलाई चित्त बुझ्दैन थियो।
'बिहान खाना खाएर हिँडेको मान्छे दिउँसो खाजा के खाने भन्ने अन्यौल भइरहन्थ्यो,' उनले भनिन्, 'बाहिर सामान्य रेस्टुरेन्ट र होटलको खाना स्वस्थकर नहुने। अलि राम्रो रेस्टुरेन्टमा जाँदा महँगो हुने। अर्को विकल्प प्याकेटको खाजा हुन्थ्यो तर त्यो पनि चित्त नबुझ्ने।'
खासमा दिप्ती स्वास्थ्य र जीवनशैलीमा अलि सचेत छन्। बाहिरको खाजामा चित्त नबुझेपछि घरबाटै लैजान थालिन्। तर हरेक दिन घरबाट खाजा लैजान पनि सजिलो हुँदैन। खाजा बनाउने समय सधैं अनकूल नहुन सक्छ।
त्यही बेला उनलाई भारतमा काम गर्दाका दिन याद आए। त्यहाँ 'टिफिन बक्स' र 'डब्बा' सेवा हुन्थ्यो। तिनले कार्यालयहरूमा खाना र खाजा प्याक गरेर पुर्याउँथे। उनले नेपालमा यस्ता व्यवसायीबारे खोजी गरिन्। केही फेला पारिन्, तर उनलाई महँगो लाग्यो।
'अनि म अब यही व्यवसायमा लाग्ने र चल्तीको भन्दा कम मूल्यमा सेवा दिन सक्ने निष्कर्षमा पुगेँ,' उनले भनिन्, 'यसबारे आमासँग सल्लाह गरेँ। उहाँले होस्टलको किचन प्रयोग गर्न दिनुभयो।'
होस्टलको किचनमा एक जना कुक र दुई जना सहायक कर्मचारी थिए। दिप्तीले उनीहरूकै सहयोगमा घरमै बन्ने किसिमका परिकार बनाएर बेच्ने निधो गरिन्।
कामको टुंगो लागेपछि दिप्तीले मदर्स किचन नाम राखेर फेसबुक पेज खोलिन् र प्रचार गरिन्। आफ्नो चिनजानमा रहेको केही बैंक कर्मचारीले सम्पर्क गरे। सानो परिमाणमा सेवा सुरू भयो। फुडमान्डुसँगको सहकार्यमा डेलिभरी गरिन्।
'व्यवसायमा अनुभव थिएन। जागिर गर्दा भोगेको अप्ठ्यारोका आधारमा मदर्स किचन चलाउने निर्णयमा पुगेकी थिएँ,' दिप्तीले भनिन्, 'साथीहरू ग्राहक बनेपछि म केही उत्साहित भएँ।'
बिस्तारै अर्डर र ग्राहक थपिँदै गए। अनि भने उनी जागिरै छाडेर पूर्ण रूपमा मदर्स किचनमा लागिन्। होस्टललाई असर नपर्ने गरी आफ्नो सेवा दिउँसोको खाजामा केन्द्रित गरिन्। परिकार बनाउन कर्मचारी थपिन्। सेवाको एक वर्ष हुँदा केही साथीले क्याटरिङ सेवामा काम गर्न सुझाब दिएपछि यो काम पनि सुरू गरिन्।
हाल मदर्स किचनको कार्यालय उनकी आमाको होस्टलमै छ। यसमा १५ जना काम गर्छन्। व्यवस्थापन हेर्ने दुई जना छन्।
दिप्ती नेपालमा कामको फराकिलो अवसर छ भन्ने ठान्छिन्। आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै काठमाडौं उपत्यकाभरि पुग्ने प्रयासमा छिन्।
भन्छिन्, 'काम गर्ने इच्छाशक्ति छ भने ठूलो लगानी नगरे पनि राम्रो आम्दानी गर्न सकिन्छ।'
(मदर्स किचनको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्)