नेपाल र भारतबीच तीन क्षेत्रमा सहकार्य गर्न सकिने दक्षिण एसियाली अध्ययन केन्द्र जेएनयुका प्राध्यापक डा. महेन्द्र पी लामाले बताए।
१९६० मा भारत र नेपालबीच व्यापार सम्झौता हुँदा त्यसले बजारमा दुवै देशको समान पहुँच हुन्छ भन्ने ठानिएको भए पनि त्यस्तो हुन नसकेको भन्दै लामाले नेपाल र भारतबीच सहकार्य हुन सक्ने तीन क्षेत्र पहिचान गरेको बताए।
उनले नेपाल र भारत सहकार्य भएमा दुई मुलुक 'पावर पुल' बन्न सकिने उल्लेख गरे।
'हामीले उत्तर सहित दक्षिण एसियामा कसरी सञ्जाल विस्तार गर्न सक्छौं भनेर अध्ययन गरेका थियौं,' लामाले भने, 'यो क्रममा हामीले तीन क्षेत्र अघि सारेका छौं।'
उनले नेपाल र भारत मिलेर विद्युत व्यापारमा एउटा विशाल पावर पुल हुन सक्ने उल्लेख गरे। भारतीय सरकार जेनेरेटर वा प्रसारण प्रदायक मात्र नभएर नेपालसँगको सहकार्यमा अघि बढे दुवै मुलुक पावर पुल बन्न सक्ने बताएका हुन्।
त्यस्तै, उनले नेपाल, भुटानसहित फूलबारी कोरिडोरको अवधारणालाई अघि बढाउन पर्ने पनि उल्लेख गरे।
'१९९७ मा भुटान, नेपाल र भारतले फूलबारी कोरिडोरमा अगाडि बढ्ने संकल्प लिएको थियो, यो राम्रो आर्थिक कोरिडर बन्न सक्छ,' लामाले स्मरण गरे।
भारतले यो फूलबारी कोरिडोरलाई सिलगुरी कोरिडोर हिस्सा बनाएर ४८ मुलुकसँग सम्बन्ध विस्तार गर्न सक्ने मान्दै आएको छ।
यही आयोजना अन्तर्गत एसियन हाइवे २ र एसियन हाइवे ४८ को सडक आयोजनाको परिकल्पना गरिएको छ। एसियन हाइवे २ नेपालको पानी ट्यांकी भारतको बागडोरा हुँदै बंगलादेशको फूलबारीसम्म छुन्छ भने एसियन हाइवे ४८ ले भुटान र बंगलादेशसम्मलाई जोड्छ।
त्यस्तै, उनले पश्चिम सिक्किम र नेपालबीच अन्तर्सम्बन्ध कायम गर्न सडक सञ्जाल विस्तार गरिरहेको समेत उल्लेख गरे।
उनले सूचना प्रविधि क्षेत्रमा पनि सहकार्य हुन सक्ने बताए।
सम्मेलनमा लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले दक्षिण एसिया क्षेत्रमा भारतवर्षको अवधारणामा विकासलाई अघि बढाइनु पर्ने धारणा राखे।
भारतले आफू विकासमात्र नभई भारत वर्षको अवधारणामा छिमेकी मुलुकको विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतीय संस्था इग्रो फाउण्डेसनको संयुक्त आयोजनामा यो सम्मेलन चलिरहेको हो।