खासगरी बिस्कुट, पाउरोटी, कुकिज र बेकरीजन्य उद्योगहरूमा चिनी र गहुँ दुबै अति आवश्यक मानिन्छ।
औद्योगिक प्रयोजनका लागि आवश्यक चिनी तथा गहुँ छिमेकी मुलुक भारतबाट आयात हुन्छ। भारतले यस्तो वस्तुको निर्यातमा रोक लगाएसँगै यसको प्रभाव नेपाली उद्योगमा देखिएको छ।
मैदा मिलमा मंसिरसम्मलाई मात्र पुग्ने गहुँ मौज्दात रहेको नेपाल फ्लोर मिल एसोसिएसनका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवालले बताए।
'मंसिरसम्मलाई पुग्ने गहुँको स्टक छ, त्यसपछि पनि सरकारले पहल नगरे लगानीकर्ताहरूको २० अर्ब लगानी भएको यो क्षेत्र धराशायी हुनेछ,' उनले भने। सरकारले तत्काल गहुँको व्यवस्था नगरे मैदा मिल बन्द हुने उनको भनाइ छ।
उनका अनुसार देशभर साना ठूला गरी ४० वटा मैदा मिल छन्। यी उद्योगमा २० अर्ब बढीको लगानी छ। सरकारी स्तरबाट समस्या समाधानमा कुनै चासो नभएको उनी बताउँछन्।
'हामीले प्रधानमन्त्री तथा भारतीय राजदूतावासमा पटक–पटक समास्या समाधानको लागि आग्रह गर्यौं,' उनले भने, 'हामीले आश्वासन मात्र पायौं, समाधान पाएनौं।’
भारतको प्रतिबन्धसँगै यहाँका बिस्कुट उद्योगलाई पनि संकट परेको एसियन बिस्कुट एन्ड कन्फेक्सनरीका प्रबन्ध निर्देशक महेश कुमार जाजु बताउँछन्।
भारतले लगाएको यस्तो प्रतिबन्ध ६ महिना पुगेको छ। छिमेकी मुलुकहरूले पहल गर्दा भारत लचिलो हुनसक्ने भएकोले पनि सरकारी स्तरबाटै पहलको अपेक्षा व्यवसायीहरूले गरेका हुन्।
'बंगलादेशले पहल गरेपछि भारतले त्यहाँ गहुँ निर्यात गरेको छ,' उनले भने, 'हाम्रो सरकारले पहल हुनुुपर्छ।'
जाजुका अनुसार हाल मुलुकभित्र हुने चिनीको कुल उत्पादनको २५ देखि ३० प्रतिशत बिस्कुट उद्योगमा मात्रै खपत हुन्छ।
हाल देशभर करोडौं लगानीमा ५० भन्दा बढी बिस्कुट उद्योग छन्। हाल मुलुकमा वार्षिक तीन करोड टन चिनीको माग छ। त्यसमध्ये, डेढ करोड टन चिनीको पूर्ति स्वदेशी उद्योगबाटै भइरहेपनि बाँकी आयातबाट धानिन्छ।
'यहाँको उत्पादनले विस्कुट उद्योगहरूलाई चार महिना मात्रै पुग्छ,' उनले भने, 'बाँकी चिनी आयात गर्नुपर्छ।' त्यसोत भारतले गहुँ तथा चिनी निर्यातमा रोक लगाए पनि खुला सीमाको कारण यहाँ ती वस्तु भित्रिरहेको उनले बताए।
तर, यसरी अवैध रूपमा कच्चा पदार्थ आयात गर्दा लागत बढ्ने भएकोले उद्योग बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ।
'त्यसैपनि पेट्रोलियम पदार्थको भाउ बढेर लागत बढिरहेकै छ,' उनले भने, 'अब हामीले उद्योग बन्द गरे पनि हुने भएको छ, यसरी चलाइरहँदा हाम्रो लगानी डुब्ने भएको छ।' बिस्कुट उद्योगका अधिकांश प्लान्ट पेट्रोलबाट चल्छन्।
कच्चा पदार्थको अभावले अहिले नै ३० प्रतिशत उत्पादन कटौती गरेको ‘खजुरीको’ का सञ्चालक जगन्नाथ मर्हजनले बताए।
'एकातर्फ कच्चा पदार्थको अभाव छ। अर्कातर्फ बैंकको ब्याजदर बढेकोले उद्योग चलाउन सक्ने अवस्थामा छैनौं,' उनले भने।
रिजाल फुड एण्ड वेभरेजका सञ्चालक पुरूषोत्तम रिजाल पनि मैदाको अभाव भएसँगै ४० प्रतिशतले उत्पादन कटौती भएको बताउँछन्।