विकसित मुलुकहरूले कार्बन व्यापारको अन्तर्राष्ट्रिय कानुनी संरचना र गणनाको सूत्रलाई परिवर्तन नगर्दासम्म नेपाल कार्बन व्यापारको जालझेलमा पस्नु नहुने काठमाडौं विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले बताएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा वाग्लेले यस्तो बताएका हुन्।
उनले कार्बन व्यापार सम्बन्धमा बनेको अन्तर्राष्ट्रिय कानुन र संरचना नेपाल जस्ता कार्बन उत्पादन नगर्ने मुलुकहरूको हितमा नभएको समेत उल्लेख गरे।
अहिले कार्बन व्यापारको अन्तर्राष्ट्रिय नियम कानुन र संरचनाले विकसित एवं औद्योगिक संरचना भएका मुलुकहरूलाई निरन्तर प्रदूषण गरिहने छुट दिइरहेको उनले बताए।
वाग्लेले अहिले नेपालमा देखिएको जलवायु परिवर्तनको असर नेपालको मात्रै समस्या नभएको र यो सिंगो विश्वकै समस्याको विषय भएको बताए।
नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औंल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे।
काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतीय संस्था इग्रो फाउण्डेसनको संयुक्त आयोजनामा यो सम्मेलन चलिरहेको हो।