चौथो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ।
नेपालको उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विभिन्न आयाम र सम्भावनाहरूको छलफल गर्ने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गरिएको हो।
राष्ट्रिय योजना आयोगका उपाधक्ष्य प्रा.डा. शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त एकदिने सम्मेलनमा नेपालको उद्यमशीलता क्षेत्रका सकृय करिब ४५० उद्यमी, लगानीकर्ता, विकास साझेदार, नीति निर्माणकर्ता आदिको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका सभापति विनय देवकोटाले नेपालको उद्यमशीलताको प्रचुर सम्भावना, नवीनता, सहकार्य र समग्र क्षेत्रको वृद्धिमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रकाश पारे।
कार्यक्रममा उनले नेपालको उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारको पहुँच, लगानीका सम्भावनाहरू र लगानीका स्रोतहरूसँग प्रत्यक्ष्य साक्षात्कर गर्ने हेतुले सुरू गरिएको नेपाल बि डट कमको अनावरण गरे।
अमेरिकी विकास साझेदार (युएसएड) को सहयोगमा बनाइएको उक्त प्ल्याटफर्मले नेपाली उद्यमी र उध्यम्लाई विश्व बजारसँग जोड्न र प्रतिष्पर्धा गर्न उक्त उपकरणले अग्रणी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा चार विशिष्टीकृत सत्रमा छलफल भएको थियो।
नेपाली उद्यमीहरुलाई अन्तर्राष्ट्रिय पुँजीसम्मको पहुँच, प्रवासी नेपालीहरूसँगको सार्थक सहकार्य र बिउ पुँजीसँग जोडिनसक्ने सम्भावनाका विषयमा पहिलो सत्र केन्द्रित रहेको थियो।
द डुअर्स नेपालका अनुप घिमिरेले सहजीकरण गरेका उक्त सत्रमा द ग्रेट नेपाली डायस्पोराकी संस्थापक प्रिती अधिकारी, सेक्युरिटी पालका प्रमुख कार्यकारी अधिकृत पुकार चन्द्र हमाल र न्युरलका अध्यक्ष नविन बास्कोटा सहभागी थिए।
अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन नेपाली उद्यमीहरुले गर्नुपर्ने कार्यहरू, हालसम्म गरिरहेको गल्ती, कमजोरी तथा सम्भावनाका विषय उक्त सत्रमा छलफल भएको थियो।
उद्यम सञ्चालनसँग सम्बन्धित विभिन्न पाटोहरूका विषयमा दोस्रो सत्रमा छलफल भएको थियो। नबिल बैंकका सहायक कार्यकारी अधिकृत मनोज ज्ञवाली, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ता तथा महिला उद्यमी महासंघकी अधक्ष्य शोभा ज्ञवालीले व्यवसायका व्यापक पाटाहरूमा छलफल गरेका थिए।
नेपालको सूचना प्रविधि उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने विषयमा तेस्रो सत्र केन्द्रित थियो। लिपग टेक्नोलोजीका सञ्चालन उपाधक्ष्य प्रतिक श्रेष्ठले सहजीकरण गरेको यस सत्रमा किम्बु टेककी कार्यकारी निर्देशक कर्विका थापा, प्रोग्रमिजका संस्थापक पुनित जजोडिया र वाइज याकका कार्यकारी निर्देशक डा. सुरेश मानन्धरले नेपाली सूचना प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रियकरणको सम्भावना तथा चुनौतीका विषयमा छलफल गरेका थिए।
नेपाली सूचना प्रविधि उद्यमीहरुले अन्तर्राष्ट्रिय बजारमा पहुँच कसरी स्थापित गर्न सक्छन, यसको अवस्था कस्तो रहेको छ र नेपालको स्रोत साधनलाई कसरी अधिकतम उपभोग गर्न सकिन्छ भन्ने विषयमा बहस चलेको थियो।
चौथो सत्रमा अन्तर्राष्ट्रिय बजारमा नेपाली उद्यमीहरुको पहुँचको विषयमा केन्द्रित थियो।
यति एयरलाइन्सका कार्यकारी निर्देशक सुभास सापकोटा, मोनाल टेककी संस्थापक मोना न्यायों तथा योंग इनोवेसनका कार्यकारी निर्देशक विभुषण बिष्ट रहेका सत्रको सहजीकरण अरेटा जन–सम्पर्क कम्पनिकी संस्थापक रुची पाण्डेले गरे।
अन्तर्राष्ट्रिय बजारसम्म पुग्नु अघि ध्यान दिनुपर्ने विषय, त्यस्तो बजारमा पहुँच पुर्याउन हुनुपर्ने गुणस्तरको सुनिश्चितताका विषयमा चर्चा भएको थियो।