नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले ऋणीलाई कुटपिट गर्ने र बाउन्सर राखेर ऋण असुली गर्न नपाइने बताएका छन्।
ऋण असुलीका नाममा बाउन्सर राख्ने र ऋणीलाई कुटपिट भयो भने त्यस्ता बैंक तथा वित्तीय संस्था र सम्बन्धित कर्मचारीलाई कारबाही गरिने निर्देशक पौडेलले बताए।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले ऋण असुलीको नाममा प्रहरी तथा सुरक्षा गार्ड पठाएर आफूहरूलाई कुटपिट गर्ने र मानसिक यातना दिने गरेको भन्दै आउने उजुरीको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीको समन्वयमा भैरहवामा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी प्रशासन, उद्योगी व्यवसायी तथा ऋणीहरू समेतको सर्वपक्षीय छलफल आयोजना गरिएको थियो।
सोही छलफलमा ऋणीका गुनासो सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले बाउन्सर राख्ने र ऋणीलाई कुटपिट गर्ने अधिकार बैंक तथा वित्तीय संस्थाहरूलाई नभएको बताएका हुन्।
'कानुनले बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण असुली गर्ने पर्याप्त अधिकार दिएको छ। तर बाउन्सर राखेर कुटपिट गर्ने, दुर्व्यवहार गर्ने अधिकार बैंकहरूलाई छैन। कानुनभन्दा बाहिर गएर काम गर्नेलाई कानुन अनुसार नै कारबाही हुन्छ,' पौडेलले भने।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवामा भएको छलफलमा बोल्दै कार्यकारी निर्देशक पौडेलले ऋणीको सम्मान गर्दै निक्षेपकर्ताले बैंकमा जम्मा गरेको रकमको सुरक्षा गर्नेतर्फ पनि सचेत रहन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिए।
बैंकहरूमा रहेको झन्डै ९० प्रतिशत रकम सर्वसाधारण निक्षेपकर्ताको रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले बैंकहरूको पहिलो दायित्व निक्षेपको सुरक्षा गर्नु हो भन्नेतर्फ पनि सचेत रहन आग्रह गरे।
'बैंकमा रहने झन्डै ९० प्रतिशत रकम सर्वसाधारण निक्षेपकर्ताको हो। बैंकहरूले निक्षेपकर्ताको बचतको सुरक्षा गर्दैनन् कि भन्नेतर्फ राष्ट्र बैंकको ध्यान गएको हुन्छ। निक्षेपकर्ताले आफ्नो घर, परिवार, आफन्त र आफैंलाई समेत नगरेको विश्वास बैंकलाई गर्ने भएकाले उनीहरूको निक्षेपको सुरक्षा गर्नु बैंकहरूको पहिलो दायित्व हो,' उनले भने।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ऋण दिँदाको मूल्यांकन र लिलामीको मूल्यांकनको अन्तर धेरै ठूलो रहने गरेको उल्लेख गर्दै हचुवा र अनुमानको भरमा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने मूल्यांकन सुधार गर्नुपर्ने बताए।
प्रजिअ अर्यालले कतिपय लिलाम सकार्नेहरू बैंककै कर्मचारी समेत देखिने गरेको र कतिपय बनावटी व्यक्ति खडा गरी कम मूल्यांकनमा धितो लिलाम गर्ने गुनासा आइरहेको भन्दै त्यसतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण हुनुपर्ने बताए।
'बैंकहरूले गरेको धितो लिलाम सकार्नेहरू बनावटी व्यक्तिहरू छन्। लिलाम सकार्न बनावटी व्यक्ति तयार गर्ने र कम मूल्यांकनमा धितो लिलाम गरिएको भन्ने गुनासो आए बैंक तथा वित्तीय क्षेत्र आफ्नो क्षेत्राधिकार नभए पनि जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिन्छ,' अर्यालले भने।
उनले बैंकहरूले बाउन्सर लगाएर ऋण असुली गर्ने कुरा कुनै पनि अवस्थामा स्वीकार नहुने भन्दै ऋणीहरूलाई पनि बैंकरहरू साहु हुन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भड्काउने कार्य बन्द गर्न आग्रह गरे।
'कुनै पनि बैंक तथा वित्तीय संस्थाको ठूलो रकम सर्वसाधारण जनताको हो। जनताको निक्षेप नै डुबाउने गरी बैंकहरू सबै साहुका हुन् भन्दै जनतालाई भड्काउने कार्य ऋणीले पनि बन्द गर्नुस्,' उनले भने।
कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले उद्योग व्यवसाय धराशायी बनिरहेका बेला बैंकहरूले घरघरमै प्रहरी र सुरक्षा गार्ड पठाउने, ऋणीलाई कुटपिट गर्ने र डरधम्की दिएर मानसिक यातना दिने गरेको आरोप लगाए।
उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले नियम विपरीत बढाएको ब्याज फिर्ता गर्न १४ महिना पहिले निर्देशन दिए पनि कतिपयले अहिलेसम्म पनि फिर्ता नगरेको बताए। तीन महिना ब्याज नबुझाएको भन्दै भैरहवाकै कतिपय बैंकहरूले व्यवसायीका घरमा सुरक्षाकर्मी पठाएर मानसिक यातना दिने गरेको पनि उनले बताए।
सिद्धार्थनगर- १३ की शान्तिदेवी श्रेष्ठले आफ्नो जानकारी र सहमतिबिना नै आफ्नो नाममा रहेको घरजग्गा धितो राखेर छोरालाई दुई करोड बढी ऋण दिएको र ऋण चुक्ता नगरेको भन्दै बैंकले घरजग्गा लिलामी गर्न लागेको गुनासो गरिन्।
'आफ्नै छोरा र बैंकको मिलोमतोमा घरमै गएर मलाई ढाँटेर हस्ताक्षर गराइयो। बैंकको मिलोमतो थिएन भने डेढ करोड मूल्य नपर्ने घरजग्गा धितोमा दुई करोड रूपैयाँ कसरी दिइयो? ऋण निकालेपछि चार वर्ष भयो, मेरो छोरा पनि सम्पर्कबिहीन छ,' उनले भनिन्।
श्रेष्ठले छोरासँगको मिलोमतोमा दुई बैंकले आफ्नो भएको सबै घरजग्गा धितो राखेर ऋण दिएको भन्दै अहिले लिलामीको पत्र पठाइरहेको गुनासो गरिन्।