काठमाडौंमा चिया खाने ठाउँ कहाँ छ भनेर सोधे, सबै जसोले भनिदिन्छन् — यहाँ छ, त्यहाँ छ!
पानीपोखरीमा भने यस्तो रेस्टुरेन्ट छ, जसको नामै 'चिया खाने ठाउँ' हो।
पारखीहरूलाई अनेकथरी स्वादको चिया खुवाउने उद्देश्यले खुलेको हो यो रेस्टुरेन्ट। त्यसैले सञ्चालकद्वय समीक्षा बास्कोटा र आशिष रेग्मीले रेस्टुरेन्टको नाम नै चिया खाने ठाउँ राखेका हुन्।
'नेपालमा अनेक स्वादको चिया फल्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ,' समीक्षाले भनिन्, 'यस्ता थुप्रै हर्बल चियाको विशेषता र फाइदा बुझाउने उद्देश्य हाम्रो हो। दुई दर्जनभन्दा बढी स्वादको चिया उपलब्ध गराएका छौं।'
अहिले चिया खाने ठाउँ युवा पुस्तामाझ लोकप्रिय रेस्टुरेन्टमध्ये पर्छ। एक हजार ६०० वर्ग फिट क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा आधुनिक र मौलिक दुबै भाव दिने वातावरण छ।
एउटा भित्तामा चियाबारी र चिया टिपिरहेका महिलाको चित्र छ। अर्कापट्टि नेपालको संस्कृति झल्काउने दरबार क्षेत्रका चित्र छन्।
यहाँको खास विशेषता चिया नै हो। नेपाली ब्रेकफास्ट टी, क्यामोमाइल टी, गोल्ड टी, मिस्टिक मेलंगु टी, बुद्धज ब्लेन्ड टी, फ्लावर गार्डेन टी, ह्वाइट टी, ग्रीन टी, सिल्भर टी, चल्तीको मिल्क टी र ब्ल्याक टी यहाँ पाइन्छ।
एक कप चियाको न्यूनतम मूल्य ७० रूपैयाँ छ।
ग्राहकको माग ध्यानमा राखेर चिया खाने ठाउँले कफी र सफ्ट ड्रिंक्स पनि उपलब्ध गराएको छ। खाना र खाजा सेटको परिकार पनि पाइन्छ। हालै रेस्टुरेन्टले आफ्नो मेनुमा '१२ थरी, पेट भरी' नाममा कम्बो सेट थपेको छ। यसमा मःम, मुस्ताङ आलु, स्पाइसी चिकेन, बिरयानी लगायत १२ वटा परिकार उपलब्ध हुन्छ।
'ग्राहकहरू एउटै थालीमा धेरै परिकार पाइने कम्बो सेटमा आकर्षित छन्। त्यसैअनुसार रेस्टुरेन्टका विशेष परिकारको कम्बो सेट तयार पारेका हौं। ग्राहकले रूचाएका छन्,' समीक्षाले भनिन्।
चिया खाने ठाउँका सञ्चालक समीक्षा र आशिष दुबै राजनीतिकर्मी हुन्। समीक्षा विवेकशील साझा पार्टीकी अध्यक्ष छिन्। आशिष पनि पहिले विवेकशील साझामै थिए। २०७९ सालमा नेकपा एमाले प्रवेश गरे। अहिले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान र अर्थ तथा योजना विभागमा आबद्ध छन्।
दुबै जना एउटै पार्टीमा रहँदाको सम्बन्ध व्यावसायिक साझेदारीमा विकास भएको हो। राजनीतिमा नहुँदा पनि व्यवसाय गर्नुपर्छ भन्ने दुबैको साझा मान्यता थियो।
'राजनीतिसँगै कुनै उद्यम गर्नुपर्छ भन्ने मान्यता हामी दुबै जनामा थियो। सोच मिलेकै कारण योजना अनुसार चिया खाने ठाउँ सुरू गरेका हौं,' आशिषले भने, 'अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएका छौं। उत्साहित छौं।'
आशिष र समीक्षा दुबै चियापारखी पनि हुन्। दुबैलाई चियासम्बन्धी केही ज्ञान पनि छ।
समीक्षा व्यावसायिक कम्पनी बास्कोटा ग्रुपकी प्रमुख हुन्। २०७० सालदेखि सञ्चालनमा आएको यो ग्रुपले 'केटिई' ब्रान्ड नामबाट अर्गानिक चियापत्ती उत्पादन गर्छ। चिया खाने ठाउँमा यही ब्रान्डको चियापत्ती चल्छ।
पूर्वी पहाड पाँचथरकी समीक्षा काठमाडौंमा हुर्केकी हुन्। काठमाडौं स्कुल अफ लबाट २०६४ सालमा स्नातक तहको पढाइ पूरा गरिन्। त्यसपछि अमेरिकामा कानुनमै स्नातकोत्तर तहको पढाइ पूरा गरेर २०६७ सालमा नेपाल फर्किन्। लगत्तै उनी एउटा बैंकमा कानुनी विभाग सम्हाल्न पुगिन्। त्यहाँ करिब नौ महिना काम गरेपछि आफ्नै लिगल काउन्सिलिङ एन्ड रिसर्च सेन्टर सुरू गरिन्।
