बालबालिकाको जनसंख्या घटेको छ।
२०६८ देखि २०७८ को अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांकले देखाएको छ।
जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार ३११ जना बालबालिका रहेका थिए। जनगणना २०७८ मा भने यस्तो संख्या ९८ लाख ६९ हजार ५८३ जान मात्रै रहेको छ।
जनगणना २०७८ मा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत देखिएको छ।
तर, बालबालिकाको जनसंख्या भने १.१ प्रतिशतले घटेको छ। यो भनेको नयाँ जन्मने बालबालिकाको संख्या कम भएको हो।
'वर्ष २०६८ देखि २०७८ सम्म १० वर्षको अवधिमा औषत वार्षिक जन्मने बालबालिकाको संख्यामा कमी आएको देखिएको छ। तर, हाम्रो औषत आयु बढेको कारण समग्र जनसंख्या भने बढेको छ,' राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने।
पछिल्लो १० वर्षमा नेपालीको औसत आयु चार वर्ष नौ महिनाले बढेको छ। २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपालीको औसत आयु ७१ वर्ष तीन महिना पुगेको छ। २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो।
तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार महिलाको औसत आयुमा भने उल्लेख्य सुधार भएको देखिएको छ। पछिल्लो १० वर्षमा पुरूषको आयु दुई वर्ष १० महिनामात्रै बढेको छ।
तर, महिलाको आयु भने पाँच वर्ष आठ महिनाले बढेको छ। अहिले पुरूषको औसत आयु ६८ वर्ष दुई महिनाको छ। महिलाको ७३ वर्ष आठ महिनामा पुगेको छ।
महिला स्वास्थ्यसम्बन्धी जानकार डाक्टर अरूणा उप्रेती बालबालिकाको जनसंख्या कम हुनुमा मुख्य तीन कारण देख्छिन्।
कम बच्चा जन्माउने परिवार बढेको (एक वा बढीमा दुई), पहिले उमेर नपुगी बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउने गरेकोमा अहिले यसको प्रतिशत घटेको तथा पुरूष र महिलामा बाझोपन बढेको कारणले जन्मनेको संख्यामा कमी आएको उनले बताइन्।
'हाम्रोमा बाँझोपनसम्बन्धी खास अध्ययन त छैन संसारभर नै १० प्रतिशतमा बाझोपन देखिन्छ। हाम्रोमा पुरूषमा बाझोपन कम हुन्छ भन्ने पनि छ,' उप्रेतीले भनिन्, 'महिलामा ४० प्रतिशत, पुरूषमा ४० प्रतिशत जति बाझोपन भएको पाइन्छ भने २० प्रतिशत महिला वा पुरूष कसमा बाझोपन हो भन्ने पत्तै लागेको हुँदैन, बाझोपन बढेको कारण पनि यस्तो जनसंख्यामा असर पुगेको हुन सक्छ,' उनले भनिन्।
२०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्यामा १७ वर्षभन्दा कम उमेर समूहको प्रतिशत ४१ थियो। तर, जनगणना २०७८ अनुसार भने ३३.८३ प्रतिशत मात्रै रहेको छ।
सबैभन्दा कम बालबालिका भएको प्रदेश कर्णाली र गण्डकी देखिएको छ भने सबैभन्दा धेरै बालबालिका भएको प्रदेश मधेस देखिएको छ।
कर्णालीको जनसंख्यामा ६.८ प्रतिशत बालक र ७ प्रतिशत बालिका छन्। त्यस्तै, गण्डकीको जनसंख्यामा ७.५ प्रतिशत बालक र ७.३ प्रतिशत बालिकाको संख्या छ।
मधेस प्रदेशमा भने २४.५ प्रतिशत बालक र २४.१ प्रतिशत बालिका गरी बालबालिकाको संख्या ४८.६ प्रतिशत पुगेको छ।
कोशीमा १५.७ प्रतिशत बालक र १६.२ प्रतिशत बालिकाको जनसंख्या छ। बागमतीमा १७.३ प्रतिशत बालक र १६.९ प्रतिशत बालिकाको जनसंख्या छ।
लुम्बिनीका १८ प्रतिशत बालक र १८.२ प्रतिशत बालिका छन्। त्यस्तै सुदूरपश्चिममा १०.२ प्रतिशत बालक र बालिका १०.४ प्रतिशत छन्।
बालबालिकाको जनसंख्यामा कमी आएसँगै उनीहरूको जीवनस्तरमा सुधार आएको देखिन्छ। अहिले बालबालिकाको औसत साक्षरता दर ९४.१ प्रतिशत पुगेको छ।
बागमती प्रदेशको बालबालिकाको साक्षरता दर ९८ प्रतिशत पुगेको छ। मधेश प्रदेशको ८५.७, लुम्बिनीको ९५.३, कोशीको ९६.८, गण्डकीको ९७.८, कर्णालीको ९६.६ र सुदूरपश्चिमको ९६.४ प्रतिशत साक्षरता देखिएको छ।