चैतको उखरमाउलो गर्मीमा ४२ वर्षीया दिलपुरी बुढा ठूलो चाक्लो ढुंगामामाथि खुट्टाले कम्मल माड्दै थिइन्।
ढुंगामुनि आगोको भुंग्रो देखिन्थ्यो। त्यसरी खुट्टाले माड्दै गरेको कम्मल भेडाको ऊनबाट बनेको हो।
तातो ढुंगामाथि कम्मल माड्दा दिलपुरीका खुट्टा रगतै खस्ला जस्ता देखिन्थे। पैतालामा फोका उठेका थिए। उनी हातले झ्यालको रड समाएर कम्मल माड्ने काममा व्यस्त थिइन्।
दाङको घोराही उपमहानगरपालिका–१३ मा पर्ने बडहरा गाउँकी दिलपुरीले यसरी काम गरेको ३० वर्ष भयो। यसरी कम्मल बनाउनु उनीहरूको पुर्ख्यौली पेसा हो।
उनका माइला भाइ उपेन्द्र बुढा साथमै थिए। उपेन्द्र अर्को कम्मल पैतालाले माड्दै थिए। सजिलोका लागि उनले छड्के पारेर अड्याइका बाँसको सहारा लिएका थिए।
उपेन्द्र एक महिनाअघि मात्रै खाडी मुलुकबाट घर फर्केका हुन्। घरमा दिदीलाई काम सघाउँछन्।
दिलपुरीका अनुसार भेडाको ऊनबाट बुनेको कम्मल यसरी जति माड्यो उति नरम, बाक्लो र भुवादार हुन्छ।
'यो काम खुट्टाले नगरी हुँदैन। शीतलमा गरेर पनि हुँदैन,' दिलपुरीले भनिन्, 'घाम लागेको ठाउँमा गर्नुपर्छ। अझै तातो बनाउन चाक्लो ढुंगा आगोले तताउनुपर्छ।'
एउटा कम्मल तीन घन्टा लगातार पैतालाले माड्नुपर्छ।
'यस्तो काम गर्न कहाँ सजिलो छ र! कम्मल मार्दा खुट्टा पाकेको छ, पैतालाभरि फोहरा (फोका) भएका छन्,' उनले भनिन्, 'अरूले बुनेको कम्मल पातलो हुन्छ। हामीले बनाउने बाक्लो र मुलायम हुन्छ। हामी धेरै मार्छौं।'
यसरी माड्ने कामलाई दिलपुरी आफ्नो लवजमा 'मार्ने' भन्छिन्।
उनी भेडाको ऊन किनेर ल्याउँछिन्। आफै धागो बनाउँछिन् र आफै कम्मल बुन्छिन्।
'हामी पुर्ख्यौली सीपले कम्मल बनाउँछौं। हाम्रो सीप चिनेकाले हामीसँगै किन्छन्। यो कम्मल चोखो हुन्छ,' उनले भनिन्।
'चोखो' भनेर उनले मिसावट नभएको र पर्याप्त माडिएको भन्ने संकेत गरेकी थिइन्।
उनका अनुसार भेडाको ऊनको कम्मल 'चोखो' हुन्छ।
'हामी मगरलाई जन्म, बिहेबारी र मरिमराउमा चोखो कम्मल नभई हुँदैन,' उनले भनिन्, 'घरमा ऊनको एउटा कम्मल छैन भने त आफन्तले कमजोर ठान्छन्।'
दिलपुरी ग्राहकको मागअनुसार मात्रै कम्मल बुन्छिन्। पछिल्लो एक वर्षमा तीस वटा बेचिन्। अहिले उनीसँग ६ वटा कम्मल अन्तिम तयारी अवस्थामा छन्। ती सबै अर्डरका हुन्।
यी ६ वटा कम्मल अमेरिकामा बस्ने नेपालीले अर्डर गरेका हुन्। अब माड्ने काम मात्र बाँकी छ। उनी सेतो ऊनबाट बनेको एउटा कम्मल तीन हजार रूपैयाँसम्ममा बेच्छिन्।
दिलपुरीको पुर्ख्यौली घर रूकुमको तकसेरा हो। तकसेराकै आफन्तले अमेरिका पठाउन कम्मल अर्डर गरेका हुन्। उनले हालसम्म २५ वटा कम्मल जापान पनि पठाएकी छन्।
तर उनी आफैले विदेश पठाउने होइनन्। विदेश पठाउनु छ भनेर अर्डर आउँछ।
'म त अनपढ छु, चिनजानका मान्छे र आफन्तले भन्छन्। उनीहरू नै विदेश पठाउँछन्,' दिलपुरीले भनिन्, 'मान्छे जहाँ पुगे पनि आफ्नो संस्कार छोड्दैन। मगर समुदायका मान्छेले हाम्रो कम्मल अर्डर गर्छन्।'
दिलपुरी कहिल्यै स्कुल गइनन्। सानैदेखि आमासँगै बसेर ऊन बाट्न र कम्मल बनाउन सिक्थिन्। १३ वर्षको उमेरदेखि आफै बनाउन थालिन्।