यसैबीच बिहे भयो, आमा भइन्।
'बच्चा भएपछि अधिवक्ता भएर काम गर्न मुस्किल भयो। राम्ररी समय दिन सकिनँ,' उनले भनिन्, 'बच्चाको हेरचाह गर्दै आफ्नो रूचिको अर्को विषयमा केही काम गरूँ भन्ने भएपछि बास्कोटा ग्रुप सुरू गरेँ।'
समीक्षाले ग्रुप अन्तर्गत नेपालमा उत्पादित चियापत्ती बजार पुर्याउने सोचिन् र केटिई ब्रान्ड सुरू गरिन्।
'व्यवसाय मेरो दोस्रो रूचिको क्षेत्र थियो। आखिर म व्यवसायमै लागेँ,' उनले भनिन्।
चियाको व्यवसायमै लाग्नुको कारण भने उनको पारिवारिक पृष्ठभूमि हो।
राजनीतिमा सक्रिय नेता दीपकप्रकाश बास्कोटा समीक्षाका बुबा हुन्। नेपाली कांग्रेसमा आबद्ध दीपकप्रकाश मन्त्री पनि भएका थिए। उनले आफ्नै चिया उद्योग चलाएका थिए। चिया उत्पादन गरेर विदेश निर्यात गर्थे।
परिवारमा चियाको काम भइरहँदा समीक्षाले धेरथोर ज्ञान बटुलेकी थिइन्। चियाको काम गर्दै जाँदा उनले २०७२ सालमा ललितपुरको झम्सिखेलमा 'बिजी टी बार' सुरू गरिन्। त्यहीँबाट केटिई ब्रान्डको अर्गानिक चिया चलाइन्।
यसैबीच समीक्षा पनि राजनीतिमा प्रवेश गरिन्। २०७४ सालमा विवेकशील साझा पार्टीको सदस्यता लिइन्। आशिष पनि त्यही बेला पार्टीमा आए।
आशिषले थाइल्यान्डको एआइटी स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन्। पढाइ पूरा गरेर २०७२ सालमा उनी नेपाल फर्केका हुन्।
उनी एकसाथ राजनीति र व्ययवसाय सुरू गर्ने योजनामा थिए। विदेशमा रहँदा उनले 'टी प्वाइन्ट' हरू देखेका थिए। नेपालमा पनि चियाका निम्ति त्यस्तै ठाउँ भए राम्रो चल्न सक्ने ठानेका थिए। तर विभिन्न कारणले काम सुरू गर्न भने सकेका थिएनन्।
समीक्षासँग भेटपछि उनीहरूको योजना मिल्यो। दुबै चिया पारखी भएकाले चियाकै गफ गर्थे। राजनीतिक कर्मसँगै व्यवसाय गर्नुपर्छ भन्ने विषयमा छलफल पनि गर्थे। दुबैको धारणा राजनीति सेवा हो, आम्दानीका लागि पेसा चाहिन्छ भन्ने थियो।
'त्यसैले केही पेसा पनि गरौं भन्ने कुरा हुन्थ्यो,' आशिषले भने, 'कुरैकुरामा चिया विशेष रेस्टुरेन्ट चलाउने योजना बनेको हो।'
योजनाबमोजिम समीक्षा र आशिषले २०७८ सालमा संयुक्त तर सानो लगानीमा ललितपुरको थसिखेलमा चिया खाने ठाउँ खोले।
त्यसको सात महिनापछि करिब ५० लाख रूपैयाँ लगानी गरेर पानीपोखरीमा सारेका हुन्।
समीक्षाका अनुसार चिया खाने ठाउँमा हाल दैनिक सरदर एक सय जना ग्राहक पुग्छन्। धेरैजसो युवा हुन्छन्।
'हामी ग्राहकलाई चियाको विशेषता पनि बताउँछौं। अर्गानिक चिया रूचाउने र नियमित आउने ग्राहक पनि धेरै छन्,' समीक्षाले भनिन्, 'अर्गानिक र हर्बल चिया सुरूमा मिठो नलाग्न सक्छ। खाने बानी बसेपछि स्वादिलो हुन्छ। शरीरलाई फाइदा पनि पुग्छ।'
पानीपोखरी आसपासमा अस्पताल र कार्यलयहरू छन्। त्यहाँका धेरै कर्मचारी पनि चिया खाने ठाउँका ग्राहक हुन्।
हाल ८ जना कर्मचारीले यहाँ बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिन्छन्।
यहाँको खाना र खाजाका परिकार 'पठाओ फूड' बाट अर्डर गर्न पनि सकिन्छ।
समीक्षा र आशिष दुबै जना नेपालमा उद्यमी र व्यवसायीका लागि धेरै अवसर छ भन्ने मान्छन्।
'नेपालमा थुप्रै अवसर छन्। सीप चाहिन्छ, आत्मविश्वास हुनुपर्छ। बजार गतिशील छ। ट्रेन्ड अनुसार चल्न सक्नुपर्छ,' उनीहरू भन्छन्, 'अनि आफ्नो रूचिको विषयमा व्यवसाय गर्नुपर्छ। अरूले गरेको देखेका भरमा हुँदैन।'