नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।
एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको जनाएको छ।
पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रूपैयाँ तोकिएको छ। हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ। पोखराका लागि ७७२ र भैरहवाका लागि ६५९ डलर तोकिएको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।
यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ। यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।