कम्मल बेच्न दिलपुरी माघीको अवसरमा गुल्मीमा लाग्ने रिडी मेलामा पुग्थिन्। घोराहीको बाह्रकुने दहमा पनि माघीमा ठूलो मेला लाग्छ जहाँ मगर पुजारी हुन्छन्। मगर जातिका लागि यी दुई ठाउँ प्रमुख धार्मिक स्थल हुन्।
त्यहाँ लाग्ने मेलापर्वमा दिलपुरी अग्रज आफन्तहरूका साथ कम्मल बेच्न जान्थिन्। यसरी कमाइ हुन थालेपछि यही काममा लागेकी हुन्।
दिलपुरीको परिवार रूकुमबाट दाङ बसाइँ सरेको सात वर्ष भयो। आफूलाई चाहिने ऊन रूकुमबाटै ल्याउँछिन्।
रूकुममा भेडाको सेतो ऊन हाल एक धार्नीको तीन सय रूपैयाँ पर्छ। एउटा कम्मल बनाउन दुई धार्नी ऊन चाहिन्छ। रातो र कालो ऊन अलि महँगो पर्छ, धार्नीको एक हजार ७०० रूपैयाँसम्म।
हाल रातो र कालो भेडा दुर्लभ हुँदै गएकाले ऊन महँगो उनी बताउँछिन्।
दिलपुरीले रातो र कालो ऊनबाट बुनेका दुई वटा कम्मल देखाइन् जसको बजार मूल्य कम्तीमा २५ हजार रूपैयाँ पर्छ। तर ती कम्मल बिक्रीका लागि होइनन्। आमाबुबाको चिनो र घरको प्रतिष्ठाका रूपमा जोगाएर राखेकी छन्।
उनकी आमा तीन वर्षअघि र बुबा एक वर्षअघि बितेका हुन्।
'यी दुई वटा कम्मल आमाबुबा र म भएर बुनेका हौं,' उनले भनिन्, 'त्यसैले आमाबुबाको सम्झनामा राखेकी हुँ। घरको इज्जत पनि हो। पाहुना आउँदा ओढ्न दिन्छौं।'
लगातार काम गर्न सके एउटा कम्मल तयार गर्न पूरा दुई दिन लाग्छ।
दिलपुरीको खर्च जुटाउने माध्यम पनि यही काम हो। घोराहीमा खेत पनि छ। धान राम्रो फल्छ, त्यसले खान पुग्छ।
'फुर्सदमा खाली बसेर केही फाइदा छैन। पुर्खाले गरेको काम गरेर आम्दानी हुन्छ भने किन नगर्नु भनेर मिहिनेत गर्छु,' उनी भन्छिन्, 'बुढेसकालमा काम गर्न सकिँदैन होला। अहिले मिहिनेत गरेकाले पछिलाई सजिलो हुन्छ।'
दिलपुरीका दुई दाजुभाइ अमेरिका छन्। हालै घर आएका उपेन्द्र माइला हुन्। उनले सात वर्ष दुबई र दुई वर्ष साउदी अरबमा काम गरे।
अहिले दिलपुरीलाई काम सघाइरहेका उनले भने, 'हाम्रा लागि कम्मल बुन्नु ओभर टाइम काम जस्तै हो। कमाइ त धेरै हुँदैन तर त्यसले ठूलो सहयोग पुग्छ। पुर्खाको सीप पनि जोगिन्छ।'
दिलपुरीलाई मगर समुदायको सीप लोप हुँदै गएकोमा चिन्ता लाग्छ।
'हामी मगरको जन्मदेखि मरिमराउसम्म भेडाको भुत्लाबाट बनेको शुद्ध कम्मल नभई हुँदैन थियो,' उनी भन्छिन्, 'आजकाल त परम्परा हराउन थाल्यो।'
उनी बालख हुँदा घरमा एक हजार जति भेडा पालिएका थिए। आजकाल भेडापालन घट्दै गएको छ। यस कारण ऊन पाउन पनि मुस्किल पर्न थालेको उनले बताइन्।
उनका अनुसार दाङमा भेडापालन भए पनि ऊन छोटो हुन्छ। हिमाली र पहाडी क्षेत्रका ऊन लामो र बलियो हुने भएकाले उनी पहाडकै ऊन चलाइरहेकी छन्।
दिलपुरीले भेडाको कच्चा ऊन ल्याएपछि खोलामा लगेर धुन्छिन्। राम्ररी सुकेपछि विशेष प्रकारको फलामका किला ठोकेको काठको फलेकमा रगडेर नरम बनाउँछिन्। त्यसबाट धागो बनाएर डल्ला पार्छिन्। त्यही धागोबाट हातैले कम्मल बुन्छिन्।
यसपछि तातो ढुंगामाथि राखेर खुट्टाले माड्नुपर्छ।
हामी उनको घर पुग्दा उनी यसैगरी कम्मल माडिरहेकी थिइन्।