चार सय ५४ मेगावाट क्षमताको किमाथांका अरूण जलविद्युत आयोजनाको परीक्षण सुरूङ खन्न सुरू भएको छ।
पावर हाउससम्म पुग्न प्रयोग गरिने परीक्षण सुरूङ भदौ २ गतेदेखि खन्न सुरू गरिएको आयोजना प्रमुख हिरामान वाइबाले बताए।
उनका अनुसार हाल एक सय २५ मिटर सुरूङ मात्रै खनिएको छ। यस्तो सुरूङ करिब एक हजार मिटर खन्नुपर्छ। विस्फोटक पदार्थको अभावमा लामो समय काम सुरू गर्न नसकिएको उनले बताए। यो सुरूङ आयोजना अध्ययनकै एक पाटो हो।
'सेनाले पनि विस्फोटक पदार्थ दिएन। त्यसपछि निकै समय समस्या भयो। बचेका ठाउँबाट विस्फोटक पदार्थ सापटी लिएर हामीले काम सुरू गरेका छौं,' उनले सेतोपाटीसँग भने।
कास्कीबाट सात टन विस्फोटक पदार्थ सापटी लिई सोही प्रयोग गरेर काम भइरहेको उनले बताए।
यसअघि आयोजनाले नेपाली सेनासँग विस्फोटक पदार्थ लिने पक्का गरेको थियो। तर पछि सेनाले नदिएपछि भारतबाट निर्यातको प्रक्रिया अगाडि बढेको पनि उनले जानकारी दिए।
यो सुरूङ बनाउन जम्मा ४० टन विस्फोटक पदार्थ आवश्यक पर्छ। अझै ३३ टन पदार्थ अपुग छ। अपुग विस्फोटक पदार्थ भारतबाट ल्याइने वाइबाले बताए।
'सापटी ल्याएको विस्फोटक पदार्थबाट करिब एक महिना काम हुन्छ। त्यसपछि त भारतबाट आइपुग्छ,' उनले भने।
आयोजनाका इञ्जिनियर भरत गौतमका अनुसार विस्फोटक पदार्थका लागि दुई थरी चिज आवश्यक पर्छ। यसमध्ये एउटा डेटोनेटर हो जसका विभिन्न प्रकार हुन्छन्।
'हामीलाई चाहिने खालको डेटोनेटर भने सेनासँग सकिएका कारण नपाएका हौं,' उनले भने।
अहिले कास्कीको सुपरमादी हाइड्रोपावरबाट सापट ल्याएर काम गरिरहेको उनले बताए।
परीक्षण सुरूङ एक वर्षभित्र निर्माण सकिने आयोजनाले बताएको छ। यो लागत भ्याटसहित १५ करोड रूपैयाँ अनुमान छ।
परीक्षण सुरूङपछि मुख्य निर्माणको कामका लागि प्रक्रिया अगाडि बढ्ने उल्लेख गरिएको छ। सुरूङ बनाउन लगानीकर्ताको टुंगो भने लागिसकेको छैन।
'पूरा आयोजना करिब ९३ अर्ब रूपैयाँ लगानी लाग्ने आयोजना हो। लगानी जुटाउनुपर्यो। लगानीकर्ता खोज्ने काम हामी गरिरहेका छौं,' आयोजना प्रमुख वाइबाले भने।
यो आयोजना 'जनताको जलविद्युत कार्यक्रम' अन्तर्गत अगाडि बढाइएको छ। यसमा कुल लगानीमध्ये ३० प्रतिशत जनताको लगानी रहन्छ।
'आयोजना निर्माण करिब ५० प्रतिशत सकिएपछि मात्रै साधारण सेयर प्रक्रिया जान सकिन्छ। त्योभन्दा अगाडि त लगानी चाहियो। ठूलो लगानी चाहिँने हुँदा जुटाउन त्यति सजिलो छैन,' उनले भने।
लगानीको टुंगो लागेपछि मात्रै आयोजनाको मुख्य निर्माण काम अघि बढ्ने उनले बताए। मुख्य निर्माणको काम सुरू भएको पाँच वर्षभित्र आयोजना निर्माण सक्ने लक्ष्य लिइएको छ।
अरूण नदीको पानीबाट विद्युत उत्पादन गर्ने यो आयोजनाको काम सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी मातहत भइरहेको छ। यसको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि आयोजनाले पाइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम अघि बढेको आयोजनाले बताएको छ।
चीनको सिमाना नजिकै पर्ने यो आयोजनाको बाँध २० मिटर अग्लो हुनेछ। मुख्य सुरूङ ६.३ किलोमिटर हुने उल्लेख छ। ३६० मिटर उचाइबाट पानी खसालेर ४५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।
यसबाट हिउँदमा अर्थात् सुख्खा याममा १०५१.१३ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ। त्यस्तै सिजन (वर्षायाम) मा १८७३.५६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। वार्षिक कुल २९२४.६९ गिगावाट आवर विद्युत उत्पादन हुने लक्ष्य लिइएको छ। आयोजनास्थल निकै दुर्गम ठाउँमा भएका कारण पनि कतिपय कठिनाइ झेल्नुपरेको आयोजना प्रमुख वाइबाले बताए।
'आयोजना निकै राम्रो छ। तर दुर्गम ठाउँमा छ। मुख्य समस्या बाटोकै छ जसले गर्दा पहुँच सहज छैन,' वाइबाले भने।