निर्माण सामग्री व्यापारीहरूले सिमेन्टमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छन्। निर्माण सामग्री व्यापारीहरूको गत साता बुधबार बसेको बैठकले यस्तो माग गरेको हो।
गत साता बुधबार नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंको आयोजनामा भक्तपुर र ललितपुरका व्यापारीहरू संयुक्त रूपमा बैठक बसेका थिए।
'बजारमा मागको तुलनामा आपूर्ति कम गरी कृत्रिम अभाव सृजना गराई उद्योगीहरूले मनामानी ढंगले सिमेन्टको मूल्य वृद्धि गरेको हुनाले यसलाई फिर्ता गरिदिन माग गर्दछौं,' जारी विज्ञप्तिमा भनिएको छ।
सिमेन्ट उत्पादकहरूले अग्रिम भुक्तानी गरिसकेका सिमेन्ट उपलब्ध गराउन समेत सहमत नभएकाले आफूहरू निजी घर तथा भवन निर्माणकर्तालाई सिमेन्ट दिन नसकेको उनीहरूको भनाइ छ।
उनीहरूले बजारमा सिमेन्टको मागलाई कमी हुन नदिनका साथै निर्माण सामग्री व्यापारी पनि उत्पादक कम्पनीको आधारस्तम्भ भएकाले सुमधुर सम्बन्ध राख्न आग्रह गरेको छ। आफ्ना मागहरू आगामी मंगलबारसम्म सम्बोधन गरिदिन व्यापारीहरूले आग्रह गरेका छन्।