दसैं नजिकिएसँगै विद्युतीय कार तथा अन्य सवारी साधनको आयात बढेको छ।
विशेषगरी नेपालमा छिमेकी देश चीनबाट विद्युतीय सवारी साधनको आयात बढी हुने गरेको छ। साउन र भदौ महिनामा रसुवा भन्सार नाकाबाट १२ सय ३० वटा गाडी आयात भएको छ। चीनबाट आयात हुने अधिकांश गाडी रसुवा नाका हुँदै भित्र्याउने गरिएको छ।
पछिल्लो दुई महिनामा भित्रिएका गाडीमध्ये २३ वटा मात्रै डिजेलबाट चल्ने गाडी आयात भएका छन्। १२ सय सात वटा गाडी विद्युतबाट चल्ने आयात भएको भन्सार कार्यालय रसुवाले जनाएको छ।
साउन महिनामा माइक्रोबस, मिनिबस, माइक्रो, ट्रक, ट्याङ्कर तथा कार गरी जम्मा १६९ वटा मात्रै गाडी यो नाकाबाट आयात भएका थिए।
भदौमा भने एक हजार ५९ वटा गाडी भित्रिएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालय रसुवाका भन्सार निर्देशक रवीन्द्रप्रसाद प्याकुरेलले नाडा अटो मोबाइल शोमा भएको बुकिङ तथा दसैंको कारण अहिले विद्युतीय गाडीको आयात बढेको हुन सक्ने बताए।
'चीनबाट आयात हुने धेरै गाडीहरू यही नाका हुँदै आउने गर्छन्, भर्खरै नाडा शो सकिएको र दसैं पनि नजिकिएको कारण गाडीको आयात बढेको देखिन्छ,' प्याकुरेलले भने।
भदौमा रसुवा भन्सारबाट भित्रिएका गाडीहरूमध्ये करिब सात सय वटा कार तथा भ्यान छन्। यी सबै विद्युतीय साधन हुन्।
सबैभन्दा बढी बिवाइडीका गाडी भित्रिएका छन्। बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकले ३२० वटा गाडी भित्र्याएको छ।
यी सबै गाडी एक सय किलोवाट क्षमताको बिवाइडी अटो थ्री कार हुन्।
यी सबै गाडीको आयात मूल्य ७८ करोड ५२ लाख रूपैयाँ छ भने भन्सार महसुल मात्रै ५० करोड पाँच लाख रूपैयाँ बुझाएको छ।
त्यस्तै, २०४ वटा केवाइसी ब्रान्डको भ्यान आयात भएका छन्। जसको आयात मूल्य ४३ करोड ६२ लाख रूपैयाँ छ भने भन्सार राजस्व १८ करोड ८७ लाख रूपैयाँ छ।
जेइको ब्रान्डमा ५२, नेटा ब्रान्डमा ४२ गाडी आयात भएका छन्। नेटा ब्रान्डमा कार रसुवा भन्सारबाट साउनमा पनि ३२ वटा आयात भएका थिए।
त्यस्तै, भदौमा दायुन ब्रान्डमा ४० वटा गाडी रसुवा भन्सारबाट जाँच पास भएका छन्। स्काइवर्थ, स्काइवेल, एक्सपेङ, डोङ्फेङ लगायतका ब्रान्डका २३ वटा गाडी आयात भएका छन्।
पछिल्लो समयमा विद्युतीय माइक्रो, मनिबस, तथा माइक्रोबसको पनि आयात बढेको छ। भदौ महिनामा मात्रै रसुवा भन्सार कार्यालयबाट १५० वटा विद्युतीय मिनिबस भित्र्याइएको छ। जसको आयात मूल्य ४३ करोड ८२ लाख रहेको छ।
त्यस्तै, भन्सार राजस्व नौ करोड ६४ लाख रूपैयाँ छ।
त्यस्तै, भदौमा नै ६१ वटा विद्युतीय रिक्सा आयात भएको छ। जसको आयात मूल्य ५२ लाख रहेको छ भने भन्सार राजस्व १८ लाख ८१ हजार रूपैयाँ छ।
साउन र भदौ महिनामा १२ सय ३० वटा गाडी आयात हुँदा यो भन्सारले एक अर्ब ३१ करोड ६६ लाख रूपैयाँ राजस्व उठाएको छ। यी गाडीको समग्र आयात मूल्य भने दुई अर्ब ६९ करोड ६५ लाख रूपैयाँ छ।
रसुवा भन्सारबाट पछिल्लो वर्षमा अन्य वस्तुको आयात पनि बढ्दो छ।
यो नाका २०७१ मंसिरदेखि विधिवत रूपमा सञ्चालनमा आएको थियो।
चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेको थियो । विशेषगरी कोरोनापछि ३८ महिना आंशिक रूपमा मात्रै आयात–निर्यात भएको थियो। २०७९ चैतबाट भने पूर्ण रूपमा सञ्चालन भइरहेको छ।
विगतमा यो नाकाबाट फलफूलको आयात न्यून हुने गरेकोमा अहिले अत्यधिक मात्रामा भएको प्याकुरेलले बताए।
तातोपानी नाकाबाट सामान ल्याउन ढिलाइ हुने भएपछि रि–रूट गरेर पनि रसुवाबाट ल्याइएको उनको भनाइ छ।
अहिले दिनकै २५ गाडीभन्दा बढी चिनियाँ स्याउ यो नाकाबाट आयात भएको छ। त्यस्तै, विद्युतीय सामग्री, लत्ता कपडा, रोल कपडा, किचनका सामग्री तथा फलफूलको आयात उल्लेखनीय रहेको भन्सार कार्यालयले जनाएको छ।