पेट्रोलिय पदार्थको मूल्य पछिल्लो दुई वर्षदेखि लगातार घट्दो क्रममा छ।
२०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ तोकिएको थियो। पेट्रोलको १९९ रूपैयाँ तोकिएको थियो।
त्यो बेला लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि बढेको थियो। तर, धेरै विवाद भएपछि सरकारले कर समायोजन गरेर मूल्य घटाउन सुरू गरेको थियो। २०७९ असार १२ गते पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ र डिजेलको मूल्य २९ रूपैयाँले घटाइएको थियो।
त्यसपछि भने अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य क्रमशः घट्दै आयो र नेपालमा पनि घट्दो क्रममा छ।
२०७९ असार ६ गतेको तुलनामा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ४० रूपैयाँले कम अर्थात् १५९ रूपैयाँ लिटर छ। डिजेलको मूल्य ४६ रूपैयाँ कम अर्थात् १४६ रूपैयाँ लिटर छ। दुई वर्षको अन्तरालमा डिजेल र पेट्रोलको मूल्य २४ प्रतिशतसम्मले घटेको छ।
मूल्य यति धेरै गिरावट आउँदा पेट्रोलियमा पदार्थको खपत पनि घट्दो छ। यो वर्ष पनि पेट्रोलियम पदार्थ (विशेषगरी डिजेल)को खपत घट्दो क्रममा देखिएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १३ अर्ब ६४ करोड रूपैयाँको डिजेलको आयात गरेको छ।
यो गत आर्थिक वर्षको साउन र भदौ महिनामा भएको आयातभन्दा १३.३५ प्रतिशतले कम हो। मूल्यको आधारमा मात्रै नभइ परिमाणात्मक आधारमा पनि ४ प्रतिशतले डिजेलको आयात घटेको छ।
पेट्रोलको आयात पनि घट्दो छ। गत आर्थिक वर्षको दुई महिनामा पेट्रोलको आयात ११ अर्ब ३० करोड रूपैयाँ बराबरको भएकोमा चालु वर्षको दुई महिनामा ११ अर्ब ६ करोड रूपैयाँको मात्रै भएको छ। यो वर्ष ग्यासको आयात भने उल्लेख्य बढेको छ।
अघिल्लो वर्ष दुई महिनामा सात अर्ब ३२ करोड रूपैयाँको ग्यासको आयात भएकोमा अहिले नौ अर्ब ४२ करोड रूपैयाँको आयात भएको छ। मूल्यको आधारमा ग्यासको आयात २८ प्रतिशतले बढे पनि परिमाणात्मक रूपमा गत वर्षको बराबरको आयात छ। हवाई इन्धन लगायतका अन्य पेट्रोलियम पदार्थको आयात पनि घट्दो छ।
डिजेल, पेट्रोल र ग्यासको आयात पछिल्लो दुई आर्थिक वर्षदेखि नै घट्दो छ।
यस्तो छ पछिल्लो तीन आर्थिक वर्षमा डिजेल पेट्रोल ग्यास आयातको अवस्था:
आयात परिमाण (किलोलिटर) | आयात मूल्य |
पेट्रोलियम | २०७८/७९ | २०७९/८० | २०८०/८१ | २०७८/७९ | २०७९/८० | २०८०/८१ |
|
पेट्रोल | ७ लाख ३८ हजार | ६ लाख ८० हजार | ६ लाख ८७ हजार | ७१ अर्ब ३८ करोड | ६८ अर्ब ८ करोड | ६८ अर्ब ७९ करोड |
डिजेल | १७ लाख ५४ हजार | १४ लाख ८ हजार | १४ लाख ११ हजार ४४० | एक खर्ब ६८ अर्ब २३ करोड | एक खर्ब ५३ अर्ब ७७ करोड | एक खर्ब ४३ अर्ब ५७ करोड |
ग्यास | ५३ करोड ५८ लाख | ५१ करोड ४३ लाख | ५२ करोड ४२ लाख | ६५ अर्ब ५५ करोड | ५८ अर्ब १५ करोड | ५५ अर्ब ६१ करोड |
डिजेल, पेट्रोल र ग्यास नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्। यी तीन वस्तुलाई मुख्यतः औद्योगिक कच्चा पदार्थको रूपमा गणना हुन्छ। ढुवानीदेखि उद्योगहरूमा बढी प्रयोग गरिन्छ।
२०७९ अघिका १० वर्षलाई हेर्ने हो भने पेट्रोलियम पदार्थको आयात वार्षिक रूपमा १८ प्रतिशतले बढ्दो थियो। पछिल्लो दुई आर्थिक वर्षमा लगातार इन्धनको आयात घटेकोमा तेस्रो वर्षको पनि पहिलो दुई महिना घट्दो क्रममा देखिएको हो।
उद्योगी व्यवसायीहरूले लगातार मागमा आएको कमीको कारणले उत्पादन क्षमता घटेको बताइरहेका छन्। औद्योगिक क्षेत्र र ढुवानीमा धेरै प्रयोग हुने पेट्रोलियम पदार्थको खपतमा पनि कमी देखिएको हो।
नेपाल उद्योग परिसंघले गरेको अध्ययनले आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक उद्योगबाट उत्पादित वस्तुको माग १३.५ प्रतिशतले गिरावट आएको देखाएको थियो। व्यवसायीहरू निर्माणका काममा आएको सुस्तता र उद्योग क्षेत्रमा देखिएको उत्पादन कमीले डिजेलको खपत घटेको बताउँछन्।
तथ्यांक अनुसार निर्माण क्षेत्र अहिले मन्दीमा छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार लगातार दुई आर्थिक वर्ष निर्माण क्षेत्रको ऋणात्मक वृद्धिदर छ।
डिजेलको प्रयोग निर्माणको चरणमा रहेका आयोजना तथा औद्योगिक क्षेत्रमा ४० प्रतिशतले र यातायात र अन्य क्षेत्रमा ६० प्रतिशत हुने गरेको पेट्रोलियम डिलर्स व्यवसायीहरूको भनाइ छ। गत वर्षमा भने निर्माण क्षेत्र र औद्योगिक प्रयोगमा २०/२५ प्रतिशत मात्रै प्रयोग भएको अनुमान छ। अहिले पनि निर्माण क्षेत्रमा डिजेलको खपत निकै कम छ।
पछिल्लो समयमा विद्युतको प्रयोग बढेको कारणले पनि पेट्रोलियम पदार्थको खपतमा केही ह्रास आएको हुन सक्ने अनुमान गरिएको छ। सरकारको घोषित नीति नै विद्युतको प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउने छ। सहरी क्षेत्रको घरायसी प्रयोजनमा विद्युतको प्रयोग सामान्य बढेको देखिन्छ।
आर्थिक वर्ष २०७७/७८ सम्म प्रतिव्यक्ति विद्युत खपत २४० युनिट रहेको थियो। गत वर्ष भने ४४१ युनिट पुगेको आर्थिक सर्वेक्षण २०८१ को अनुमान छ। यस हिसाबले पेट्रोलियम पदार्थ खपत घटाउनुको प्रमुख कारण विद्युत पनि देखिएको छ।
त्यस्तै, नेपालको तुलनामा सिमावर्ती भारतीय बजारमा मूल्यमा कमी भएको कारण पनि पेट्रोलियम पदार्थको आयातमा प्रभाव परेको भन्सार अधिकारीहरूको भनाइ छ।